:— ढुण्डुराज भट्टराई : — उनी परिवारकी जेठी छोरी हुन । धेरै सदस्य भएको परिवारमा त्यसै पनि जेठो सदस्यले धेरै जिम्मेवारी वहन गर्नुपर्छ । सानैदेखि मिहिनेती र फरासिली थिइन् । हुर्कदै जादा घरमा सदस्यहरू थपिदै गए । प्रत्येक २ वर्षको अन्तरालमा थपिएका सदस्यहरूको रेखदेख ,सरसफाइ तथा सहयोगको काममा उनले लाग्नै पर्ने भयो । भाइबहिनीहरूको रेखदेखमा उनले कमि राखिनन् । नुहाउन, कपाल कोरिदिन, विद्यालय जानआउन, गृहकार्य गर्न , खेलकुद तथा हासखेल आदि गतिविधिमा उनको सहभागीता अनिवार्य थियोे । आमाको हरेक काममा उनले साथ दिन्थिन् । गीत संगितमा उनको गहिरो रूचि थियोे । फुर्सदमा सुरिलो स्वरमा गीत सुनाउँथिन् । मेरो भित्री मनसाय भने छोरीहरू नाचगानका क्षेत्रमा नलागुन् भन्ने थियो त्यसैले मैले उनको रूचि अनुसारको क्षेत्रमा प्रेरणादायी भूमिका खेलिन । सानैदेखि घरेलुु काम तथा चुलो चौकामा ब्यस्त भएर होला उनले ओैपचारिक अध्ययनमा धेरै प्रगति गर्न सकिनन् । सुन्दर रूप, काममा दक्ष र भद्र शीलस्वभाव भएकाले १७,१८ वर्षकै उमेरमा विवाहको प्रस्तावहरू आउन थाले । प्रहरीका जागिरे एक ब्राह्मण परिवारका युवकबाट प्रस्ताव आएपछि घर सल्लाह गरि विवाहको मिति तय गरियो । त्यो समय हामी घर भाडामा लिएर बस्थ्यौँ । त्यहीँबाट उनको विवाह भयो । विवाहका केहि दिन घर शुन्यताले छायो । छोरीज्वाईंको आगमन भयो । दुई परिवारका बारेमा विचार आदानप्रदान भए । छोरी खुसी थिइन् । हामी ढुक्क भयौ । केही समय पछि ज्वाईंले आफ्नो जागिर स्थलतिरै छोरीलाई लानुभयो । उनीहरूमा केहीको अभाव थिएन । हाँसिखुसी जिन्दगी विताउने दौरानमा दुई सन्तान लाभ भए , एक छोरा, एक छोरी । उनीहरूले हाम्रै आसपासमा घर किने , जग्गाहरू जोडे । पछि राजधानी शहरमा फेरि अर्को घर किने र उतै बसाइँ सरे । परिवार सानो ,सुखी र समृद्ध बन्यो । ज्वाईंको छुट्टिको समयमा हामीपनि उनिहरूसँग विभिन्न ठाउँहरू घुम्न जान्थ्यौ । साच्चै ती दिनहरू रमाइला र आनन्दका थिए ।
यता मेरो काम मालपोतमा लेखापढी, श्रीमतीको सानो पसल र छोराको जागिर । हाम्रो पनि आर्थिक उन्नति हुँदै गयो । हामीले पनि जग्गा किनेर घर निर्माण गरि आफ्नै घरमा बस्ने हैसियत बनायौँ । छोराछोरी हुर्किए । माहिली छोरीले आइए पास गरिन् । उनका लागि पनि इनरूवा स्थायी घर भएका काठमाडौंमा जागिर गर्ने युवकबाट प्रस्ताव आयो । हामी राजी भयौँ । घरबाट धुमधाम विवाह गरियो । उनीहरू काठमाडौं बस्न थाले । राजधानीको बसाइ सुरूका दिनमा केही कठिनाइ भएपनि पछि आम्दानीको