देश–समाज विचार/वहस स्थानीय

स्वार्थको बोलीले राजनीतिक संस्कार संकटमा

नेपालको राजनीति अहिले गम्भीर संक्रमणको चरणबाट गुज्रिरहेको छ । लोकतन्त्र स्थापना, गणतन्त्रको अभ्यास र राजनीतिक परिवर्तनका अनेक आन्दोलनपछि पनि जनताले अपेक्षा गरेअनुसारको राजनीतिक संस्कार विकास हुन सकेको छैन । राजनीति जनसेवा र विचारको माध्यम बन्नुपर्नेमा आज सत्ता, स्वार्थ र अवसरको खेलमा सीमित बन्दै गएको अनुभूति आमनागरिकले गरिरहेका छन् । यही कारण राजनीतिप्रति जनविश्वास क्रमशः कमजोर बन्दै गएको छ । अहिलेको सबैभन्दा ठूलो समस्या नै राजनीतिमा मूल्य र मान्यताको खडेरी हो ।
नेपालको राजनीतिक इतिहासमा बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूले विचार, त्याग र निष्ठाको राजनीति गरेका उदाहरणहरू छन् । उनीहरूबीच वैचारिक मतभेद थिए, तर राष्ट्र र लोकतन्त्रप्रतिको प्रतिबद्धता स्पष्ट थियो । अहिले भने राजनीतिक दल र नेतृत्वमा त्यस्तो आदर्श, त्याग र नैतिकताको अभाव महसुस हुन थालेको छ । विचारभन्दा व्यक्तिकेन्द्रित राजनीति हाबी भएको छ । सिद्धान्तका नाममा भाषण धेरै छन्, तर व्यवहारमा राजनीतिक चरित्र कमजोर हुँदै गएको देखिन्छ ।
हिजो जनवाद, समाजवाद र लोकतन्त्रको नाममा राजनीति गर्नेहरू आज धनवाद र शक्तिवादमा रमाइरहेका छन् । निजी स्वार्थ, पद र शक्तिको लोभले राजनीतिलाई दूषित बनाएको छ । राजनीतिक परिवर्तनका नाममा जनताले धेरै संघर्ष गरे, धेरैले जीवन बलिदान पनि दिए । विशेषगरी सशस्त्र द्वन्द्वका बेला नयाँ नेपालको सपना देखेर हजारौं युवाले जीवन जोखिममा राखे । तर आज त्यही परिवर्तनका अगुवा शक्तिहरू विभाजित, कमजोर र दिशाहीन देखिएका छन् । एक समय क्रान्तिको भाषण गर्नेहरू अहिले सत्ताको वरिपरि घुमिरहेका छन् । हिजो राज्यद्वारा प्रताडित भएकाहरू आज त्यही पुरानो संस्कारको रक्षामा उभिएको दृश्यले जनतालाई निराश बनाएको छ ।
राजनीतिमा अवसरवाद यति धेरै मौलाएको छ कि विचार र निष्ठाभन्दा लाभ र पहुँच महत्वपूर्ण बन्न पुगेको छ । संक्रमणकालीन राजनीतिलाई धेरैले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाए । वर्षौंदेखि सत्ता दोहन गरेर बसेका दल र नेतृत्वहरू जनताबाट क्रमशः टाढिँदै गएका छन् । उनीहरूको दम्भ, भ्रष्टाचार, नातावाद, परिवारवाद र सत्ता मोहकै कारण जनताले उनीहरूप्रति विश्वास गुमाउँदै गएका हुन् । आज जनताले पुराना राजनीतिक शैलीलाई प्रश्न गर्न थालेका छन् ।
