हे युवा !
हिजोआज तिमी किन बहकिंदैछौ ?
कसैको कुरा सुन्दैनौ
एकलब्य छौ
अरुले भनेको मान्दैनौ
जिद्दी छौ
घामड छौ
आफैले आफैलाइ तौलन्छौ किन ?
कहिले काहीं त
विद्वानका कुरा नि सुन न
के भन्छन्, के गर्छन् ,
बाटो कसरी देखाउँदैछन ?
बुझ, केर, हेर, सुन अनि केही त बोल
तिमी मौन बस्यौ भने
बुढाखाढा चम्किन्छन्
रामराज्य उनीहरूकै हातमा हुन्छ
यो पनि हिजोआज तिमी बुझ्दैनौं
बिचरण गर त देश कतातिर जादैछ ?
के – के , कसो – कसो हुँदैछ ?
थाहा छ यो कुरा तिम्रो मगजलाई ?
ठण्डा दिमागले सोच त
म गलत छु कि सही छु
मलाई कसले गोटी बनाउदैछ ?
मैले उमेरमै मेरो स्थायी
ब्यबस्थापन गर्न सकिन
यो कुरा जीवनमा
गम्भीर भएर सोच्यौ त ?
कति दुःख पायौं,
कति हण्डर खायौ त्यो थाहा छ ?
बिगत हेर आगतलाई उज्यालो बनाउ
देश प्रसव पीडामा छ
नेताहरूले देश दुःखाए
चौतर्फी डामाडोल छ
रानो बिनाको मौरी भएका छन जनता
त्यसैले तिमी बिदेश नजाउ
यो शान्तिको देश नेपालकी आमा
आज रोएकी छिन
उनको सपना साकार पार्न
अब तिमी जाग्नै पर्छ , उठनै पर्छ
आमाको आँखाबाट
खसेका बलिन्द्र आँसुको धारा
तिमीले पुछनै पर्छ
युवाहरू सबै एकजुट भएर
आमाको सपना पूरा गर्नै पर्छ
युवा बिदेश नजाउ है
युवा बिदेश नजाउ है
युवा बिदेश नजाउ है !!!
हो, आज हाम्री आमाको आर्तनाद यही छ, छोराछोरीले अब यो देश छोडनु हुन्न । देशमा आमूल परिवर्तनका लागि चौतर्फी शान्ति फैलाउनु पर्छ । औद्योगिक क्रान्ति गर्नैपर्छ । कृषिमा आधुनिकीकरण गर्नैपर्छ । शिक्षामा व्यापक सुधार गर्नुपर्छ । प्राविधिक तथा जनमुखी शिक्षा लागू गर्नका निम्ति शिक्षित युवायुवतीहरु अब जुटनुपर्छ । यसका लागि बृहत् हातेमालो आजको आवश्यकता हो । बिगत देखि बर्तमान अवस्थासम्म आइपुग्दा नेपालमा लोकतान्त्रिक गणतन्त्रको बिजारोपण हुँदासम्म सोचेजति परिवर्तन हुन भने सकेन । जहाँपनि जतापनि भ्रष्टाचारको जालो फिजिएको छ । आखिर जुनै पार्टीले सरकार बनाएपनि जनताले सोचे र खोजेजस्तो परिवर्तन नभएकै कारणले गर्दा युवाहरुमा जोस, जाँगर त्यति देखिन्न । हिजो युवाहरुको आँखामा छारो हाल्न स्वरोजगारीको फर्म भराउने आज कुन दुलामा छन ? कहिँ कतै लेखाजोखा छ कसैको ? कति युवाहरूले रोजगार पाए त ? हिजो जम्मा गरिएका बेरोजगारी युवाहरूको फायल आज गयो कता ? महिना – महिना दिनमा फेरिदै गएको हिजोको सरकार आज कता छ, स्वरोजगारी युवाले कहाँ पाए रोजगार ? सबैलाई दलको भाट बनाएर युवाहरूलाई घरमै योग्यताको सर्टिफिकेट राख्न लगाउनेहरु को हुन ? कुन पार्टी हुन ? अहिले के गर्दैछन ? उनीहरूलाई बेरोजगारी बनाउने को हो ? ए युवाहरु हो ! अब त चेत न । खुकुरी, भाला, कफन भिरेर किन उनीहरूको जुजुमान गर्दैछौ, अझै । चेत खुलेन, बुद्धि पलाएन, किन हिजोआज तिनै चण्डालहरुको गोटी बनि गाउँ – गाउँमा प्रचारवाजीमा कुददैछौ ? तिमी त एउटा बिद्दत, बुद्धिजीवी वर्गको सचेत र