:— यज्ञप्रसाद भट्टराई —:
हामीले लडेर ल्याएको प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा अहिले बयस्क अवस्थामा आईपुगेको छ । हामी बच्चा हुँदा हामीले देखेको प्रजातन्त्रको स्वरुपमा अहिले ब्यापक फेरबदल आएको देखिन्छ । उमेर बढदै जाँदा स्वरुपमा फेरबदल आउनु स्वभाविक हो तर हाम्रो लोकतन्त्रको स्वरुपसँगै स्वभावमा पनि परिवर्तन आएको छ । बानी ब्यबहार र ब्यहोरामा परिवर्तन आएको छ । अपराधिकरणका तरिकामा फेरबदल आएको छ । लुटतन्त्रका परिकारमा परिवर्तन आएको छ । अहिले जताततै लुट, ठग, अपराधि र भ्रष्टहरुका दुर्गन्धित अनुहारहरु बजारमा छ्यापछ्याप्ति पाउन थालिएको छ । अझ भनौ देश लुटने लुटेराहरुको ग्याँङ्ग नै पालिएको छ ।
देशमा प्रजातन्त्र प्राप्तिपछि जनताले अलिबढी आशा देखाए । थोरैथोरै आशा देखाएको भए नेताले यत्तिका बिघ्न भ्रष्टाचार गर्नै पर्दैनथ्यो । देशमा अराजकता पनि यत्तिधेरै अचाक्ली रुपमा बढदैनथ्यो । कर्मचारीतन्त्रलाई घुष नखाई काम नै नगर्ने अवस्था पनि आईपर्दैनथ्यो । नेपाली युवाहरुले यत्तिका संख्यामा देश छोडेर खाडी, कतार र मलेसियामा भेडा चराउन र बेल्चा हान्न जान पर्दैनथ्यो । हामीले देशको नेतृत्वसँग अलि बढी आशा राख्दा नेतृत्वले हाम्रा आशा पुरा गराउन नै यि अनेकानेक हर्कतहरु गर्नुपरेको कुरामा हामीले अहिले आएर अन्देखा गर्नु पनि हुदैन ।
नेपाली जनता २०४६ सालको प्रजातन्त्र प्राप्ति पछि देखिनै ठगिन थालेका हुन । नेपालमा उम्रिएका रसियन र चाईनिज च्याउहरुले नेपाली बजारदेखि नेपाली जनताका चुलाचौकासम्म प्रभुत्व जमाउन सफल भएपछि नेपालमा ढाँटको राजनीतिको शुरुवात भएको हो भन्ने कुरा यदि कसैले नकार्छ भने त्यो कम्युनिष्ट नै होईन । एकैपटक नेपाली जनताले चार बिघा जग्गा, चार तोला सुन र चारतले घर पाउने भएपछि त्यसभन्दा माथि नेपाली जनताको आशा पनि भएन । त्यसैले नेपाली जनताको हात कम्युनिष्टहरुको चुनाव चिन्हभन्दा बाहिर पनि गएन । नेपाली कांग्रेसले बि.पी. को सपना बाँडिरहँदा नेपालका कम्युनिष्टहरुले पम्फादेबि ठकुरीको नाममा स्विट्जरल्याण्मा रहेको खाताको रकम बाँडिसकेका थिए । यहि आशामा नेपाली जनताले कहिले कांग्रेस त कहिले कम्युनिष्टहरुलाई निरन्तर भोट दिए ।
तर नेपाली जनताको चाहना, भावना, आवश्यकता, आकांक्षा, अभिलाषा, सपना कुनै पनि कुरा सम्बोधन हुन सकेनन् । देशमा रहेका उद्योगधन्धा लगातार कौडिको दाममा बेचेर केवल नेतृत्वमा रहेका ब्वाँसाहरुको रजाईँले नेपाली जनतामा दलहरुप्रति रहेको विश्वास बिद्रोहमा परिणत हुँदै गयो । यसैको परिणामस्वरुप देशमा दशबर्षे हिँसात्मक युद्ध भयो । हजारौ नेपाली जनताले बिनाअर्थको ज्यान गुमाए । युद्ध सञ्चालन गर्ने सारथिहरुले दशपुस्तासम्म पुग्ने गरी सम्पत्ति कमाए । देश धनि हुन नेता गरीव हुनुपर्छ तर नेता धनी हुन देश गरीव हुनै पर्ने रहेछ भन्ने कुराको स्पष्ट उदाहरण दिन सक्नु नेपाली राजनीतिज्ञहरुको महान कला हो यसलाई भने हामी सबैले सम्मान स्वरुप सलाम गर्नै पर्दछ ।
अहिले हाम्रो देशको लोकतन्त्र बयस्क भएको छ । गणतन्त्रमा लटरम्म फल फलेको छ । यहि फल देशका नेतृत्वकर्ताहरुले कहिले सहकारी ठगीका नाममा खाएका छन्, कसैले टेरामक्सको नाममा कमिशन पाएका छन् । कसैले बाँसबारीमा भाग पाए, कसैले बालुवाटारमा साँध लगाए । कोहि बहत्तर करोड हान्देकै हो भन्दछन्, कोहि यति र ओम्नीमा परेको भागको पैसा गन्दैछन् । कोहि कोरोनामा मालामाल भए, कोहि लाईसेन्स छपाईमा मालामाल भए । भिजिट भिषामा अहिले पनि कतिले डकारी रहेका छन् । कतिले ललिता निवास सकारी रहेका छन् । यत्ति हुँदा पनि नपुगेर कोहि सेनिटरी प्याडझै गन्हाएका छन्, कसैले मैले त मान्छे बेचेकै छैन भन्दै कराएका छन् ।
अझै पनि देशमा जनताका छोराले निशुल्क पढन पाएको छैन, निशुल्क उपचार गराउन पाएको छैन । पञ्चायतकालमा स्कुल अस्पताल सरकारी हुन्थे, सरकारले उद्योग कलकारखाना चलाउँथ्यो, अहिले सरकारले कमिशनको खेति चलाएको छ, स्कुल तथा अस्पताल चलाउन नीजि कम्पनी र ब्यापारीलाई लगाएको छ । उद्योगधन्दामा काम गर्ने मन भए सरकारले पासपोर्ट बनाएको छ, देशमै बेरोजगार भएर कराउने भए दलले झण्डा र डण्डा थमाएको छ । बिदेशी दातृ निकायले दिएको सहयोगमा पनि सरकारले आँखा लगाएको छ । नेपाली जनताका थाप्लामा ऋणको थप भारी बोकाउँदै बिदेशी राष्ट्रबाट ऋण लिएर पार्टीका कार्यक्रमहरु चलाएको छ ।
त्यसैले त मलाई आजकाल नराम्रा कुराहरु लेख्न मन लाग्दैन । देश राम्रा मान्छेहरुका हातमा गैसकेपछि नराम्रा समाचारहरु आउँदा पनि आउँदैन । अहिले मुलुक छबिलाल, रविलाल र ठगुलालहरुका हातमा छ । यस्तो अवस्थामा देशमा भ्रष्टाचार र कालोबजारी हुने कुरै आउदैन । यहि हो रामराज्य भनेको यस्तो ब्यवस्थामा जनताले क्लेश पनि दुःख पाउँदैन ।