अपराध देश–समाज मुख्य स्थानीय

सीमादेखि सहरसम्म लागूऔषध कारोबारीको कनेक्सन

विमल लामिछाने
दमक/ झापामा लागूऔषध सेवन र अवैध कारोबारको जालो फैलिँदै गएको देखिएको छ । तीन दिनअघिमात्र जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा जिल्लाका विभिन्न स्थानबाट ९२ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा ८३ जना सेवनकर्ता र नौ जना अवैध कारोबारमा संलग्न व्यक्ति रहेका थिए । कारबाहीका क्रममा ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ र तीन ग्राम ९०० मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार समग्र झापा जसमध्यपनि दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर तथा शिवसताक्षी क्षेत्र पछिल्लो समय उच्च जोखिमयुक्त केन्द्रका रूपमा देखिएका छन् । विशेषगरी सीमावर्ती नाका हुँदै भारतबाट भित्रिने ब्राउन सुगर, ट्रामाडोल, स्पास्मो–प्रोक्सिभोन लगायतका पदार्थको अवैध ओसारपसारले समस्या थप जटिल बन्दै गएको छ ।
झापाको भारतसँग जोडिएको १४४ किलोमिटर खुला सीमालाई लागूऔषध नियन्त्रणमा सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ । प्रहरी अनुसन्धानले भारतमा तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध हुने पदार्थ नेपाल ल्याएर उच्च मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढ्दो रहेको देखाएको छ । यसले सीमावर्ती जिल्लालाई तस्करहरूको सहज मार्ग बनाएको सुरक्षा निकायको निष्कर्ष छ ।
‘लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापाका कुनैपनि पालिका लागूऔषधको समस्याबाट अछुतो छैनन् प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भने । उनका अनुसार झापामा लागूऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर, भद्रपुर, बिर्तामोड र दमक रहेका छन् ।
उनले भने– ‘अबको अभियानमा तीन वटा रणनीतिसहित मुख्य गरेर पाँच प्रकारका कार्यक्रम सञ्चालन गरिने छ । पहिलो कार्यक्रम पोस्टरिङ रहेको छ । पोस्टरिङ क्याम्पियनअन्तर्गत पालिकाभित्रका सवै विद्यालयहरुमा टाँस्नका लागि जनप्रतिनिधिहरुलाई पोस्टर दिइने भएको छ ।
त्यस्तै दोस्रो कार्यक्रम ‘टीच द टिचर्स’ रहेको छ । विद्यार्थीहरुलाई सचेत बनाउने कडी शिक्षकहरु भएकाले लागूऔषधविरुद्ध सचेतना जगाउन शिक्षकहरुको सहयोग लिइने छौं । लागूऔषधविरुद्धको कक्षा सञ्चालन गर्न १५० जना शिक्षकलाई तालिम दिएर अभियानमा खटाउने योजना रहेको उनले बताए ।
उनले तेस्रो कार्यक्रम फुटबल पार्टनरसीप रहेको छ । युवा लक्षित त्यस कार्यक्रम अन्तर्गत पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने भएको छ । चौथो कार्यक्रम अन्तर्गत राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाजको सहयोग लिएर घरघर सचेतनामा घरघर जानेछौं ।’ महानिरिक्षक कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको अभिलेखले सेवनकर्ता र कारोबारी दुवैको संख्या वर्षेनी बढिरहेको देखाउँछ । काँकरभिट्टा, चन्द्रगढी, बिर्तामोड र दमकजस्ता मुख्य सहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पछिल्ला घटनाक्रमले दमक लागूऔषध प्रयोगको संवेदनशील केन्द्र बन्दै गएको संकेत गरेका छन् । उनले नियन्त्रणका लागि सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै परिवार, समुदाय र स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

