:– प्रा.डा. बद्रीविशाल पोखरेल –:
माओवादी पार्टी माओ विचार र मान्यता विरुद्ध थियो । किनभने माओले सकेसम्म शान्तिपूर्ण परिवर्तन गर्ने पक्षलाई सर्वोपरि प्राथमिकता दिएका थिए । बाध्यात्मक अवस्था आयो र युद्ध गर्नु प¥यो भने कम भन्दा कम क्षति गर्नुपर्छ भन्थे । अनि उनी जनतालाई दुख्ख र कष्ट दिनु हुन्न भन्थे र यही काम गर्थे । माओले जनताबाट सियो धागो लिएको छ भने दुरुस्त फिर्ता गर्नुपर्छ भन्थे र बोलेको बचन पूरा गर्थे । हुन त माओमा पनि एकबेला उग्रवाद निक्कै हाबी थियो । कथित सांस्कृतिक क्रान्तिका नाममा जन र धनको निक्कै नोक्सानी भयो । यसलाई माओले बेलैमा सच्याए, एक समय पार्टी भित्रकै भिन्न विचारलाई माओले पटक्क सहेनन् । अझ माओका इर्द गिर्दका भातमाराहरुले अनेक पोल लगाएर माओकै सहयोद्धाको अनाहकमा ज्यान लिएको र तेङ सिआयो पेङलाई र उनको परिवारलाई मर्नु न बाँच्नु अवस्थामा पु¥याएकै हो । तर यसलाई अबेर गरेर भएपनि माओले सच्याए । यसले गर्दा तेङ जीवित रहन सके र उनले समृद्ध चीन बनाउने योजना ल्याए । यही सिक्ने क्रममा माओले सयौँ फूल फुल्न देउ, सयौँ विचार फक्रिन देउ भने । तर माओवादी पार्टीले माओका चरम उग्र र अराजक कुरालाई सिद्धान्तको लेपन लगाएर नेपाललाई पचास वर्ष पछि पा¥यो  । उतिबेलाको माओवादी र प्रचण्डको हाइहाइ अहिले उँधोगतिमा छ । ओखलढुङ्गाबाट उम्मेद्वारी दिएका विश्वमणि पोखरेल बालेनले काठमाडौँ भारी विकास गरेको भन्दै लज्जाजनक विचार व्यक्त गर्दै थिए । वास्तवमा विश्वव्यापी विचार वाद र सिद्धान्त नै माक्र्सवाद हो । वाद हुनका लागि दर्शन, राजनीति, अर्थनीति र संस्कृति सम्बन्धी मौलिक नीतिको समुच्चय हो । त्यसैले माओवाद नै होइन । यो चिनियाँ विशेषतामा आधारित माक्र्सवाद हो । अंशमा माओवाद भनिए पनि समग्रमा माओवाद किमार्थ होइन । तर यसमा स्वयं प्रचण्ड नै रनभुल्लमा परेको पाइन्छ । देशको अपार धन र जनको सर्वनाश पछि जबजको नक्कल गर्दै एक्काइसौँ शताब्दीको जनवाद भन्छन् । जबजलाई हरियो घाँसमा लुकेको सर्प भन्ने प्रचण्ड छेपाराले झैँ आफ्नो कथित राजनीतिक रङ फेर्न माहिर छन् ।
निर्दोष र निरपराध जनता मर्नु र मार्नु कसरी जनयुद्ध हुन्छ ? सिदासादा शिक्षकलाई निर्मम रुपमा मारेर रुखमा झुन्ड्याउनु जनयुद्ध हो ? मार्नै पर्ने वाध्यता पर्दा त जनविरोधी पो मारिनु पर्ने त ? गाडीका गाडी भरिका जनता मारेको दिनलाई कुन मुखले जनयुद्ध दिवस भन्न सकिन्छ ? तर भयो प्रचण्डको निर्मम, निष्ठुर, आततायी तथा निरङ्कुश व्यवहारका कारण पार्टी भित्र सबको बोली बन्द थियो । त्यसैले एकताका प्रचण्डका मौखिक वा लिखित विचारलाई सिरानी हालेर लेख्नै पर्ने र बोल्नै वाध्यता पार्टीमा थियो । जनताको रगत बगेको बगाएको वा यो कार्य गरेवापत गर्व गर्न कसरी सुहाउँछ ? तर प्रचण्डले भनेपछि भन्नै प¥यो, गर्नै प¥यो उनले नै भनेकाले तिनका सर्जकले जनयुद्धको सौन्दर्य नामको ठूलै ठेली प्रकाशन गरे । नत्र तिनलाई सख्त कार्यवाही पर्ने खतरा थियो । जबज अनुसार लेख लेखे वापत मै त कार्वाहीमा परेँ तर माओवादीमा त ठाडो, तेर्सो र गर्धनियाँ सब कार्वाही हुँदो रहेछ ।