स्रोत बढ्दै जादा सरल बन्दै गयो । छोरीमा भएको पाककलाको क्षमता, सरसफाइ र पाहुना स्वागतमा सदासयता जस्ता गुण देखेर जो कोही पनि मख्ख पर्थे । समय अन्तरालमा उनिहरू पनि एक छोरी र एक छोराका अभिभावक बने । छोरीले बैंकमा जागिर सुरु गरेपछि भने उनीहरू घर जग्गा जोड्न सफल भए । अहिले राजधानीमा ठुलो घर तथा अन्यत्र ठाउँमा थुप्रै जग्गाहरू उनीहरूका नाममा छ । बडो सन्तोष लाग्छ ।
जीवन हो निरन्तर बगिरहन्छ । विभिन्न घटनाक्रमहरू भइरहन्छन् । छोरो परदेश गयो । त्यहाँ उसलाई राम्रै जागिर मिल्यो । तर यता हामी बुढाबुढीलाई भने मधुमेह रोग लाग्यो । डाक्टरको सल्लाह अनुसार नियमित ओैषधी सेवन सुरु गर्याैँ । श्रीमतीले पसल गर्न छाडिन् । म पनि विराटनगर छाडेर बेलबारी मालअड्डामा लेखापढी काम गर्न थाले । जग्गा किनबेचमा पनि मेरो संलग्नता हुनथाल्यो । जसबाट मैले राम्रो आम्दानी गर्न थाले । स्वास्थ्यमा समस्या देखिएपनि आर्थिक हिसाबले म सम्पन्न भएँ।
साहिली छोरीको विवाह गर्ने बेला भयो । यो छोरी पढेलेखेकी भए पनि सारै सोझी र सरल छे । उसका लागि वैदेशिक रोजगारमा रहेका गाउँ तिरका कन्यार्थी फेला परे । उसैसँग वरमाला गरियो । गाउँमा खेतिकिसानी गर्ने ठुलो परिवारमा घुलमिल हुन उसलाई निकै सकस पर्याे । विवाहको लगत्तै ज्वाईं विदेश जानुभयो । छोरी पनि केही महिना पश्चात् अध्ययनका लागि यतै हामीसँगै बसी । चाडबाड तथा विशेष परिस्थितिमा घर जान्थी । विस्तारै ऊ घरको वातावरणमा राम्रै घुलमिल भई । उसको पढाइ पुरा भएपछि भने घरै बस्न थाली । ज्वाइँ विदेशबाट फर्किनुभयो । उनीहरूका दुई सन्तान भए । विद्यालय सञ्चालन गरि ज्वाईं गाउँमै बस्न थाल्नुभयो । आफ्नो बुबाआमाबाट प्राप्त जग्गामा आफ्नो लागि घर बनाउनु भयो । आर्थिक अवस्था सामान्य छ। सामाजिक पहिचान राम्रै बनाएका छन्। तामझाम केही छैेन । जीवनशैली साधारण छ । सुखी र खुसी देखिन्छन् । यसैमा मलाई सन्तोष छ ।
उस्तै उमेरका छोरीहरू भएकाले साहिलीपछि काहिली छोरीको पनि लगत्तै काठमाडौं तिर व्यवशाय गर्ने युवकसँग विवाह भयो । छोरी ज्वाईंको जोडी साँच्चै मिलेको छ । दुबैजना बोलक्कड र फरासिला छन् । ठाउँ अनुसारको खानपान, बसाई छ उनिहरूको । आलिसान जीवन बिताउन चाहने सौखिन छोरी ज्वाईको जीवन सोचे जस्तै चलिरहेको छ । देशबिदेशको घुमफिरमा निस्कन्छन् । करोडौको व्यवशाय सञ्चालन गर्छन् । दुई सन्तानका धनी उनीहरूको जीवन शैली साँच्चिकै लोभ लाग्दो छ ।
