:— सुजन गौतम —: दमक/ झापाको दमक नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७, एक प्रगतिशील र व्यवस्थित वडाको रुपमा चिनिँदै गएको छ । कुल १.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा १८०१ घरधुरीका ७३८७ जनसंख्या (जनगणना २०७८ अनुसार) बसोबास गर्छन् ।
महेन्द्र राजमार्गदेखि उत्तर, रतुवा खोलासम्म पश्चिम, नेपाल टेलिकम क्षेत्रसम्म दक्षिण र बसपार्क–नगरपालिका रोडबाट पूर्वसम्म फैलिएको यो वडा स्थानीय शासन प्रणाली अन्तर्गत २०७३ साल फागुन २७ गतेदेखि सक्रिय रहेको हो । हाल वडाको नेतृत्व भीमप्रसाद पौडेलको अध्यक्षतामा रहेको छ ।
वडामा इन्दु खड्का (पौडेल), अतित वान्तवा राई, तारा रणपलहेली र मानबहादुर खवास सदस्यका रूपमा सक्रिय छन्। सचिव योगेश भट्टराई, सोसल मोबिलाइजर सरिता राई, तथा कार्यालय सहयोगी र सरसफाइ कर्मीहरूको सक्रियताले सेवा प्रवाह प्रभावकारी बनेको छ ।
यस वडाको एक प्रमुख आर्थिक इन्जिनको रूपमा रहेको पशु हाटबजार हरेक बुधबार सञ्चालन हुँदै आएको छ । रतुवा खोलानजिकको उत्तरी हाटखोला क्षेत्रमा मौलिक स्वादका परिकारहरूले वडाको पहिचान झल्काएका छन् ।
शिक्षा क्षेत्रमा वडाले प्राथमिकता दिँदै आएको छ । यहाँ चारवटा प्रमुख शैक्षिक संस्था—श्री पृथ्वी मावि, सिद्धार्थ इंग्लिस बोर्डिङ, ईस्टर्न स्टार बोर्डिङ र हलेसी लिटल एञ्जल्स स्कुल सञ्चालनमाछन् । हजारौं विद्यार्थीले शिक्षाको पहुँच पाएका छन् । स्वास्थ्य सेवामा पनि दमक–७ अग्रपंक्तिमा रहेको छ । किओच दमक बाल अस्पताल बालस्वास्थ्यमा उत्कृष्ट सेवा दिँदै आएको छ भने ओम मेची अस्पताल महिलासम्बन्धी गुणस्तरीय स्वास्थ्यसेवामा समर्पित छ । रेडक्रस सोसाइटीको ब्लड बैंक तथा सर्पदंश उपचार सेवा सेवा प्रदान गरिरहेको छ ।
वडाले बिपद् व्यवस्थापनमा समेत उदाहरणीय काम गरेको छ । रतुवा खोलामा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गर्नुका साथै सौन्दर्यीकरण, वाकिङ ट्रयाक र ८० फिटको सडक निर्माणमार्फत जीवनस्तर सुधारमा योगदान दिइएको छ। सुकुम्बासी परिवारहरूलाई नमुना बस्तीमा पुनर्वास गरिँदा सामाजिक समावेशिता सुनिश्चित गरिएको वडा अध्यक्ष पौडेल बताउँछन् ।
सामाजिक सुरक्षामा केन्द्रित रहँदै वडा कार्यालयले ‘सेफ हाउस’ निर्माण गरी वृद्धवृद्धा, अशक्त र गरिब नागरिकका लागि सुरक्षित आश्रयको व्यवस्था गरेको छ ।
यस वडामा २७ वटा टोल विकास संस्था सक्रिय छन् । ती संस्थाहरूले स्वास्थ्य, शिक्षा, बालमैत्री समाज निर्माणमा कार्य गर्दै आइरहेका छन् । यही अभियान अन्तर्गत वडा छिट्टै नै ‘बालमैत्री वडा’ घोषणाको अन्तिम तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।
वडाले चालु आर्थिक वर्षमा मात्र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । ढल, कल्भर्ट, रेलिङसहितको सिँढी र टायल बाटो निर्माणका कामहरू सम्पन्न भएका छन् ।
सामाजिक र आर्थिक विकासमा समेत वडा सक्रिय रहँदै आएको छ। विभिन्न तालिम, उद्यमशीलता प्रवद्र्धन कार्यक्रम तथा सार्वजनिक सेवामा पहुँच वृद्धिका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । दमक वडा नम्बर ७ आज सामाजिक, आर्थिक र भौतिक विकासको समुचित संयोजनसहित समृद्धिको यात्रामा अघि बढिरहेको नमुना वडाको रूपमा स्थापित हुँदैछ ।