झापामा १५ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता
झापामा १५ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ताहरु रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले शनिवारदेखि शुरु गरेको ‘लागूऔषधविरुद्ध झापा अभियान’ को उद्घाटनमा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सो तथ्यांक सार्वजनिक गरेकी हुन् ।
तर, लागूऔषधको क्षेत्रमा काम गर्ने संस्थाका अनुसार झापामा २० हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा ४० वटा पुनस्र्थापना केन्द्रमा सरदर ३० जनाका दरले एक पटकमा १२०० जना उपचारमा जाने गरेका छन् । बाँकी बाहिर छन् । झापामा कारोबारीको संख्या पनि उत्तिकै धेरै रहेको छ ।
सवडिलर टोलैपिच्छे रहेको बताइन्छ । झापामा सक्रिय डिलर ५०÷५२ वटा रहेको अनुमान गरिएको छ। साथै घुम्ती बिक्रेता पनि रहेको बुझिएको छ । उनीहरु स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर लागूऔषध आपूर्ति गर्ने गरेका छन् ।
झापामा लागूऔषधको वास्तविक आकार हामीले देखेको भन्दा धेरै ठूलो रहेको प्रहरीको समेत बुझाइ छ । प्रहरीले देखेको र कार्वाही गरेको संख्या समस्याको टुप्पो मात्र भएको भन्दै प्रहरी उपरीक्षक खड्काले समाजभित्र लुकेको लागूऔषध दुव्र्यसनमा फस्नेहरुको हिस्सा भयानक रहेको जानकारी दिइन् ।
उनका अनुसार लागूऔषधमा संलग्न भएका कारण झापामा ९२४ जना राज्यको नियन्त्रणमा रहेका छन् । कैदी ३७६ जना , बन्दी ३४० जना र २०८ जना हिरासतमा छन् ।
त्यस्तै लागूऔषधको दुव्र्यसनबाट छुटकारा पाउन १ हजार ३९५ जना स्व उपचारमा छन् । १ हजार २६२ जना पुनस्र्थापना केन्द्रमा र १३३ जना ओएसटी प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत रहेको तथ्यांकमा उल्लेख छ ।
झापामा लागूऔषधको घटना बढ्दो
पाँच वर्षे तथ्यांकलाई हेर्दा झापामा लागूऔषधको घटना बढ्दो छ । २०७८÷०७९ मा २०० जना , २०७९÷०८० मा २०६ , २०८०÷०८१ मा २९७ , २०८१÷०८२ मा ३४५ र चालु आर्थिक वर्षको जेठ सम्ममा ३५२ जना पक्राउ परेका छन् ।
लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापाका कुनै पनि पालिका लागूऔषधको समस्याबाट अछुतो रहेको छैन् । सबैभन्दा बढी प्रभावित मेचीनगर , भद्रपुर , बिर्तामोड र दमक रहेका छन् ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिको वारदात स्थलको आधारमा तथ्यांक निकाल्दा सबैभन्दा बढी मेचीनगरमा पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा सबैभन्दा बढी सीमावर्ती क्षेत्र मेचीनगरमा पक्राउ परेका हुन् ।
मेचीनगरमा ९२ , भद्रपुरमा ७७ , बिर्तामोडमा ४५ , दमकमा ३२ , अर्जुनधारामा १६, गौरीगंजमा १३ , कमलमा ७, गौरादहमा ६ , बुद्धशान्तिमा ५ , कचनकवलमा २ र हल्दिवारीमा एकजना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरले तीन महिनाको अवधिमा नियन्त्रणमा लिइएका ९४ जनामा सर्वेक्षण गरेको थियो । जसअनुसार लागूऔषधमा संलग्न ९८ प्रतिशत पुरुष रहेका छन् । २० देखि ४० वर्ष उमेर समूहका ९० प्रतिशत युवा छन् । लागूऔषधमा फस्नेहरुमा अधिकांश मजदुर वर्ग छन् । होटल लजमा काम गर्ने , टेक्निसियन , मिस्त्री , चालक ९१ प्रतिशत संलग्न रहेको पाइएको छ । दुई प्रतिशत मात्र विद्यार्थी संलग्न छन् । त्यस्तै ७४ प्रतिशत विवाहित मानिसहरु संलग्न रहेको तथ्यांकमा उल्लेख छ । १५ प्रतिशत बाहिरबाट आउनेहरु छन् भने ७० प्रतिशतले शरीरको गोप्य अंगमा लागूऔषध लुकाएर ल्याउने गरेका छन् ।
लागूऔषधको संकटको मुख्य जरो भारतसंगको खुल्ला सीमा रहेको छ । भारतीय सीमावर्ती क्षेत्र पानीट्यांकी , गलगलिया , दिघलबैंकलगायतका क्षेत्रबाट झापामा लागूऔषध आपूर्ति हुने गरेको छ । खुल्ला सीमा , साथीको संगत , बेरोजगारी र गरिबी , पारिवारिक मौनता, सहज उपलव्धता , विद्यालयको कमजोर निगरानी , मानसिक तनावजस्ता कारणले लागूऔषधमा फस्ने गरेका छन् ।
राष्ट्रिय परिदृश्यमा कोशी प्रदेश लागूऔषधको उच्च संकटमा रहेको छ । त्यसमा पनि झापा सबैभन्दा बढी प्रभावित ट्रान्जिट पोइन्टको रुपमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
सरोकारवालाहरूका अनुसार विद्यालय, कलेज, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिराको सहज उपलब्धताले पनि किशोर तथा युवालाई जोखिमतर्फ धकेल्ने वातावरण निर्माण गरेको छ । सार्वजनिक स्थलको निश्चित दूरीभित्र यस्ता वस्तुको बिक्री–वितरण रोक्ने कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो स्थानीयको छ ।
लागूऔषध दुरुपयोगले व्यक्तिगत स्वास्थ्यमा मात्र होइन, सामाजिक संरचना र सार्वजनिक सुरक्षामा समेत प्रत्यक्ष असर पारिरहेको विज्ञहरू बताउँछन् । चोरी, लुटपाट, हिंसा तथा अन्य आपराधिक गतिविधिसँग यसको सम्बन्ध देखिन थालेपछि सुरक्षा चुनौतीसमेत बढेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले ‘लागूऔषधविरुद्ध झापा अभियान’ सञ्चालन गर्दै विद्यालय, स्थानीय तह, अभिभावक समूह, युवा क्लब तथा नागरिक समाजलाई जोडेर सचेतना र रोकथामका कार्यक्रम अघि बढाएको छ । तर बढ्दो माग, खुला सीमा, बेरोजगारी, कमजोर पारिवारिक निगरानी र सामाजिक उदासीनताका कारण समस्या नियन्त्रण अझै कठिन देखिएको छ । नियन्त्रणका लागि प्रहरी कारबाहीसँगै परिवार, शैक्षिक संस्था, समुदाय र राज्यका सबै निकायबीच समन्वित तथा दीर्घकालीन रणनीति अपरिहार्य बनेको देखिन्छ ।

Author

You may also like