दमक/ आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई प्रधानमन्त्री बालेन्द्र शाह निर्वाचित भएको झापा क्षेत्र नंं ५ का बासिन्दाबाट मिश्रित प्रतिक्रिया आएको छ । विगतका बजेटमा पनि विभिन्न कार्यक्रमहरु आउने गरे पनि कार्यान्वयन पक्षको फितलोपनाले अपेक्षित नतिजा नआएको भन्दै उनीहरुले कार्यान्वयन पक्षलाई दर्विलो बनाउन आवश्यक रहेको जनाएका छन् ।
दमक बहुमुखी क्याम्पसका सहायक प्रमुख पारषमणि आचार्यलेसरकारले सार्वजनिक गरेको बजेट समग्रमा सन्तुलित र आवश्यक क्षेत्रलाई समेट्ने खालको रहेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगारीजस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रयास गरेको देखिन्छ । यद्यपि बजेटको वास्तविक प्रभाव यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उनको भनाइ छ । विगतमा पनि राम्रो उद्देश्यसहित बजेट ल्याइए तापनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको अनुभव रहेको उनले स्मरण गरे । त्यसैले बजेटमा उल्लेख गरिएका कार्यक्रम समयमै र पारदर्शी ढंगले कार्यान्वयन भए मात्र नागरिकले यसको प्रत्यक्ष लाभ प्राप्त गर्न सक्ने आचार्यको धारणा छ ।
यस्तै कोशी प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगालले बजेट आँफैले केहि गर्ने नभई कार्यान्वयन पक्षलाई जोड दिनु पर्ने बताएका छन् । कोशी प्रदेश पर्यटनका दृष्टिकोणबाट प्रचुर सम्भावना रहेको स्थान भएकाले यहाँको दिगो पर्यटन विकासमा तिनै तह र सरोकारवालाका विचमा समन्वय गरि बजेट कार्यान्वयन भए परिणाम आउने उनको भनाई छ । बजेटलाई सकारात्मक दस्तावेजका रूपमा लिन सकिने भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने उनले बताएका छन् । उनका अनुसार बजेटमा पर्यटन, पूर्वाधार विकास, उद्यमशीलता तथा आर्थिक गतिविधि विस्तारसँग सम्बन्धित कार्यक्रम समावेश गरिनु स्वागतयोग्य पक्ष हो । तर बजेट घोषणामै सीमित रहेर कार्यान्वयन हुन नसके त्यसले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ छ । विशेषगरी पर्यटन क्षेत्रको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनले बताए । सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको समन्वयबाट मात्र बजेटले आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशको समग्र विकासमा योगदान पु¥याउने दंगालको धारणा छ ।
दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेतले अर्थमन्त्रीले आत्मविश्वासका साथ नयाँ पुस्तामैत्री भाषा सहितको बजेट ल्याएको बताए । निजी क्षेत्रको पक्षमा केहि कार्यक्रमहरु पनि आएको उनको भनाई छ । तर समग्रतामा निम्नवर्गीय समुदायलाई मार पर्ने गरि बजेट आएको उनको प्रतिक्रिया छ । अझ प्रधानमन्त्रीको क्षेत्रको बासिन्दाको रुपमा यस क्षेत्रमा केहि कार्यक्रम आउने अपेक्षामा रहे पनि निराश हुनु परेको उनले बताए । स्वास्थ्य बिमा कटौती, शिक्षा र विद्युतमा थप कर जस्ता विषयले कमजोर वर्गलाई थप समस्या निम्तिने उनको भनाई छ । यसैगरि नेपाल पुँजी बजार लगानीकर्ता संघ झापाका सचिव रमेश लुईटेल भने बजेटले लगानीकर्ताहरु निराश बनेको बताउँछन् । एकातर्फबाट छुट दिएर अर्का तर्फबाट दोव्वर असुलीको नीति लिएका कारण लगानीकर्ताहरुलाई निरुत्साहित बनाएको उनले जनाए । यस्तै समग्रतामा बजेटका कारण महङ्गी थप बढ्ने आशंका गर्दै उनले विद्युत, शिक्षा जस्ता विषयमा लगाईएको करले महङ्गीको मार प्रत्येक घर घर र व्यक्ति सम्म पुग्ने खतरा बढेको उनको भनाई छ ।