देश–समाज लेख स्थानीय

अमेरिका, ट्रम्प र विश्वमा बढ्दो राजनीतिक संकट

अमेरिकाली राष्ट्रपति ट्रम्पका पछिल्ला कदमहरूले विश्व राजनीतिमा नयाँ किसिमको अपत्यारिलो र अविश्वसनीय घुमाउरो खेल युगको सुरुवात गरेको छ। संसारमा ठुलठुला र शक्तिशाली देशहरूले ससाना देशहरूमाथि गर्ने हैकम र बलजप्ती पूर्ण कार्यहरू अझै रोकिएको छैन । जुनसुकै बहानामा कम शक्तिशाली देशहरू बढी बल बलशाली देशहरूको अचानो बन्ने गरेको कुरा हाम्रो आँखा अगाडि छर्लङ्ग छ ।
वैश्विक रूपमा नै अमेरिका महाशक्ति राष्ट्रको केन्द्रीय भूमिकामा रहने गरेकोले अमेरिकाले गर्ने जुनसुकै निर्णयहरूबाट विश्वको आर्थिक राजनीतिक र सामाजिक भुगोलहरुमा ठूलो फाटो र विभ्रम फैलिँदो छ। आफूलाई फाइदा हुने कुराको लागि जुनसुकै देश माथि जस्तोसुकै दबाब दिएर स्वार्थपूर्ति गराउने अमेरिका र अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति नै बनेको छ ।
पुँजीवादी देशहरूको पुँजीवादी संगठन साम्यवादी देशहरूको कम्युनिस्ट संगठन इस्लामिक देशहरूको इस्लामिक संगठनहरूले आफ्नो स्वार्थ र उद्देश्यनुरूप कार्य गर्न खोज्दा विश्वको शान्ति नै खलबलिन पुगेको छ । रूस र युक्रेन बीचको युद्ध लाई यसै श्रृङ्खलाको एउटा कडी मान्न सकिन्छ । इजरायल र फिलिस्तिन गाजा समूह भित्रका हमास संगठनहरूले सुरु गरेका छापामार युद्धहरूबाट इजरायल फिलिस्तिन् लगायत सम्पूर्ण मध्यपूर्वका देशहरूमा युद्धका बादलहरू मडाडिदै छ । अमेरिकाले इरानको परमानविक केन्द्रमाथि बम खसालेर ध्वस्त गर्ने योजना बाट डराएर इरानले अमेरिकालाई परमाणु हमला गरेर ध्वंस गर्ने चेतावनी समेत पटकपटक दिइरहेको छ । इरानका परमाणु संयन्त्रहरू अमेरिकाको लागि ठूलो चिन्ताको विषय बनेको छ। इस्लाम र यहुदी धर्म बीचको युद्ध तथा इस्लाम र इसाई बीचको युद्धले संसारमा तेस्रो विश्वयुद्ध निमत्याउने सक्ने अवस्थाहरू सृजना हुन लागिरहेको छ । भारत र पाकिस्तानबीच आतंकवादको सवालमा चलिरहेको आरोप प्रत्यारोप र आक्रमण प्रत्याक्रमण जस्ता घटना चक्रहरूले भारत पाकिस्तान बीचकै युद्धबाट तेस्रो विश्वयुद्धको सुरुवात हुने हो कि भन्ने अड्कलहरू पनि काटिन थालिएको छ। विश्व राजनीतिमा कहिले रुसको दादागिरी कहिले अमेरिकाको दादागिरी त कहिले चिनको दादागिरीले गर्दा संसारै भरिका मुलुकहरु अन्योलता र अस्थिरताका लक्षणहरू समुद्रमा ज्वारभाटा उठेझैँ उठिरहेको देखिन्छ ।
सामान्यतया गरिब देशहरू भित्र अस्थिरता अन्योल र स्थापित सरकारहरूप्रति विरोध र असहमतिको वातावरण सिर्जना गर्न लगाएर धनी देशहरूले गरिब देशहरूलाई परनिर्भर बनाइदिने अवस्थाहरू निरन्तर रूपमा सृजना सृजना गर्दै लगिरहेको देखिन्छ। श्रीलंकामा आफ्नो सैन्य अखाडा बनाउन अमेरिकाले लगातार प्रयास गरिरहेको छ । बाङ्गलादेशमा पनि सैन्य अखाडा बनाउन अमेरिकाली राष्ट्रपति ट्रम्पले बाङ्गलादेशका सरकारलाई आफ्नो रणनीतिमा फसाउँदै लगिरहेको छ। पाकिस्तानका सैनिक सरकारको रिमोटबाट सञ्चालित पाकिस्तान परमाणु युद्ध गर्ने धम्की लगातार भारतलाई तथा इजरायललाई दिइरहेको छ। अमेरिकाले पाकिस्तानलाई लगातार आफ्नो पकडमा राखिरहन विभिन्न किसिमबाट सरसहयोगहरु गरिरहेको कुरा जगजाहिर छ। यस्तो