कला/साहित्य/संस्कृति देश–समाज स्थानीय

दशैं, विजयादशमी र दशहरा महापर्वको सन्देश

दशैंको दश दिन सनातन हिन्दू धर्मावलम्बीहरूले अतिशय मनपर्ने चाडपर्वको रूपमा मनाउने गरेको पाइन्छ। नेपालमा हिन्दू राष्टू रहँदा जुन हर्षोल्लास र जोस का साथ दशैं मनाउने गरिन्थ्यो त्यो परम्परा अहिलेको धर्मनिरपेक्ष राष्टू नेपालमा पनि कायम छ भन्न सक्ने धेरै ठाउँहरु रहेको पाउन सकिन्छ। सामान्यतया हरेक सनातनी हिन्दु परिवारमा घटस्थापनाको दिनदेखि लिएर नवरात्रभरि नै अत्यन्त हर्ष र उल्लास का साथ घरको पूजा कोठादेखि लिएर गाउँघरका मन्दिरसम्म तथा ठूलाठूला विश्वविख्यात शक्ति पीठ सम्म भक्तजन र श्रद्धालुहरूको ठूलो सङ्ख्यामा जमघट लागेको देख्न सकिन्छ। सामान्य बोलीचालीमा यसलाई टीका मात्रै भनिए पनि दशैंको टिका भन्ने शब्दले बहुआयामिक अर्थ र अभिव्यक्ति दिइरहेको हुन्छ। नवरात्र, दशैँ, विजयादशमी, दशहरा, जे भनिए पनि यो घटस्थापनाको दिनदेखि सुरु भएर कोजाग्रत पूर्णिमाको दिनसम्म निरन्तर रुपमा चलिरहने एउटा यस्तो आध्यात्मिक र सांस्कृतिक चिन्तनको महापर्व हो, जसले सनातन हिन्दु धर्मावलम्बीहरूको चेतनाको स्तरलाई मानवीय संवेदनाको सर्वोच्च विन्दुमा पुगेर आध्यात्मिक ऊर्जा लाई चेतनाको उच्चतम अवस्थाको ईश्वरीय विभूतिहरूसँग साक्षात्कार गर्न अविस्मरणीय र अभूतपूर्व अवसर र वातावरण निर्माण गर्दछ तथा भक्त र भगवानलाई एकाकार गर्दछ । यो अवसर त्यही बेला आउँछ, जहाँ नरबाट नारायण बन्ने सम्भावना प्रबल हुन्छ। शक्ति बिना मानिस शव सामान अर्थात् मृतक समान बन्न पुग्दछन्। तसर्थ सनातन धर्ममा शक्ति पूजाको ठूलो महत्व रहेको छ।। हरेक सनातन हिन्दु धर्मावलम्बीहरूको मन र मस्तिष्क भित्र मानव जीवनका चारवटै पुरुषार्थ अर्थ, धर्म, काम, र मोक्ष प्राप्तिको प्रबल कामना हुन्छ र त्यसको प्राप्तिको लागि देवी संग याचना गर्न हुने उचित समय यही यही नवरात्रको दश दिन अत्यन्त अनुकूल मानिन्छ। यसै समयमा ईश्वरीय चेतना र ऊर्जा संसारमा अत्याधिक मात्रामा बढ्दै जाने एवं चैतन्य तथा चेतनशील प्राणीहरूमा त्यसको अनुभूति गराउँदै जाने तथा ईश्वरीय साक्षात्कार बाट मानव मात्रले आफूलाई धन्य बनाउने अत्यन्त अनुकूल समय मानिएको हुनाले यो समय सम्पूर्ण मानव जातिको कल्याण तथा अभ्युदय हुने तथा संसारमा सकारात्मक ऊर्जा प्रवाहित भएर प्राणी मात्रको मनभित्र शान्ति र आशावाद को अनुभूति हुने हुनाले यस समयमा सम्पूर्ण संसारभरि नै सनातन प्रति सबै मानिसहरूको ध्यानकर्षण हुनु पनि स्वाभाविक नै हो। दशैं अरु चाड पर्व जस्तो नभएर एउटा बेग्लै किसिमको मौलिकता र विशिष्टताको अनुभूति गराउने महापर्व हो ।
दशैं,नवरात्र वा विजयादशमी जे भनिए पनि यो पर्व मातृशक्तिको महत्व बुझ्ने र मातृशक्ति लाई अक्षरस सम्मान गर्ने अवसरको रुपमा लिइन्छ। दशैं पर्व भगवान वा परमात्मालाई यस धराधाममा नारीको स्वरूपमा अवतार लिने वा प्रकट हुने सौभाग्य हिन्दु सनातन धर्म लाई नै प्रदान गरेको छ। ,,जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिव धात्री ,,,आदि इत्यादि अनेकौं स्वरूप हरूमा भगवती दुर्गा संसारमा समय समयमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखा पर्नुहुन्छ। निराकार रूपमा आदि