देश–समाज सम्पादकीय

रोपेका विरुवाको संरक्षणमा जुटौं

डिभिजन वन कार्यालय झापाले हालै सार्वजनिक गरेको तथ्यांकले वन क्षेत्रको संरक्षण र हरियाली वृद्धिमा एक सकारात्मक संकेत दिएको छ। आर्थिक वर्ष ०८१/८२ मा कार्यालयले २ लाख ४० हजार विरुवाको उत्पादन र निःशुल्क वितरण गरेर वातावरणीय सुधारतर्फको आफ्नो प्रतिबद्धता देखाएको छ। यो कार्य अत्यन्त सराहनीय छ। तर, यससँगै अर्को महत्वपूर्ण पक्ष– रोपेका विरुवाको संरक्षण– अझ बढी ध्यान दिनुपर्ने विषय हो ।
रोप्न जति सजिलो हुन्छ रोपिएका विरुवा जोगाउन उत्तिनै असहज र अप्ठ्यारो हुन्छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ विश्व वातावरण दिवसका दिन लाखौं विरुवा रोपिएका छन् । यस्तो लाग्छ– अहिलेसम्म रोपिएका विरुवा बाच्न सकेका हुँदा हुन त खाली जग्गा नहुनुपर्ने हो । तर यहाँ त्यस्तो भईरहेको छैन । आज रोपिएका विरुवा ६ महिना वा वर्षदिनमा गएर हेर्ने हो भने दुई चार वटा भेटिइहाले भने भाग्य । रोपेपछि त्यसैको हेरचाहमा समस्या देखिएको छ । त्यसमाथि भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियान सार्थकताका निम्ति बृक्षारोपण गरिएका छन् । रोपिएका विरुवा कति हुर्किए भन्ने एकिन डाटा नरोप्नेसँग हुन्छ न त विरुवा दिनेसँग नै । वन विभागका कर्मचारी नै विरुवा हुर्काउनेमा आशंका व्यक्त गर्दछन् । उनीहरुको बुझाइएमा संस्थागत लगिएका विरुवाको कुनै लेखाजोखा हुँदैन तर व्यक्तिगत रुपमा लगेर रोपेका विरुवा उनीहरु आफैले हरचाह गर्ने हुँदा त्यसको सदुपयोग भएको उनीहरुको बुझाई पनि छ । वृक्षारोपण अभियानले मात्र वातावरण सुधार हुँदैन, त्यसका लागि रोपिएका विरुवाहरुको उचित हेरचाह, सिँचाइ, चराचरबाट सुरक्षा र निरन्तर निगरानी आवश्यक हुन्छ। “रोपेर छोड्नु” भन्दा “रोपेर हुर्काउनु” भन्ने धारणा व्यवहारमा ल्याउनु जरुरी छ। विरुवाको सुरक्षाबिना गरिएको वृक्षारोपण दिगो वातावरणीय लक्ष्य प्राप्तिको लागि पर्याप्त हुँदैन ।
वन कार्यालयले उत्पादन गरेको कटहर, अर्जुन, तेजपात, टिक, बाँस, मसला जातजस्ता विरुवाहरू पर्यावरणीय सन्तुलनका साथसाथै आर्थिक दृष्टिले पनि महत्वपूर्ण छन्। शहरी क्षेत्रमा सौन्दर्य वृद्धिका लागि र ग्रामीण क्षेत्रमा व्यावसायिक उद्देश्यले रोपिएका यी विरुवाको संरक्षणले दीर्घकालीन फाइदा दिनेछ। विशेषतः जलवायु परिवर्तन, प्राकृतिक विपद्, र पानीको अभाव जस्ता चुनौतीहरूसँग जुध्न वृक्षारोपण मात्र होइन, यसको संरक्षण पनि अत्यावश्यक भएको वर्तमान परिप्रेक्ष्यमा झनै स्पष्ट हुन्छ। अर्कोतर्फ, वन विनाशका कारण बासस्थान गुमाएका जंगली जनावर बस्तीमा पसेर मानव(जनावर द्वन्द्वको स्थिति सिर्जना हुन थालेको छ । यस्तो समस्यालाई समाधान गर्न पनि वन क्षेत्र सघन बनाइराख्नु, खाद्य सञ्जाल पुनःस्थापना गर्नु अनिवार्य छ, जुन वृक्षारोपण र संरक्षणबाट सम्भव छ ।
यस सन्दर्भमा, डिभिजन वन कार्यालयको प्रयासलाई थप प्रभावकारी बनाउन स्थानीय तह, सामुदायिक वन समूह, विद्यालय, निजी क्षेत्र र आम नागरिकको सक्रिय सहभागिता आवश्यक छ। विरुवा माग गर्ने मात्र होइन, रोपिएको विरुवालाई हुर्काउने प्रतिबद्धता पनि सबैले लिनु पर्छ । अन्ततः, हरियालीमा लगानी गर्नु भनेको भविष्यको सुनिश्चितता हो। आजको लगानीले भोलिको सन्तुलित वातावरण निर्माण गर्छ। त्यसैले अबको अभियान “रोपौं मात्र हैन, जोगाऔं पनि” भन्ने मूल मन्त्रमा अघि बढ्नुपर्ने छ ।

Author

You may also like