म कर्तब्य निर्वाहमा तल्लीन छु । चारवटी छोरीहरूको घरजम भयो । अब त बुहारी भित्र्याउन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । छोरो बिदेशबाट छुट्टीमा घर आयो । बुहारी खोजीयो दाहाल सुपुत्री सुकन्या ।
विवाह धुमधाम गरियो ।बुहारी प्रबेश पछि घरै उज्यालो भयो । सुन्दर र सुशील बुहारी भेटेर परिवारका सबै सदस्य खुसीले गद्गद् भए । छोरो बिदेशमा भएपनि बुहारीले घर समाल्न थालिन । चाडबाड पनि छोरीबुहारीहरूको उपस्थितिले रमाइलो लाग्न थाल्यो । घरमा परेका सानातिना समस्याहरू सजिलै समाधान हुन थाले । समयान्तरालमा घरमा नातिनी अनि नातिको आगमन भयो । यसले हामीलाई अझै हर्षित बनायो ।
अब कान्छी छोरीको कन्यादान गरेपछी मात्र मेरो दायित्व पूरा हुन्छ भन्ने मलाई लागिरहेको थियोे । नजिकैका वर तुरुन्तै फेला परे । बैकमा जागिरे आफ्नो बाबाआमाका कान्छा सुपुत्र प्रभावशाली व्यक्तित्वका धनी भएकोले छोरीले मन पराइन् । अन्तिम विवाहका रूपमा यसलाई झनै भव्य बनाइयो । सबैभन्दा नजिकै रहेकी छोरी भेटघाट बाक्लै हुन्छ । उनीलाई पनि बैंकमा जागिर मिल्यो । दुई सन्तान इश्वरका बरदान उनीहरूले प्राप्त गरे । खुसी छन् हामी पनि खुसी छौ । खबर पाउने साथ सेवामा हाजिर हुने ज्वाइँ सायदै पाइन्छ । यसमा मलाई अति गर्व छ । मेरा ६ सन्तानको विवाह पछिका पारिवारिक जमघटले मेला झै अनुभूति गराउँछ । छोरा मान्छेहरू तास खेल्दै रमाइला गफहरू गर्ने, छोरीबुहारी हाँसोको फोहोरा छर्दै भान्सामा आफ्नो पाककला देखाउन ब्यस्त हुने र बनेका परिकारको स्वाद लिदै आफन्तजनसँग बसेर समय बिताउनुको मज्जा नै बेग्लै ।
समय गतिशील छ । कहाँ सधैं उस्तै हुन्छ र । छोरोको परदेश बसाइ लामो भयो । आर्थिकोपार्जनको मुख्य स्रोत नै ऊ थियोे । छोडेर आइज भन्न पनि सकिएन ।हामी दुई बुढाबुढीको स्वास्थ्य अवस्था बिग्रदै गइरहेको छ । उता बुहारी पनि हामीलाई मात्र सेवा गरेर बसेको बर्षाै भयो । उसको आफ्नो जीवनका खुसीहरू हाम्रा कारणले मर्न दिनुहुन्न भन्ने लाग्न थाल्यो । छोराले पनि बुहारी तथा नातिनातिनाको लागि उतै वन्दोवस्त मिलाएछ । उनीहरूको खुसी नै हाम्रो खुसी हो । छोरो सपरिवार विदेश बस्न थाल्यो । घरमा हामी बुढाबुढी मात्र । कहिले उ बिरामी , कहिले म बिरामी , कहिले दुबैजना । पैसाले मात्र कहाँ हुदोरहेछ र सेवा दिने मान्छे नभए पछि । आपद् पर्दा छोरी गुहार्याे । एकदिन त आउछन् नि बरा , उनीहरूकै बितिहाल्छ । कहिले सुगर ह्वात्तै बढ्छ त कहिले घट्छ । निकै कठिन हुने रहेछ यो बेला । घर पनि शूननसान लाग्ने । विहान सबेरै उठ्छौ , व्यायामका लागि केही समय हिड्छौ ।