शक्ति दुर्गा भवानीको अनुभूति गर्ने तथा देवीसँग सायुज्यता प्राप्त गर्ने प्राणीहरूले गर्दा नै संसार जोगिएको छ। साकार रूपमा नारी शक्तिको रूपमा जब ईश्वरको देवी दुर्गाको रूपमा प्राकट्य हुन् ,तब ठूला ठूला दैत्य ,दानव, राक्षस र अनिश्वरवादीहरु को मुटु डरले थर्किन्छ, किनभने आसुरी शक्तिको विनाश गर्नको लागि र देव संस्कृति तथा सनातन संस्कृतिको संरक्षण र भरणपोषण गर्नको लागि देवी को नौवटा रूप यस संसारमा निकै प्रसिद्ध शक्तिपीठहरूको रुपमा रहेको छ। जहाँ वर्षैभरि ठूलो संख्यामा भक्तजनहरूको घुइँचो लागेको हुन्छ ।
पदार्थवादीहरूले भन्ने गर्दछन् भगवान को अस्तित्व संसारमा देखिँदैन, यो मनोगढन्त विचार मात्र हो। तर वेद पुराण उपनिषद र श्रुति स्मृति हरूको अध्ययनबाट ईश्वरको मानवीय रूपमा आविर्भाव भएको कुराहरूको विशेषरूपमा सत्य निरूपण र उद्घोषण गरिएको छ ।
नारी शक्तिलाई मानवकै रूपमा नलिने, तथा नारीलाई वस्तुसरह उपभोग गर्ने चेतना भएका अनेकौं पन्थहरू तथा धार्मिक मान्यताहरू भएका धार्मिक विचारहरू पनि सनातन धर्म इतरका धार्मिक मान्यताहरूमा रहेको छ। तर सनातन विचारमा सम्पूर्ण सृष्टि नै देवीको शक्तिबाट उत्पन्न भएको हो। सूर्य ,चन्द्रमा, आकाश ,धर्ती ,पाताल सबै देवी दुर्गाशक्तिको स्वरूप हुन्। आद्या शक्ति दुर्गा भवानी सूर्य ,चन्द्रमा ,धर्ती ,ग्रहहरू भन्दा पनि व्यापकर शक्तिशाली हुनुभएको हुनाले सामान्य व्यक्तिले देवीको शक्तिलाई बुझ्न कठिन हुन्छ। आधुनिक पश्चिमेली संस्कृतिको प्रभावमा नारी शक्तिलाई अपहेलित गर्ने, भेदभाव गर्ने ,महत्त्व नदिने ,अधिकार नदिने, नारीलाई भोग विलासको प्रतीकको रुपमा मात्र प्रयोग गर्ने तथा मानव अधिकारसम्म नदिने कुराहरू समाचारहरूमा आइरहन्छ। यस लाई मानवीय कार्य कदापि मान्न सकिँदैन।,,यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता,, अर्थात् जुन ठाउँमा नारीहरुको शक्तिको सम्मान गरिन्छ र पूजा गरिन्छ, त्यहाँ देवताहरू विचरण गर्दछन् र दैवी शक्तिको अनुकम्पा र कृपा प्राप्त हुन्छ भन्ने वैदिक मान्यता रहेको छ।। ,,,या देवी सर्वभूतेसु मातृरूपेन सँस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः,, अर्थात् जुनदेवी सबै प्राणीहरूको हृदयमा आमाको रूपमा विराजमान हुनुहुन्छ। त्यसलाई नमस्कार छ। नमस्कार छ । नमस्कार छ ।….. यस्तो उदात्त गुण भएको विचार र संस्कृति सनातन परम्परामा मात्र सम्भव छ। मातृशक्ति भन्दा ठूलो संसारमा कुनै पनि शक्ति छैन। महाकालीको इच्छाअनुसार नै महाकाल शिवले संसारलाई विनाश गर्न सक्नु हुन्छ ।महाकालीको इच्छा विपरीत संसारमा केही पनि हुन सक्दैन। महाकाली सृष्टि र सृजन तथा शिव विनाश तथा पतनका देवता हुन्। जब आद्यशक्ति माता काली र महाकाल शिव ताण्डव नृत्य गर्नुहुन्छ। तब संसारमा सृजन र विनाश भएर ठूलो ठूलो परिवर्तन हुन्छ। संसारका नारीहरूलाई जति पनि सौभाग्य सूचक वस्तुहरू छन्, त्यो सबै दुर्गा भवानीको कृपाले मात्र प्राप्त हुन्छ। जसरी आमाले हरेक अवस्थामा आफ्नो काखको बच्चालाई संरक्षण गर्नुहुन्छ, त्यसरी नै परमात्मा आद्या शक्तिको रुपमा माता सिद्धिदात्री देवीको रूपमा आफ्ना सन्तानहरूलाई वरदान दिनुहुन्छ र भरणपोषण तथा स्वास्थ्य र समृद्धि को वरदान