अर्थ देश–समाज समाचार स्थानीय

दमक नपाको आर्थिक सहयोगमा अर्गानिक मच्छर धुप उत्पादन

— : सुजन गौतम : —

दमक । झापाको दमकमा दमक नगरपालिकाको आर्थिक सहयोगमा र दिव्यदृष्टिको प्राविधिक सहयोगमा निर्मित अग्र्यानिक बाटेको मच्छड धूपको व्यावसायिक उत्पादन सुरु भएको छ । आइतबार एक कार्यक्रमबीच उत्पादनको औपचारिक उद्घाटन तथा १० दिने तालिमको समापन गरिएको हो।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धूपको ब्रान्डिङ, प्याकेजिङ र बजार व्यवस्थापन सम्बन्धी तालिमपछि व्यावसायिक उत्पादन थालिएको जानकारी दिइयो।
नगरप्रमुख थापाले भारतबाट आयात गरिने र स्वास्थ्यमा असर गर्ने धूपको सट्टामा अब स्थानीयस्तरमै अग्र्यानिक जडिबुटी प्रयोग गरेर धूप उत्पादन सुरु भएकोमा खुसी व्यक्त गरे । उनले यो उत्पादनले नगरलाई मात्र नभई देश र विदेशमा समेत पहिचान दिलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमकी विशिष्ट अतिथि उपप्रमुख रेगिना भट्टराई प्रसाईले नेपालमै पहिलोपटक ब्रान्डिङसहितको अग्र्यानिक मच्छड धूप बजारमा आएको बताउँदै यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने धारणा राखिन् ।
त्यस्तै, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले आयातित धूपमा प्रयोग गरिने रसायनहरूले स्वास्थ्यमा नकारात्मक असर पार्ने भए पनि बाटेको अग्र्यानिक धूप स्वास्थ्यमैत्री रहेको बताए।
कार्यक्रम दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नका अध्यक्ष विष्णुप्रसाद पोखरेलले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाकी सञ्चालिका तथा कार्यकारी प्रमुख बबिता तिम्सिनाले संस्थाले महिलालाई
आत्मनिर्भर बनाउन विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको जानकारी गराईन ।
दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सहभागी महिलाहरूलाई उत्पादन, प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
यो कार्यक्रमले स्थानीयस्तरमा रोजगारीको सम्भावना बढाउनुका साथै अग्र्यानिक उत्पादनको प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ।

Author

You may also like