त्यसपछि स्नान, नित्य पुजापाठ र विहानको भोजन । अपरान्ह ४ बजे नै खाना तयार हुन्छ । दुबै जना मिलेर गर्छाैं ,बस्छौ र खान्छौ । कुनै विशेष परिकार बन्दैन , स्वास्थ्यलाई ख्याल गरिएन भने भरे कि भोलि भइहालिन्छ । ओैषधीले शरीरलाई शिथिल बनाएको छ । मलाई भन्दा उनलाई कठिन छ । कुनै समय एकान्तमा बस्न र घुम्न पाउँदा स्वर्गीय आनन्द मान्ने हाम्रो यो जोडीलाई आज त्यही वातावरण भारी बन्न पुगेको छ । हाम्रा ती मीठा पलहरू र भोगाइ सुनाएर आनन्द लिन पनि सुनिदिने कोहि त हुनै पर्ने रहेछ यो उमेरमा । जीवनको उत्तरार्ध निकै कठिन हुदोरहेछ । नातिनातिना हुर्कदैछन । उनिहरूको विवाहमा बाजेबजैको सम्मान सहित सरिक हुने ठुलो रहर छ तर खै यो जीवनले साथ देला र ! नातिनातिनाहरू पनि आफै गरीखान सक्ने भएका छन् । कोहि विदेशमा छन त कोहि देशमै । भेटघाट पातलियो, उनिहरूको मनमा हाम्रा भावना अटाउने ठाउँ कहाँ होला र ! पाउलिदै गरेका मुना झैं वसन्त उनिहरू , झर्ने बेला भएका पात झैं शिशिर हामी ।
७ दशक बितिसक्यो हाम्रो जीवनको । अस्ताउँदो घाम बन्यौँ अब । जीवन हो बाँचुञ्जेल जसो तसो घस्रनु पर्छ । दुबैजनाको एउटै भोगाइ कसलाई सुनाउनु । चुपचाप दिनहहरू कटिरहेका छन् । कहिलेकाही छोरीज्वाईं आउछन् पाहुना बनेर । दुखसुख उनिहरूसँगै साट्छु । ज्वाईंसँग एकदिन बेलुका हावा खाँदै बाटो हिड्ने क्रममा मैले भने । जीवनको यो उत्तरार्धको मोडमा पिडा सहने क्षमता नहुने रहेछ , कहिले शरीरमा पीडा हुन्छ त कहिले मनमा। यतिबेला श्रीमतीको खुट्टामा समस्या भएर रातभरी निदाउँदिनन् , छट्पटी भइरहन्छ । मलाई यसले पिरोलेको छ , कतै त्यो रोगी शरीर बिदा भयो भने मेरो हालत कस्तो होला। मलाई यस्तो लाग्छ उ भन्दा मलाई नै पहिला भगवानले लगिदिउन् । यो सब देख्न र सहन पर्ने थिएन । फेरि सम्झन्छु म बिनाको उनको हालत । हो यही झिनो मायाबन्धनको डोरीले मलाई अल्झाइरहेको छ । भगवानको लीला भनेकै यही त होला नी । घरमा आउदा उनी छोरीलाई सुनाउदै थिइन् । यो मेरो शरीरमा त पीडा छदैछ मनमा झन कतिकति । मेरै कारणले तेरो बुवापनि साह्रै दुखी हुनुभयो । कहिलेकाही त स्वेच्छिक मुक्तिको बाटो रोजौँकी जस्तो लाग्न थाल्यो , मनले भन्यो भने शरीरले गर्न के बेर ,तर उहाँको माया लाग्छ त्यसो गर्दिन भगवानले उहाँ भन्दा पहिला लगे हुन्थ्यो ।
के गर्ने दुबै जनाको मनोदशा एउटै रहेछ । मैले ज्वाईंलाई सुनाएँ उनले छोरीलाई । हो अब १० वर्ष जीवनले जसोतसो साथ दियो भने मैले नियमित सेवन गर्ने गरेका यी ओैषधीहरू र गृहस्थ परित्याग गर्दै कुनै आश्रमको एकान्तमा बसेर जीवनका अन्तिम श्वास फेर्ने मेरो इच्छा छ ।
