कला/साहित्य/संस्कृति देश–समाज राजनीति विचार/वहस विविध स्थानीय

भूइँमान्छे तर्छाएर खाने ऐंसेलु झाँगेकाे भालुभुत्ते कला !    

– ‘व्यंग्यनारान पाँडे’       

अस्तिकाे आइतवार पनि पाँडेकहाँ आएर माेबाइबाट काेनि कसलाई  हाे लम्बेतान उपदेश छाँटेर गएकाे ऐंसेलु झाँगे आज फेरि उसै गरेर बिनाबिच्चमा पाँडेलाई बाेर गर्न आइपुग्याे । !हन ऊ समय मिलाएर आउँछ कि र ऊ ठिक्क पाँडेकाे आँगनमा आइपुगेकै बेला उसकाे माेबाइलमा घण्टी बज्ने गर्छ कि ! याे पाँडेले बुझ्न पाएकाे छैन् । आज पनि उसले पाँडेकाे आँगन ठ्याक्क टेक्तैगर्दा उसकाे माेबाइलमा घण्टी बज्याे र पाँडे बसिरहेकाे बरण्डामा आएर कुर्सीमा बसेपछि मात्र दिग्दार मानेकाे अभिनय गर्दै च्वाक्क मुख बजाएर खल्तीबाट माेबाइल निकाल्याे । र, ठालू पल्टिँदै भन्याे -“हन याे माेबिलले ए’छिन फुर्सुत देओस् त थुक्क ! आफू जिम्मावारी पदमा बसेकाे सर्खारी व्याक्ति परियाे, सर्खारकै फुन आकाे पनि हुनसक्छ । साराेगाराे पर्दा मैलाई साेदपुछ कम्फम् गर्ने हाे उँधेरले !… लु हेर्नू न घण्टी बज्याबज्यै छ , ए’छिन् उठाउँ हइ ?” र, लगत्तै माेबाइल कानमा ल्याप्प टाँस्तै बाेल्न थाल्याे -” हलाे !… हलाे !… काँड , काे बाेलेकाे ?…ए, कम्रेट कान्छा साउ ? माेबलकाे घण्टी आउँदा म बाटामै थें । बाल्यान साहाजिउकाे फुन हाे कि हिँज्अस्ति पर्दान न्याइढिसमा भर्ति हुनु भका डाग्डर साहेपलाई पाे कुनै मुद्दाकाे फास्ला लेख्न असज्जिलाे भ’छ र मसित सज्जेक्सिन माङ्न फुन गरिसेछ कि भन्ने डाउटिङ लागेकाले याँ साथीकाे बरण्डाकाे कुर्सीमा सैलाे गरि बसेसि  मात्तै उठाकाे नि ! भरे भन्दा कम्रेट साउजिउकाेे पाे र’छ । किन फुन गरेकाे हाे काेनि ?…ए…हाे, तपइँकाे घर जाने-आउने बाटाे म वान्टी फाएब-वान्टी सिस माने पन्ध्र-साेल  बर्खकाे हुँदादेखुन् आज म फाएब्टी टु-थिरि माने बाहुन्न-त्रिपन्न बर्खकाे हुँदा समेत तेस्ताकाे  तेस्तै खाल्डाङ-खुल्डुङ देख्तैछु अनि झार-जङ्गल उस्तै । के गर्ने, कुनै नेताकाे घर भ’काे टाेला अथबा नेताका नातागाेताका घरहेरू भ’का टाेलाँ घर बनाउने पैलीबड बुद्दि पुगाउनु भएन ! ऐले पछुता’र के हुन्छ र ? …. के भन्नू  भाे ?…. ए…कतै हामेरकाे पालिकामा
मैले भन्सुन गरे काम लाग्छ कि भनेर ?… लाग्छ नि लाग्न त, मेराे बाेलि काँ सितिमिति खेर जान्छ र ? तर, पालिकाका पर्मुख र उपलाई न्वारान-पुरान, ब्या-बटुलाे र पर्मुख अथिति-बिसिस्ठ अथितिनी गर्नैबाट ह्वाँहर्लाई फुर्सुतै नाइँ ! भेटाघाटा नै मुस्किल छ  ! ओडा अदच्छे खाइलाग्दा छन् नि हामेरका – ह्वाँलाई पनि फुटगाेल र किर्केटका हन्जासित नारिन र उ…पारककाे फूलबारी सिँगार्नबड पाँच मिलिट फुर्सुत भ’काे देखिँदैन बिचारा ! न घरमा भेटिन्छ न त ओडा आपिसमै । दाैड्यादाैड्यै हुनुहुन्छन् अरे भन्ने सुन्छु । आट-दस मैनामा कता-कता झुलुक्क