नेकपाका एक नेता दीप शिखाले एक अन्तर्वार्तामा प्रचण्डलाई चलायमान नेता भने । छिनछिनमा मात्र होइन पलपलमा कुरा फेर्ने पात्रलाई चलायमान भन्ने हो भने अब शब्दकोशमा यसको उल्टा अर्थ र सन्दर्भ स्पष्ट पार्नु पर्छ । पत्रकारले प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र फेर्ने प्रचण्ड चरित्रलाई जनताले भगौडा नेता भन्छन् भन्ने प्रश्नका उत्तरमा शिखाले उक्त जवाफ दिएका हुन्  । उनै दीप शिखाले प्रचण्डलाई महान् नेता भने । चन्द्रागिरि भन्दा चोभार होचो छ तर काठमाडौँ उपत्यका भन्दा चोभार अग्लो छ भन्दै आफ्ना कुरालाई पुष्टि गर्न कसरत गर्दै थिए । भन्न खोजेको चुरो कुरो केहो भने माओवादी जनयुद्ध समग्रमा सिदासादा भोला भाला जनता र विशेष गरेर युवालाई चरम भ्रमजालमा पार्ने तिकडम्बाजी मात्र हो । माओवादी कालका एक वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नौजवान र जोसिला युवालाई मर्न र मार्न उत्तेजित बनाउनु पर्छ भनेको घाम जत्तिकै छर्लङ्ग छ । भट्टराईले धेरै कुरा युवालाई भन्न हुन्न तिनलाई कसरी आवेश र उत्तेजित बनाउने हो त्यही गर्ने कुरालाई विशेष जोड दिने भन्ने कुरा सहीद पङ्तिमा लामबद्ध होऔँ भन्ने आह्वानबाट स्पष्ट हुन्छ । रहर र लहडका भरमा जन र धनको अपार क्षति माओवादीले गरेको कथित जनयुद्ध मार्फत् भयो । अहिले पनि बाँकी बचेका माओवादीहरु जनयुद्धलाई सगर्व ग्रहण गर्दछन् र तिनीहरु जनयुद्ध दिवस मनाउन उद्यत नै देखिन्छन् । समयमै गलत कुराको प्रतिवाद नगर्दा आम जनतामा चरम भ्रम उत्पन्न हुन्छ । जनयुद्ध सही थियो र गौरवशाली हो र थियो भने प्रचण्ड किन आफैँ एक्लै पार्टी नेतृत्व गर्न सक्तैनन् । तासको घरको कुनै भर हुँदैन नि । हुँदाहुँदा दशथरिलाई जोडजाड गरेर टालाटुली बटुली, कति राम्री पुतली सरि माओवादी र प्रचण्डको दुर्दशा देखिँैछ ।
नेपालमा नै पनि उग्रवाद र अवरसरवादका कारण खास समयमा एउटा महत्वपूर्ण उचाई बनाएका नेताहरु स्खलित भएका छन्, । प्रचण्ड कमरेड, तपाईको विगत र वर्तमान विषय यस लेखकले समग्र थाहा पाएको छ । राजनैतिक विश्लेषक भरत दाहालबाट पनि तपाईका बारेमा धेरै जानकारी लिएको छ । तपाईभित्र हालसम्म विद्यमान उग्रवादी र अवसरवादी व्यवहार पनि थाहा छ । तर उग्रवाद र अवसरवाद सप्रिने कम र सक्किने धेरै सम्भावना हुन्छ । उग्रवामपन्थ समय क्रममा उग्र दक्षिणपन्थमा परिणत हुन्छ भन्ने ज्वलन्त उदाहरण डा. बाबुराम भट्टराई नै हुन् ।

Author

You may also like