फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग १(१ गोलको बराबरीमा रोकिएको छ।
अमेरिकाको न्यु जर्सी रंगशालामा आज विहान भएको खेलमा ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिएका हुन्।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता कायम गरेको थियो । तर, ११ मिनेटपछि ब्राजिलले गोल फर्कायो।
३२औँ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दास्रो हाफमा भने कुनै पनि गोल हुन सकेन।
विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो। यहि समुहको अर्को खेलमा हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार आज बिहान पौने ७ बजे बोस्टनमा हुनेछ।
यसैगरी, फिफा विश्वकपमा कतार र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्।
क्यालिफोर्नियाको सान्ता क्लारास्थित लेभाइस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिए पनि खेलको अन्तिम क्षणमा कतारले पुनरागमन गर्यो।
कतारका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा डिफेन्डर बुआलेम खुखीले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई हारबाट जोगाए।
खेलभरि बल नियन्त्रणमा स्पष्ट वर्चस्व राख्दै कतारमाथि दबाब कायम गरेको स्विट्जरल्यान्डले पहिलो हाफमै अग्रता लिएको थियो।
खेलको १३औँ मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले स्विस फरवार्ड ब्रिल एम्बोलोलाई फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डलाई पेनाल्टी दिएका थिए।
सोही क्रममा गोलरक्षक अबुनादाले पहेँलो कार्ड समेत पाए। टक्करका कारण केही समय मैदानमै निस्क्रिय बनेका अबुनादा उपचारपछि पुनः खेलमा फर्किएका थिए।
२९ वर्षीय ब्रिल एम्बोलोले १७औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
सन् २०१८ को एक आपराधिक मुद्दाको अन्तिम फैसला गत अप्रिलमा आएका कारण एम्बोलोको भिसा प्रक्रिया अवरुद्ध भएको थियो र उनले जुन ३ मा मात्रै दूतावासबाट अत्यावश्यक भिसा प्राप्त गरेका थिए।
असामान्य रूपमा गर्मी मौसम रहेका कारण पहिलो हाफको विश्राममा मैदानमा स्प्रिंकलर समेत चलाउनुपरेको यस खेलमा स्विट्जरल्यान्डले अग्रता बढाउने अन्य थुप्रै अवसरहरू गुमायो।
खेलको दोस्रो मिनेटमै कतारका एडमिल्सन जुनियरले गोल गर्ने सुनौलो अवसर पाए पनि स्विस गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट बचाउ गरे। त्यस्तै, ९०औँ मिनेटमा कतारका अहमद अलाअल्दिनको प्रहारलाई पनि कोबेलले रोकेका थिए, तर अन्ततः इन्जुरी समयमा उनी कतारलाई रोक्न असफल रहे।
प्रशिक्षक मुराट याकिनको नेतृत्वमा रहेको स्विट्जरल्यान्ड छनोट चरणमा अपराजित रहँदै लगातार छैटौँ पटक विश्वकपमा पुगेको हो।
सन् २००२ यता कुनै पनि विश्वकप नगुमाएको स्विस टोली चार वर्षअघि अन्तिम १६ मा पोर्चुगलसँग ६–१ ले पराजित भएको थियो।
अर्कातर्फ, स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईको कतारले नोभेम्बरमा प्लेअफमार्फत युएई र ओमानलाई हराउँदै विश्वकपमा स्थान बनाएको हो।
सन् २०२२ को घरेलु विश्वकपमा समूह चरणका सबै खेल हार्ने पहिलो आयोजक बनेको कतार यसपटक भने बलियो सुरुवात गर्न सफल भएको छ।