देखिन्छन् भेटाघाटा गर्ने तिर्खा मेट्न मात्तै ! तेस्ता भेटाघाटामा कुराे राखाे भने  पनि ‘आर्काे बज्जेटमा राख्ने ओजना छ हइ’ भनेर फुत्त चिप्लिसिन्छ । मैले धेरै रइतीका एस्ता पाेरब्लेम् उनेरकाँ पुगाइसकेका ट्याम-ट्यामका अनुभौ भन्या क्या  । के गर्णे, याे गन्तन्त्रकाे लाे’तन्त्रका हकवालाहेरूसँगकाे कन्टेक नै अक्काशकाे ताराे ब्राबर भइसकाे  यार साउजिउ ! कुराे गर्णे र बाटाे-पानी-पैनीका कुराे राख्ने त चानसै पाे पाइन्न यार !…हँ ? के भनेकाे ? …ए…म ऐलेकालमा भेर्री बिज्जीमा छु । बरू तपइँ ती क्या त ओलने माइलाे र ट्वाँके मैदालीसित सन्पर्क गरे ठ्याक्क काम हुन्छ  । ताे माइलाे…हँ ?… काे माइलाे ? हन ती क्या त पिर्थिभि नगरतिराड गाई-गाेरु इण्डेतिर निकासी उद्दाेग गर्ने, हाे उइ माइलाे भन्या । र, अन्तखेरि ट्वाँके मैदाली त तपइँकै टाेल-छमेकी हाे । ती दाेडाकाे किस्न सिटउलासित अति राम्राे सन्बन्दकाे टक्कर छ । तिन्काे साेस-फाेस ला’र याँकाे पाल्काका पर्मुखलाई भनाउन लाउनु कि अन्तखेरि तपइँकाे बाटाे भाेलि-पर्सिबडै बन्न थालिहाल्छ । लु मैले निसुक्ल नै एति हरिराम्राे सल्ला दिएँ ।….हँ ?… ए ताे त भइहाल्छ नि ! ताे माेराे बेहारी लङ्गट कैलु जादाैकाे लुकुवा भट्टी दुकानमा भरे बेल्का हामी दाेडा, रामदुलारी र मुसीकी मम्मीकाे रिजाप नि ! लु जा त ! खबर गर्छु हए उँधेरलाई पनि तपइँका तरफबड ? ती दाेडी दगुर्दै आइहाल्न् नि  !… अँ, ऐले म अलिक बिज्जीमा छु र माेबिल इस्टप गरेें हइ त । ल त ऐलेलाई ।”…..
       त्यसपछि लगत्तै ऊ उठ्याे र भन्याे -“इ आज्ज पनि तपइँसँग बात मार्ने फुर्सत कहाँ र ? जन्ताका हज्जारउँ समस्से छन् र पाटीले ताेकेकाे मेराे छेत्रकाे एरिआभरि मैले नै हेर्नुपर्छ । हुन त अलिअलि मुसीकी मम्मीले पनि सघाउँछे, आठापाँजाे रामदुलाीले पनि हेल्प गर्छे । जिम्मावारी स्यानाे छैन । उसबेला बा मउसुप पाओरमा हुँदा जइसाे इन्कमकाे उठ्ती पनि छैन र भा पनि काम त चल्दैछ एताउताबड । खाइएकै छ – लाइएकै छ । ‘माथि’-काे विश्वास भउन्जेल चलिराखेकै छ ।….लु मसँग अब तपइँसित एस्ता सस्ता फाेकटिआ गफमा बढी अल्मलिने ट्याम छैन । र, म हिंडे पनि ।”
       पाँडेले त्यसलाई साफ झपार्ने साेचेकाे थियाे तर त्याे लम्फ्याङ-लम्फ्याङ हिडी नै हाल्याे । कठालाे समाएर एकछिन् छ्याँस्ने पनि साेचेकाे थियाे पाँडेले । तर, त्यसलाई पछ्याउँदै गएर अँठ्याउँदा त्यसले स्वर उरालेर उल्टै बेइज्जत गर्छ भन्ने अनुभव थियाे पाँडेसित । र, त्याे गइरहेतिर हेरेर पाँडेले खिस्स हाँस्तै आफैलाई भन्याे -” देखिस् त पाँडे । अहिले कस्ता-कस्ता पनि बिचाैलिया र सल्लाहकार बनेर समाजमा कस्ताे चलखेल गरिरहेका रहेछन् । त्यसै याेे बिचराे  देश केजाति-उजाति भएकाे हाे र भन्या ?”….
                            ***********

Author

You may also like