सजग मान्छे जानीजानी किन अशिक्षित नेताहरुको प्रतिगामी र पस्चगामीको लवेदा समाउदै हिडदैछौ ? यहाँ यो भनिरहदा तिमीलाई दिलचस्वी होला यसमा सन्देह नमान । किनकि पुरानो सत्य– तथ्य विरासत बोकेर अन्धकारमय राजनीति जीवन जोखिम बनाउने यो कलमी पनि भएको नाताले म यो निवेदन गर्दैछु कि जानेर या नजानेर आफूले खनेको खाल्डोमा तिमी नपर्नु है । यहीँ परिश्रम गर, सुन फलाउने ब्यबसाय यहीँ छ । वीज उमार, फसल लगाउ, गोडमेल गर, मलजल गर, यहीँ छ हाम्रो स्वर्गको नेपाल, यहीँ छ हाम्रो सुनखानी नेपाल । नेताहरुको हुक्के, चम्चे, झोले, झाक्री नबन अब । छोड उनीहरूको साथ फलाउ, फुलाउ अन्नभण्डार, फलाउ गर यही माटोमा । जहाँ फलेफुलेका, फक्रेका बिरुवाहरु छन । प्राविधिक, इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स बिषय पढ, यही देशमा बसेर । आज आमाबुबा धरधरी रोएका छन बिदेशमा बस्ने परिवारलाई सम्झेर । आमाको आँसुले सराप्ला, नजाउ एक्लै छोडी । हिजो मेलापात, ढिकीजातो गरेर लालनपालन, पोषण गरेर हुर्काएर पढाएको गुन बुझ, देश अशान्तितिर उन्मुख हुँदैछ, बेरोजगारी, रोजगारीको खोजिमा राहदानी बनाउदैछन, त्यही लाइनमा तिमी छौ । यो काम बन्द गर्नुपर्छ , तिमीले । रोइरोइ बाचेका, टुक्रिएका मनहरु अब तिमीले टाल्नुपर्छ । आर्थिक मन्दी छ, महङ्गी बढदो छ, भ्रष्टाचार बढदो छ । हिजो अनेकन काण्डमा मुछिएकालाई मन्त्री पदमा आसिन गराइरहेको छ यो सरकार । यहाँ शान्ति र दिगो बिकास गर्ने कुनै दलहरु देखिन्नन । सबैलाई सत्ताको लिस्नो कहिले चढौ भन्ने गुटबन्दीले गाजेको छ । आफ्नै पार्टीले पार्टीलाई खुट्टा तान्ने काम बढदो छ । यस्तो सम्म हुँदा सम्म युवा तिमी किन बोल्दैनौ ? “र” का हनुमानहरु हाम्रो देशमा आएर श्वेत आतंक गर्दासम्म कुनै युवाहरु मसाल बोकेर उनीहरुको विरुद्ध आवाज गुन्जाउन चुप लागेरै बसेका कारण आज ठूलादलहरु सिंह भए तिमी बिरालो भएका छौ, उनीहरूकै संजीवनी बुटी सुघेर प्रचारवाजीमा कुददैछौ अहिले नि किन ? अब त नकुदन है, श्रम गर, तिम्रा योग्यताका प्रमाणपत्र अनुसार केही न केही काम गर, खुल्ला दिमाग सैतान हो यसले नास गर्छ । निरासा पन्छाऔ, आशा जगाउ । एकदिन यो संसार छोडेर जानु छ, सत्कर्म गर, कसैलाई नराम्रो नभन । बाटो बिराएकालाई सही बाटोमा ल्याउ । हिजोआज मान्छेले मान्छे चिन्न सकेकै छैन, सबै “मै खाउ मै लाउ , सुख सयल मोज मै गरौं” मा छन । यसकारणले पनि तिमीले रोइरोइ हाँसेको देश नेपाललाई अब खुसी तुल्याउनु पर्छ । निरासा होइन आशा भर्नुपर्छ ।
हे युवा ! आउ तिमी आउ
बिदेशबाट फर्कि आउ
बिदेशी मोह त्याग,
आमाको मुहार हसाउ
टुटेफुटेका आशाहरुमा
नयाँ रङ्ग भर
भ्रष्टहरुलाइ देशबाट लखेट
अनि देश बन्नेछ
कालोबजारी बढ्दो छ
तिम्रा आवाज बोल
भत्किएका बाटाहरु
पुर खुलेर दिल खोल
आउ युवाहरु,
एकजुट भएर अघि बढ
युवा बिदेश नजाउ है ……………???