दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काठमाडौंका मेयर बालेन शाह, कुलमान घिसिङ, डा. सिके राउत, गोपी हमालजस्ता सक्षम र लोकप्रिय व्यक्तित्वहरूलाई पार्टीमा जोड्ने बताए । उनले नयाँ र स्थापित पात्रहरूको ध्रुवीकरणले रास्वपालाई केन्द्र बनाउने र यो ‘नयाँ अनुहार भर्सेस पुराना अनुहार’ को लडाइँ हुने उल्लेख गरे ।
पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई ‘अति राजनीतिक अभियोजन’ भन्दै वाग्लेले यसविरुद्धको हस्ताक्षर अभियानमा व्यापक जनसमर्थन प्राप्त भएको दाबी गरे । यो अभियान अदालतलाई प्रभावित पार्ने नभई जनमतको रेकर्ड भएको र यसले ठूला दलहरूको समानुपातिक मतलाई उछिन्न लागेको उनले बताए । अभियानमा मनिषा कोइरालाजस्ता प्रतिष्ठित व्यक्तित्वको समर्थनले सांकेतिक महत्व राख्ने उनको भनाइ छ । वाग्लेले नयाँ शक्तिहरूको सहकार्यले सकारात्मक माहौल बनेको र यसले नेपाली जनतामा आशा जगाएको बताए ।
उम्मेदवार छनौट कार्यविधि सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ । रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रूपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए ।
उम्मेदवार…‘रुपन्देहीलाई प्रस्थानबिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो,’ उनले भने, ’पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरूले रुचाएको र क्षमतावान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौ ।’ पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधै हाबी हुने स्पष्ट पारे । रास्वपाले पार्टी स्थापना भएयता आन्तरिक रूपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउँदै आएको छ । सोही विधिमा थप
परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ । ‘लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत, समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अङ्कभार निर्धारण गरिएको छ,’ प्रवक्ता झाले भन्नुभयो । पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ ।
४६ लाख संकलन ६० लाख खर्च
हस्ताक्षर संकलन अभियानका क्रममा हालसम्म झण्डै ६० लाख खर्च भइसकेको जनाएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी अभियानका लागि छुट्टै कोष सञ्चालन गरिरहेको जानकारी दिएको छ । रास्वपाले सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध भन्दै देश विदेशमा हस्ताक्षर अभियान चलाइरहेको छ । जसका लागि हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको नेता दीपक बोहोराले जानकारी दिए । हस्ताक्षर अभियानसँगै चन्दा समेत संकलन भइरहेको छ । जसअन्तर्गत हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ मात्र संकलन भएको उनले बताए ।
‘यो महँगो अभियान हो । एउटा अपिल छाप्नका लागि २ रुपैयाँ ९० पैसा लाग्छ । हामीले ५ लाख अपिल र २ लाख हस्ताक्षर संकलन फारम छापेर पठाएका छौं । १० लाख अपिल र ५ लाख हस्ताक्षर संकलन फारम छाप्न प्रेसमा दिएका छौं । बोहोराले भने, ‘हालसम्म २४ लाख ५७ हजार ६ सय १८ जनाले हस्ताक्षर गरिसकेका छन् । अहिले पनि हस्ताक्षर गर्ने क्रम चलिरहेको छ ।’ रास्वपाले असार ७ गतेदेखि अभियान सुरु गरेको थियो । यो अभियान कम्तीमा एक सय दिन चल्ने बताएको छ ।
हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेका छन् । साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पु¥याउन घरदैलो गर्नेछन् । अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु (काँकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ ।
हालसम्म कहाँबाट कति हस्ताक्षर ?
हालसम्म संकलित विवरणअनुसार कोशी प्रदेशबाट एक लाख ६६ हजार ८६१ हस्ताक्षर जुटेका छन् । यस्तै मधेसबाट २० हजार ५०५, बागमतीबाट ६ लाख ३९ हजार ६८, गण्डकीबाट ४ लाख ३२ हजार ७२३ र लुम्बिनीबाट २ लाख ३६ हजार ५९५ हस्ताक्षर संकलन भएका छन् । कर्णाली प्रदेशबाट ४३ लाख ७७५, सुदूरपश्चिमबाट ९४ हजार ५३५, केन्द्रीय कार्यालयबाट ३३ हजार ३७०, काठमाडौंका अन्य बुथबाट ५९ हजार ८८५, ह्वास्टएपबाट ६ लाख ५० हजार १७२ र इमेलबाट ८० हजार १७६ हस्ताक्षर संकलन भएको रास्वपाको दाबी छ । हालसम्म जम्मा भएको कूल हस्ताक्षर संख्या २४ लाख ५७ हजार ६१८ छ ।