अवस्थामा भारत पाकिस्तानबीच शान्ति को वातावरण बनाउन निकै सकस भइरहेको छ। अमेरिका महाशक्ति राष्ट्रको पहिलो पंक्तिमा उभिएकोले विश्वभरि नै अमेरिकाको व्हाइट हाउसले गरेको हरेक अन्तर्राष्ट्रिय स्तरका निर्णयहरुमा गम्भीर विमर्श र प्रतिक्रिया हुनुलाई पनि अस्वाभाविक मान्न सकिँदैन। तेस्रो विश्वका अधिकांश मुलुकहरूमा राजनीतिक अस्थिरता, अशान्ति र असुरक्षाको वातावरण विद्यामान रहेको छ। तेस्रो विश्वका कयौँ मुलुकहरूमा क्रमिक रूपमा तख्ता पलटका घटनाहरू हुँदै नयाँ नयाँ शक्ति केन्द्रहरू स्थापना हुँदै गइरहेको छ। यस्ता शक्ति केन्द्रहरूले आफ्नो बलबुतोमा आफ्नो देशको विकास गर्न असम्भव छ। यस्ता मुलुकहरूमा अमेरिका चीन रुस जस्ता शक्ति सम्पन्न मुलुकहरुले आफ्नो राजनीति र आफ्नो स्वार्थको खेती गरेर यी देशहरूको भूराजनीतिक अवस्था, सांस्कृतिक अवस्था र आर्थिक अवस्थालाई आफ्नो अनुकूल पारेमा मात्र सहयोग गर्ने रणनीतिले गर्दा यस्ता मुलुकहरु ले दीर्घकालीन रुपमा आफ्नो आफ्नो देशमा शान्ति र स्थिरतालाई बहाल गर्न सकिरहेको देखिँदैनन्। विश्वका सानासाना मुलुकहरू कसको गुटमा जाने र कुन गुटले यस्ता गरिब देशहरूको स्वार्थको संरक्षण गरिदेलान् भन्ने प्रश्नहरु यी देशहरूको अगाडि यक्ष प्रश्न को रूपमा देखापरेको छ ।
विकासशील देशहरूमा उर्जाको कमि छ । अमेरिका र मध्यपूर्वबाट पेट्रोलियम पदार्थहरू आयात गर्दा चर्को मूल्य चुकाउनु परिरहेको छ। रूस र युक्रेन बीच चलिरहेको लामो युद्धले गर्दा पनि विश्वमा अन्तर्राष्ट्रिय व्यापारलाई ठूलो बाधा व्यवधान देखा परिरहेको छ। रुसमाथि लगाइएको अमेरिकाले नाकाबन्दी पूर्णरूपमा सफल भयो भने गरिब देशहरूलाई खासगरी नेपाल भारत जस्ता देशलाई इन्धन पाउन निकै सकस पर्न सक्नेछ। हालसालै भारतले सस्तो मूल्यमा रुसबाट पेट्रोलियम पदार्थ खरिद गरेको रिस र झोकमा अमेरिकाली राष्ट्रपति ट्रम्पले भारतमाथि ट्यारिफ शुल्क अत्यन्त चर्को दरमा निर्धारण गरेको हुनाले भारत र अमेरिकाबीच ठूलो असमझदारी र तनाव सिर्जना भइसकेको देखिएको छ। अमेरिकाले भारतमा आफ्नो देशका उत्पादनहरूको लागि बजारको सम्भावनाहरूको खोजी गरिरहेको परिप्रेक्षमा भारतले पनि अमेरिकाली शर्तमा व्यापार गर्न असहमति जनाएपछि अमेरिका र भारतबीच मतभेद सुरु भएको देखिन्छ। भारत पाकिस्तान बीच युद्ध र तनाव बढिरहेकै परिप्रेक्ष्यमा अमेरिकाले पाकिस्तानलाई आड भरोस दिनु लाई पनि भारतीय सैन्य विश्लेषकहरुले यस क्षेत्रमा अमेरिकाले प्रभाव बढाउन खोजिरहेको देखिएको छ। त्यसै क्रममा बांगलादेशमा भएको सत्ता परिवर्तनले निरन्तर रुपमा प्रतिकूल अवस्थाहरू विकसित हुँदै जाँदा त्यहाँ दिनप्रतिदिन भड्किँदै गइरहेको हिन्दू मुस्लिम बीचको धार्मिक उन्माद र दंगा फसादले सयौं मानिसहरूको ज्यान गएको , तथा हजारौं मानिस घाइते भएको र सर्वस्वहरण भएको कुराहरू प्रकाशमा आइरहँदा पनि त्यहाँ शान्ति स्थापना हुने हरेक प्रयासमा त्यहाँको सरकार विफल हुँदै गइरहेको छ । बांगलादेशमा मचिएको अशान्तिको तुवालोले भारत र नेपाललाई पनि प्रभावित गर्न थालेको छ ।