केही दिन अघिको कुरा हो । छोरा बसेको देशमा बम खसेको खबर सामाजिक सञ्जालबाट थाहा पाएँ । श्रीमतीलाई सुनाएँ । दुबै आत्तियौँ , उनिहरूलाई तुरुन्तै फोन गर्याै । अवस्था सामान्य छ, हामी ठिकै छौ नआत्तिनु भन्ने खवर आयो । उनिहरूकै प्रतिक्षामा बसेका हामी बृद्ध बाआमाको मन न हो, शान्त रहन कहाँ सक्छ र ! युद्धमा होमिएका देशको के भरोषा । केही भयो भने हाम्रो खुसीको झिनो त्यान्द्रो पनि चुडिन्छ । हामी वर्वाद हुन्छौ ।
वर्षाै अघि परिवारमा भएको घटना सम्झेँ । ठुलो ज्वाईंलाई आकस्मिक बिमारले लग्यो । छोरीका चुलिदै गरेका सपना भत्किए, उड्दै गरेका पखेटा भाँचिए, उनीमा परेको चोट सहन गर्न म एउटा बाबुलाई कति कठिन भएको थियोे । म कसरी सम्हालिए र उनलाई कसरी सम्हाले होला । सम्झदा नै अश्रुधारा वर्सन्छन् । हिम्मतिली र आँटिली छोरी रहिछन् । छोराछोरीलाई आडभरोषा दिदै जीवनलाई अगाडि बढाउँदैछन् । अभावले होइन तर पनि आफ्नो मनमा आत्मविश्वास बढाउन र सकारात्मक उर्जा भर्न बिद्यालयमा काम गर्छिन् , आफुलाई सकेसम्म व्यस्त राख्छिन र थकित शरीरलाई एक पल भए पनि आराम दिन्छिन,मीठो सपना र मस्त निन्द्रामा हराउँछिन् । जीवनलाई सामान्य बनाएकी छन् । विस्वास छ खोसिएका उनका सबै खुसीहरू छोराछोरीले चाँडै फिर्ता ल्याउने छन् ।
हामीमा छोराबुहारीबाट अलग भएर रहन सक्ने हिम्मत अब रहेन । सानैमा परदेशिएको छोरो पारिवारिक जीवनको मूल्य मान्यता जानेको छैन ।छोराले आफ्नो जीवन संस्कार सिक्नु छ , रितिरिवाज र कुल परम्परालाई धान्नुछ, सबै नातागोता आफन्त चिन्नु छ, अनि हामीहरूको प्रत्यक्ष निगरानी, सेवा र सम्मान गर्नुछ । पैसाले त धेरै गरे , अझै गर्लान् । तर उनीहरूको पैसा कमाउने भोक कहिले मेटिएला र । अब हामीलाई पैसा भन्दा बढी उनिहरूको सामिप्यताको खाँचो छ । जीवनमा पैसा अपरिहार्य हो तर त्योभन्दा ठुलो महत्त्व परिवारको छ मलाई । मेरालागि उनिहरू नै सबैभन्दा ठुला सम्पत्ति हुन । मैले यही ठाँने र चाडैं घर फर्कन छोरालाई प्रस्ताव गरें । छोराबुहारीले सल्लाह गरे होलान् मेरो मनोभावना बुझे क्यार । अब सधैंका लागि बिदेश छोडेर घर आउने भएका छन् । यो थाहा पाएर हामी बुढाबुढी धेरै पछि मज्जाले नाच्यौँ र आनन्द मान्यौँ । उनीहरूलाई नेपालमै गरिखान पुगोस् । जीवन अझ सुन्दर र गतिशील बनोस् । पुनः पारिवारिक जमघट र रमाइला वातावरण सहितका चाडबाडहरू आइरहुन् । मेरो आशिर्वाद सदा सर्वदा रहिरहने छ ।