एक समय ठूलो जनसमर्थन पाएका दलहरू अहिले आफ्नै कमजोरीका कारण संकटमा परिरहेका छन् । हिजो जनताको घरदैलोमा पुगेर परिवर्तनका सपना बाँड्ने नेताहरू अहिले जनतासँग संवाद गर्न सकिरहेका छैनन् । उनीहरू पार्टी कार्यालय, सामाजिक सञ्जाल र आफ्ना समर्थक मिडियामार्फत मात्रै राजनीति गरिरहेका छन् । जनताका वास्तविक समस्या, बेरोजगारी, महँगी, अव्यवस्थित बस्ती, शिक्षा, स्वास्थ्य र विकासका मुद्दा भने ओझेलमा परिरहेका छन् ।
राजनीतिक नेतृत्वले बारम्बार गरेका वाचा पूरा हुन नसक्दा जनतामा गहिरो वितृष्णा पैदा भएको छ । जनताले नेतृत्वको भाषणभन्दा व्यवहार हेर्न थालेका छन् । यही कारण अहिले नयाँ पुस्तामा पुराना दलहरूप्रति असन्तुष्टि बढ्दै गएको छ । विशेषगरी युवापुस्ताले अब पुरानो शैलीको राजनीति स्वीकार्न छोडेको देखिन्छ । उनीहरू परिवर्तन, पारदर्शिता र उत्तरदायित्व खोजिरहेका छन् ।
हालको राजनीतिक परिवेशमा नयाँ राजनीतिक शक्तिहरूको उदय पनि यही असन्तुष्टिको परिणाम हो । जनताले विकल्प खोज्न थालेका छन् । चुनावमा देखिएको मतपरिवर्तनले पनि जनताको मनोविज्ञान बदलिँदै गएको स्पष्ट संकेत दिएको छ । पुराना दलहरूले यसलाई आत्मसमीक्षाको अवसर बनाउनुपर्ने हो, तर अझै पनि धेरै नेतृत्व आरोप–प्रत्यारोप, षड्यन्त्र र विरोधको राजनीतिमै अल्झिएको देखिन्छ ।
नयाँ परिवर्तनलाई शंकाको दृष्टिले हेर्नुभन्दा त्यसलाई काम गर्न दिने संस्कार विकास हुन आवश्यक छ । लोकतन्त्रमा आलोचना आवश्यक हुन्छ, तर केवल विरोधका लागि विरोध गर्ने प्रवृत्तिले देशलाई निकास दिन सक्दैन । यदि सरकार वा नयाँ शक्तिले सुधारका प्रयास गरिरहेका छन् भने त्यसलाई सहयोग गर्न सक्नुपर्छ । जनताले पनि अब कामको मूल्यांकन गर्न सिकिरहेका छन् ।
नेपालको राजनीति अहिले एउटा निर्णायक मोडमा छ । पुराना सोच र शैलीबाट देश अगाडि बढ्न सक्दैन भन्ने चेतना विस्तारै बलियो बन्दै गएको छ । अबको राजनीति युवापुस्ताको आकांक्षा, पारदर्शिता, सुशासन र परिणाममुखी कार्यशैलीतर्फ उन्मुख हुनुपर्छ । केवल नाराबाजी, भाषण र भावनात्मक राजनीति गरेर जनतालाई धेरै दिनसम्म प्रभावित पार्न सकिने अवस्था अब छैन ।
राजनीतिमा मूल्य–मान्यताको पुनःस्थापना आजको सबैभन्दा ठूलो आवश्यकता हो । नेतृत्वको आचरण, व्यवहार र निर्णयमा नैतिकता देखिनुपर्छ । सत्ता प्राप्ति मात्र राजनीति होइन, जनताको विश्वास जित्नु नै राजनीतिको वास्तविक सफलता हो । यदि राजनीतिक दलहरूले समयमै आत्मसमीक्षा गरेनन् भने जनताले अझ कडा फैसला दिन सक्छन् ।
नेपालको लोकतन्त्रलाई बलियो बनाउन जिम्मेवार राजनीति आवश्यक छ । विचार, निष्ठा, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्न सके मात्रै राजनीतिप्रतिको जनविश्वास पुनःस्थापित हुन सक्छ । जनताले चाहेको पनि यही हो–राजनीतिमा स्वार्थ होइन, मूल्य र मान्यताको पुनर्जागरण ।

Author

You may also like