रुस र युक्रेन बीच लामो समयदेखि चलेको युद्ध विश्वयुद्धमा परिणत हुन सक्ने संकेत देखा पर्न थालिसकेको छ। अमेरिकाले जति प्रयास गरे पनि युद्ध बन्द हुन सक्ने कुनै सम्भावना देखिँदैन। युक्रेनको पक्षमा अमेरिका र इजरायल जर्मनी र बेलायत जस्ता नाटो राष्ट्रहरू लागेको र रूसको पक्षमा चीन र उत्तर कोरिया समेत लागेको हुनाले युद्धको गम्भीरता लाई हलुका रुपमा लिनु सोरै आना गलत हुन सक्नेछ। इजरायल र हमास बीच चलेको युद्ध पनि आत्मघाती नै देखिन थालिएको छ। इजरायल र फिलिसतीनका लडाकु हमास सैन्य समूहहरूले ठूलो ध्वंस र बर्बादी भोगिरहँदा पनि युद्ध थामिने कुनै संकेत देखिएको छैन। मध्यपूर्वका कैयौँ देशहरू इजरायल अरब युद्ध को रूपमा युद्ध गर्न तत्पर देखिएका छन्। यसैबीच अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण शैलीमा पकडेर अमेरिकामा ल्याएर अमेरिकाको अदालतमा लागू पदार्थको ओसारपसार गर्न सघाएको आरोपमा मुद्दा चलाउने तयारी सुरु गरिसकेको छ। भेनेजुएला आफ्नो सुरक्षा आफै गर्न सकिरहेका देखिँदैनन्। डेनमार्कमा पर्ने ग्रीनल्यान्डलाई पनि अमेरिकाले आफ्नो अधीनमा ल्याउने प्रयासमा निरन्तर लागिरहेको अवस्थामा त्यहाँ पनि युद्ध हुने सम्भावना देखिँदैछ। यसै बीचमा इरानमा अर्कै किसिमको अशान्ति र अराजकता को वातावरण उत्पन्न भइसकेको छ। सन १९७९ मा इरानका राजा शाह राजा पहेलवीलाई हटाउन इरानका कट्टर शीया इस्लामिक समूहका समर्थकहरूले राजाविरोधी आन्दोलन चलाएर इरानबाट भाग्न बाध्य बनाएका थिए। त्यसबेलादेखि इरान कट्टर इस्लामिक राष्ट्र बन्यो र इरानमा इस्लामिक धर्मगुरु अयातुल्ला खुमैनीको इस्लामिक कानुन र शासन चलिरहेको छ। केही हप्ता अगाडिदेखि इरानमा त्यहाँका महिलाहरूले अनुहारलाई पुरै छोपिने गरी बुर्का अर्थात् इस्लामिक ड्रेस कोडको पालन नगर्ने र बुर्का नलगाउने तथा इस्लामको विरोध गरेर इरानमा पुनः राजतन्त्र फिर्ता ल्याउने र इरानलाई धर्मनिरपेक्ष राष्ट्र बनाउने तथा इरानका जनतालाई उनीहरूका पूर्वजहरूले अँगालेका धर्म जोरेस्ट्रियन संस्कृति र पहिचानलाई कायम गराउने गरी कडा संघर्ष र आन्दोलन भइरहेको छ, जसलाई अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ण समर्थन रहेको छ, भने इरानका पूर्व राजाका छोरा अमेरिकामा शरण लिई बसिरहेको हुनाले उनलाईनै इरानको सत्ता हस्तान्तरण गरी अमेरिकाको सहयोगमा चलाउने गरी अमेरिकाबाट भर मगदुर प्रयासहरू भइरहेको छ। इरानका वर्तमान धर्मगुरु र सरकार प्रमुख आयातोल्लाह खोमेनी अमेरिकाका कट्टर शत्रुको रुपमा रहेका छन् र इरानले सारा संसारमा नै इस्लाम धर्मको विस्तार र प्रचार गर्न को लागि चरम आतंकवादी इस्लामिक संगठनहरु निर्माण गर्न लगाएर उनीहरुलाई विश्वभरि का गैर ईस्लामिक राष्ट्रहरूमा आतंक मचाउन सघाइरहेका देखिन्छन्। जसको परिणाम स्वरूप विश्वभरि नै इस्लामिक चरमपन्थी र आतंकवादीहरूको समूहहरूले जघन्य अपराधहरू तथा मानवता विरोधी कार्यहरू गरिरहँदा पनि इस्लामिक देशहरूले त्यसलाई सामूहिक रूपमा सघाइरहनुबाट विश्व शान्तिलाई ठूलो खलल र खतरा बढ्दै गइरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरूको आकलनमा आतंकवाद र धार्मिक युद्धबाट तथा ठुलठुला राष्ट्रहरूको दादागिरीबाट विश्वमा शान्ति स्थापना हुन कठिन देखिन्छ।

Author

You may also like