देश–समाज समाचार स्थानीय

दमक नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

दमक/ झापा जिल्लाको दमक नगरपालिकालाई १५ महिना मुनिका बच्चाहरुका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सोमबार गरिएको छ ।
दमक नगरपालिकाको प्राङ्गणमा आयोजित सो कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको थियो । नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु दमक नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले स्वास्थ्यलाई मौलिक मानव अधिकारको रूपमा स्थापित गरिएको सन्दर्भमा खोप कार्यक्रमले बालबालिकाको जीवन सुरक्षा र स्वस्थ भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे। “स्वास्थ्य नै धन हो” भन्ने अवधारणालाई आत्मसात गर्दै नगरपालिकाले खोप सेवामा विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । नगरपालिकाले पूर्ण खोप सुनिश्चित गर्न विभिन्न चरणमा योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरेको थियो । प्रत्येक घरधुरीमा पुगेर तथ्यांक संकलन गर्ने, खोप छुट भएका बालबालिकाको पहिचान गर्ने, उनीहरूलाई खोप सेवा उपलब्ध गराउने तथा खोपको महत्वबारे व्यापक जनचेतना फैलाउने कार्य गरिएको थियो । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागितामा घरघरमा पुगेर तथ्यांक प्रमाणीकरण (भेरिफिकेसन) समेत गरिएको थियो । साथै जिल्लाबाट अनुगमन भई पास भएपछि सोमबार सो घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।
उपलब्ध विवरणअनुसार दमक नगरपालिकाका २७ हजार ५६९ घरधुरीबाट तथ्यांक संकलन गरिएको थियो । १५ महिनामुनिका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेका छन् भने १६ देखि ६० महिनासम्मका खोप छुटेका २४ जना बालबालिकालाई पनि खोप सेवा दिई पूर्ण खोप सुनिश्चित गरिएको छ । यससँगै नगरपालिकामा शतप्रतिशत बालबालिका पूर्ण खोपयुक्त भएको पुष्टि भएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले स्वागत मन्तव्य राख्दै पूर्ण खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक तथा विभिन्न संघसंस्थाहरूको भूमिका प्रशंसनीय रहेको बताए । उपप्रमुख रेगिना भट्टराई प्रसाई, स्वयंसेविकाको तर्फबाट भिमा भट्टराई र टिका बराल सुवेदीले पनि अभियानको अनुभव र महत्वबारे आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा खोप अभियानमा निरन्तर योगदान पु¥याएका स्वास्थ्य स्वयंसेविका मिना बराल र शोभा भण्डारीलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा नं. ९ का वडाअध्यक्ष कुवेर भट्टराई, वडा नं. १ का वडाअध्यक्ष हरिप्रसाद न्यौपाने, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहेता, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, सामाजिक विकास शाखा प्रमुख केशवप्रसाद प्रसाई, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिलगायत सबै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखाका अग्निप्रसाद चौलागाईले सञ्चालन गरेका थिए । कार्यक्रमका अन्त्यमा नगरपालिकाले आगामी दिनमा पनि पूर्ण खोपको अवस्था कायम राख्न र यसको दिगोपन सुनिश्चित गर्न निरन्तर स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्दै सबैले हस्ताक्षर समेत गरेका छन् ।

Author

You may also like