दिनुहुन्छ। महाकाली, महालक्ष्मी, महासरस्वती आध्यशक्ति दुर्गाकै स्वरूप हुन्। देवीको स्वरूप प्रति अविश्वास गर्ने कुनै पनि आवश्यकता छैन। मानिस पटकपटक संसारमा जन्म लिन्छन् र मृत्युको प्राप्त गर्दछन्। मानिस यो संसारमा जन्म लिँदा दुःख पनि पाउँछन् सुख पनि पाउँछन्। यो दुःख र सुखको अनुभूति देवीको माया शक्तिले हुन्छ। तसर्थ हरेक प्राणीले आफ्नो आमाको भक्ति गर्नुपर्दछ । आमाप्रति श्रद्धा राख्नुपर्दछ नारी शक्तिप्रति सम्मानको भावना राख्नु पर्दछ ।
सत्य र असत्य बीच चलेको लामो युद्धमा देवीको हातबाट ठूलाठूला तामसिक शक्ति भएका राक्षस हरूका राजाहरू मारिएका थिए। नारीहरूप्रति कुदृष्टि राखेर नारीहरूलाई सुख भोग र आनन्दको वस्तु मात्र ठान्ने असुर सेनापतिहरू चण्ड मुण्ड ,रक्त बिज ,महिसासुर ,लगायतका थुप्रै असुरहरू मारिएका थिए। भगवती चामुण्डाको हातबाट तिनौँ लोकमा शासन गर्ने तथा ब्रह्मा विष्णु र इन्द्रलाई समेत परास्त गरेर स्वर्गलोकमा समेत अधिकार गर्ने असुर नायकहरु देवीको खड्ग प्रहारबाट उम्किन सकेनन्। उनीहरू को आफ्नो बल बुद्धि र शक्तिमा ठूलो घमण्ड थियो, र संसारमा उनीहरूभन्दा कोही पनि शक्तिशाली छैनन् भन्ने अहंकार थियो। त्यस अहंकारलाई भगवती दुर्गाले समाप्त पारेर अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय, स्थापित गरेर संसारका प्राणीहरूलाई अभयदान दिनुभएको थियो। जुन प्राणीले देवीको भक्ति गर्दछ र पूजा गर्दछ, आराधना गर्दछ र सधैं देवी मातालाई सम्झिरहन्छ, त्यस प्राणीको कहिले पनि अहित हुँदैन। कहिले पनि अकाल मृत्यु हुँदैन। कहिले पनि कुनै दुर्घटना हुँदैन। त्यो व्यक्ति सबै बाधा, सबै संकट, सबै दुख तथा सबै शत्रुहरु माथि विजय प्राप्त गर्दछ। त्यसै कारणले दशैंलाई विजयादशमी पर्व भनेर भनिन्छ। असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको अधर्ममाथि धर्मको विजय गराउनको लागि र नारी शक्ति प्रति नराम्रो भावना राख्ने लंकाका अधिपति रावणलाई समेत रामले युद्ध क्षेत्रमा मारेर सीतालाई रावणको फन्दाबाट छुटाएर अयोध्या फिर्ता लगेको कुरालाई स्मरण गर्दा नै यसलाई दशहारा भनेर पनि भनिन्छ र यस समयमा नेपालका तराईका क्षेत्रहरूमा पनि रावणको प्रतिमा जलाउने र विजयादशमी मनाउने गरिन्छ भने भारतभरि नै विजयादशमी को समयमा रामायणको कथा हरूमामा आधारित रामलिला नाटकको मञ्चन गर्ने गरिन्छ। दुर्गा भवानीको नौ दिनसम्म पूजा गरेर घटस्थापना गरी पूजा घरमा राखेको जमरा लाई नै भगवती दुर्गा भवानीको प्रसाद को रुपमा हिन्दु मात्रले आफ्नो सिरमा धारण गर्ने परम्परा सनातनकालदेखि नै चल्दै आइरहेको कुरालाई नेपाली समाजले पूर्णरूपमा आत्मसात गरेको छ। नवरात्र पूजामा विष्णुका उपासक, शिवका उपासक, रामका उपासक, कृष्णका उपासक, र अनेकानेक गुरुहरूलाई समेत ईश्वरको रूपमा मान्ने र विश्वास गर्ने मानव मात्रको लागि यो दशैं पर्व अहिले वैश्विक रूप धारण गरिसकेको छ। नवरात्राभरि नै अनेकौं किसिमका फरक विचार, मूल्य, मान्यता, परम्परा, आस्था र विश्वास भएका मानव समुदायहरू पनि हृदयदेखि नै देवी शक्तिलाई सम्मान गर्ने र श्रद्धालुहरूप्रति सकारात्मक भई उनीहरूलाई सहयोग गर्ने कार्यहरूमा लागिरहेका भेटिन्छन् ।

Author

You may also like