देश–समाज समाचार स्थानीय

कोशीका तराई जिल्लामा बढ्यो तापक्रम : जनजीवन प्रभावित

दमक/ कोशी प्रदेशको तराई क्षेत्रसहित देशका विभिन्न भूभागमा केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ भने दैनिक मजदुरी, व्यापार–व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत यसको प्रत्यक्ष असर देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा तातो दिन रहने सम्भावना औंल्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूर्वी तराईका झापा, मोरङ र सुनसरीसहितका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ ।
सोमबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको गर्मी त्यस यता मंगलबार ३७ डिग्री सेल्सियस भनिएको छ तर अनुभव त्यो भन्दा अत्याधिक जस्तो लाग्छ । बाहिर निस्किँदा छाला पोल्ने तातो हावा चलिरहेको छ । जसका कारण स्वस्थ मानिसहरू घरबाहिर निस्किन सकेका छैनन् ।
अत्यधिक गर्मीका कारण दिउँसो बजार, सडक तथा सार्वजनिक स्थलहरू सुनसान देखिन थालेका छन् । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर भने चर्को घामका बीच पनि काममा निस्किन बाध्य छन् । दमक–१० का हरि बोगटीले दैनिक काम नगरे परिवार पाल्न कठिन हुने भएकाले गर्मीका बाबजुद काममा जानुपर्ने बाध्यता रहेको बताए । “पछिल्ला चार–पाँच दिनयता गर्मी असाध्यै बढेको छ। बिहानदेखि नै घामले पोल्न थाल्छ,” उनले भने ।
दमकमा निर्माण क्षेत्रमा कार्यरत सुनसरी मधेसाका मजदुर रामभरोस कापडियाले दिउँसो काम गर्नै कठिन हुन थालेको बताए । “अब त रातिको समयमा काम
गर्नुपर्ने अवस्था आउला जस्तो छ । सडक, घर, जग्गा सबै तातेका छन्, तातो हावाले झन् सास्ती दिएको छ,” उनले भने। उनका अनुसार निरन्तर पसिना आउने, पानीसमेत तातो हुने र थकान बढ्ने समस्याले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ ।
गर्मीले व्यापार–व्यवसायमा समेत असर पारेको व्यवसायीहरूको भनाइ छ । दमकका व्यवसायी रमेश गुप्ताले दिउँसो ग्राहकको आवागमन घटेकाले व्यापारमा प्रत्यक्ष असर परेको बताए। “अहिले अधिकांश ग्राहक साँझपख मात्र बजारमा आउने गरेका छन्,” उनले भने ।
अत्यधिक गर्मीसँगै विद्युत् खपत बढ्दा दमकसहित आसपासका क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या देखिएको छ । पंखा, कुलर, फ्रिज र पानी तान्ने मोटरको प्रयोग बढेपछि विद्युत् प्रणालीमा अतिरिक्त चाप परेको हो। स्थानीयवासीले हरेक वर्ष दोहोरिने समस्याका बाबजुद पर्याप्त पूर्वतयारी नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् ।
विद्यालयहरूमा पनि गर्मीको असर देखिएको छ । केही स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गरे पनि धेरै स्थानमा नियमित पठनपाठन भइरहेको छ। पर्याप्त पंखा तथा शीतल वातावरणको अभावमा विद्यार्थीहरूले कक्षाकोठामा असहज महसुस गरिरहेका छन्। अभिभावक र विद्यालय प्रशासनले मौसमको अवस्था मूल्यांकन गरी आवश्यक निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ ।
गर्मी बढेसँगै बजारमा मोही, लस्सी तथा अन्य प्राकृतिक पेय पदार्थको माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन ्। अन्य पेय पदार्थको तुलनामा स्वस्थकर मानिने भएकाले मोही पिउने उपभोक्ताको संख्या वृद्धि भएको छ ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, ज्वरो आउने, अत्यधिक थकान तथा लू लाग्ने समस्या बढ्न थालेको बताएका छन्। चिकित्सक डा. अविनाश मण्डलका अनुसार बालबालिका, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरबाट सबैभन्दा बढी जोखिममा छन्। उनले पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन र स्थानीय तहले सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था गर्नुपर्ने बताए ।
यसैबीच, राजधानीमा ‘हिट एक्शन डे’का अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण नेपालमा तापलहरको जोखिम बढ्दै गएको भन्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै ‘हिट एक्शन प्लान’को कार्यान्वयन सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मीनबहादुर मल्लले तराईका अधिकांश जिल्ला तातो हावाको उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदायस्तरमा सञ्चालन भइरहेका ‘हिट एक्शन’ कार्यक्रम विस्तार गर्न सरकारको रणनीतिक सहयोग आवश्यक रहेको बताए। अमेरिकी रेडक्रसको सहयोगमा बाँके र रुपन्देहीमा लूबाट बच्ने उपायसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।
त्यस्तै डा. अर्चना श्रेष्ठले पछिल्ला वर्षहरूमा विश्वव्यापी तापक्रम वृद्धिले नयाँ रेकर्ड कायम गरिरहेको बताइन्। उनका अनुसार सन् २००० यता नेपालका ४० भन्दा बढी मौसम मापन केन्द्रहरूमा तापक्रम वृद्धिको नयाँ रेकर्ड बनेको छ। विभागले तापीय अवस्थाको निगरानी, पूर्वानुमान प्रणाली सुदृढीकरण तथा तापलहरसम्बन्धी प्रभावमा आधारित पूर्वानुमान प्रणाली विकास गरिरहेको उनले बताइन्।
बढ्दो गर्मीका कारण जनस्वास्थ्य, शिक्षा, रोजगारी र दैनिक जीवनमा प्रत्यक्ष असर देखिन थालेको अवस्थामा सरोकारवालाहरूले पूर्वसूचना प्रणाली, स्वास्थ्य सेवा तयारी, सार्वजनिक खानेपानी व्यवस्था तथा समुदायस्तरमा सचेतना अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। विशेषज्ञहरूले अत्यधिक घाममा ननिस्कन, प्रशस्त पानी पिउन, रसिलो खानेकुरा सेवन गर्न र लूबाट बच्ने उपाय अपनाउन सबैलाई आग्रह गरेका छन् ।

Author

You may also like