दमक/ दमकमा अव्यवस्थित रुपमा रहेका ट्याक्सी पार्किङलाई अव नगरपालिकाले व्यवस्थित बनाउन थालेको छ । दमक चौंकका सडक किनार आसपासमा स्टेण्डका रुपमा राखिदै आएको अव्यवस्थित पार्किङका कारण सडक दुर्घटनाको जोखिम हुने भएकाले नगर प्रहरीले अव एक्सनका साथ पार्किङ कायम गर्न लागेको हो । दमक नगरपालिकाले एक वर्षअघि दमक चोकमा हुने भीडभाड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा स्थानान्तरण गरेको थियो। तर, त्यस निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन सकेको थिएन् ।
व्यवस्थित पार्किङ र यातायात व्यवस्थापनका लागि गरिएको यो निर्णयको पालना गर्न केहि ट्याक्सी चालकहरूले आनाकानी गरि पूरानै स्थानमा सवारी पर्किङ गर्देआएका थिए । तर, अव भने नगर प्रहरीले ट्याक्सी पार्किङलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको नगर प्रहरी प्रमुख रुद्र कार्कीले बताए । उनले भने, –‘ यहाँका ट्याक्सी चालकहरुलाई नयाँ स्टेण्डमा गाडी राख्न पटकपटक आग्रह गरिए पनि, केही चालकहरू अझै साबिककै स्थान दमक चोक क्षेत्रमै अव्यवस्थित रूपमा पार्किङ गर्दै आएका छन्। अव एक्सनमा उत्रिएका छौं’
उनका अनुसार खासगरि रातो नम्बर प्लेट भएका निजी सवारी साधनका ट्याक्सीहरू बजारमै लाइन लागेर बस्ने गरेका छन् । जसका कारण चौंक तथा बजार आउजाउमा पैदलयात्री मात्र नभएर साना सवारी चालकहरूलाई समेत आवगमनमा असहज हुदै आएको उनको भनाई छ ।
यसैवीच, दमक नगर प्रहरीले अव्यवस्थित त्यस्ता सवारी पार्किङलाई व्यवस्थित बनाउन बुधबार स्थलगत एक्सनमा उत्रिएको छ । नगर प्रहरी प्रमुख कार्कीको नेतृत्वमा गएको टोलीले बुधबार दमक मुख्य बजार क्षेत्रका पाँच वटा ट्याक्सीमा ह्विल लक लगाएको छ । प्रमुख कार्कीका अनुसार नगरपालिका अब नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्ने तयारीमा रहेको छ । अझै अटेर गरे दमकमा यसखाले ट्याक्सी सञ्चालनमै रोक लगाउने तयारी समेत कार्कीले बताए । दमक चौंकमा आधाका हाराहारीमा अव्यवस्थित रुपले ट्याक्सी पार्किङ गरिदैआएका छन् ।
यसैवीच, केही ट्याक्सी चालकहरूले भने नयाँ स्टेण्डमा यात्रु नपाइने तथा पार्किङ स्थल व्यवस्थित नहुदाँ समस्या आएको बताउदैआएका छन् । नयाँ पार्किङ स्थलमा केहि जागरिला युवाहरुले व्यवस्थित पार्किङ बनाउने योजनामा विभिन्न कामहरु गरिआएका छन् । ट्याक्सी स्टेण्ड व्यवस्थित बनाउने योजना अनुसार आवश्यक संरचनाका कामहरु गरिआएको जीवनचक्र समाजका अध्यक्ष समेत रहेका ट्याक्सी चालक गणेश गौतमले बताए । उनका अनुसार यस ठाउँमा निशुल्क वाईफाई, खानेपानी, खुल्ला र हरियाली सहितको व्यवस्थापनका कामहरु गरिदै आएको छ ।