– : यज्ञप्रसाद भट्टराई : –

नेपाली कांग्रेसको महाधिवेशनको कुरा जति चर्चामा चुलिँदैछ त्यति भावि नेतृत्वमा डा. शेखर कोइरालाको नाम अगाडि सारिएको छ । भनिन्छ– डा. शेखर हिङ नभए पनि हिङ बाँधेको टालो हो । एक पटक प्रधानमन्त्री बन्न पाएमा देशका शासकीय, राजनीतिक तथा सामाजिक व्यतिथिको निराकरणमा डा. शेखर अब्बल हुने बजारमा चर्चा पनि चल्दैछ । प्रजातान्त्रिक लडाईका एक सशक्त, शालिन व्यक्तित्व जसले यति लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा लागे पनि नेतृत्वमा आफ्नो भूमिका देखाउने अवसर पाएका छैनन जुन अवसरको खोजिमा हिंडेका कोइरालाप्रति आउँदो महाधिवेशनले चाहि न्याय गर्छ भन्नेमा प्रजातन्त्रप्रति विश्वास राख्नेहरुको आशा, अपेक्षा र भरोस गरेका छन् ।
नेपालमा प्रजातन्त्र, प्रजातान्त्रिक शासन ब्यवस्था स्थापित भएर कार्यान्वयनमा आएको पनि पैतिसौं बर्ष भैसकेको छ । तर पनि नेपाली जनताले परिकल्पना गरेको मुलुकको द्रुततर बिकास र अन्योलग्रस्त राजनीतिको सहज निकास भने अहिलेसम्म पनि देख्न पाएका छैनन् । भ्रष्टाचारको अन्त्य नभई देशमा शुसाशन आउनै सक्दैन । देशमा दिगो शान्ती नभई बिकासका कामले गति लिन पनि पाउँदैनन तर देशमा शुसाशन र दिगो शान्ति स्थापना गर्न सक्ने र मुलुकको बिकासको योजना कोर्न सक्ने कुनै बहादुर र क्षमताबान नेता अहिलेसम्म कुनै पनि राजनीतिक दलहरुमा देखा पर्न सकेका छैनन् । देश हितमा काम गर्ने नेतृत्व किन राजनैतिक दलमा आउँदैनन ? भनेर आम नेपाली जनताहरु टाउकोमा हात राखेर सोच्न बाध्य छन् ।
देश बिकासको खाका कोर्ने भनाउँदा दलका डफेदारहरु मुलुक लुटने ध्याउन्नमै ब्यस्त छन् । दिनहुँ जसो आउने भ्रष्टाचारका दुर्गन्ध र मानव तस्करी जस्ता सुन्दा पनि आँङ्ग जिरिङ्ग हुने समाचारहरुले सामाजिक सञ्जाल र छापा सञ्चार भरिएको देख्दा जनताका प्रतिनिधिहरु भनेर भन्न समेत लाज लाग्न थालिसकेको अवस्था छ । देशमा उद्योगधन्धा, कलकारखाना खोल्लान र जनतालाई रोजगारी देलान भनेर आशामा बसेका नेपाली जनताहरु जनताकै प्रतिनिधिहरुले बिगतमा भएका बिकास निर्माणका संरचनाहरु समेत कति कौडिको भाउमा बेचेर खाईसकेपछि, अहिले निराश भएर बिदेश जान बाध्य हुनेहरुको लर्को देख्दा बर्तमानका राज्य सञ्चालनमा रहेका दलहरु प्रति नै जनताको नकारात्मक धारणा बढदो क्रममा देखिन्छ ।
अझ बेचबिखनको तैयारीमा रहेका र अत्यन्तै जिर्ण अवस्थामा गईसकेका उद्योगधन्धा, कलकारखानाहरु मर्मत सम्भार गरेर नयाँ रोजगारी सृजना गर्ने तर्फ नत बिगतका सरकारहरुले चासो देखाए, नत बर्तमान सरकारको ध्यान जान सकेको देखिदैन । बर्षेनी आउने बजेट भाषणमा रोजगारी सृजना गर्ने भनेर बजेट बिनियोजन नै हुने गरेको भएता पनि हालसम्म देशमा चारजना बेरोजगारले रोजगार पाउने अवस्था सृजना हुन नसक्नु आफैमा दुःख लाग्दो कुरा हो । यस्तो सरकारबाट नयाँ उद्योगधन्धा, कलकारखाना खुल्छन् र रोजगारीको अवसर प्राप्त होला भनेर कसरी आशा गर्न सकिन्छ ?
देशमा क्रियाशिल राजनैतिक दलहरुलाई न त देश बिग्रिदै गएकोमा चिन्ता छ ? न त जनता खान नपाएर स्वदेश छोडन बाध्य भएको र रोजिरोटीका लागि बिदेश पलायन भैरहेको कुरामा कुनै हेक्का छ ? चिन्ता छ त केबल नागरिकहरुलाई कसरी शरणार्थिका रुपमा भएपनि, भिजिट भिषामा भए पनि, कामदारका रुपमा भए पनि बिदेशमा बिक्री गरेर कसरी बढी भन्दा बढी रकम कुम्ल्याउने ? जनता भोकै मरुन मतलब छैन, मतलब छ त जसरी पनि सुन तस्करसँग हात मिलाउँदै सुनका थालीमा चौरासी ब्यञ्जन खाने सपना पुरा गराउने । यस्ता अपराधि सोचका नेता भएका देशमा जनताले कसरी बिकासको मुख देख्न पाउछन् ? अभाव र दवावमा जसोतसो जीवन धानीरहेका नेपाली जनताहरुलाई अब कसले माथि उठाउला ? नेपाली जनताका लागि जाउलो खानेसम्मको मुठी चामल अब कसले जुटाउला ? संझदा पनि आँङ्गै जिरिङ्ग भएर आउछ ।
देश बिकास र प्रगतिको मार्गमा अघि बढन शासन ब्यवस्था हैन दुरदर्शी नेतृत्व र ईमान्दार नागरिकहरु हुनुपर्ने रहेछ भन्ने कुरा अब नेपाली नागरिकहरुले बुझिसकेका छन् । बर्तमानका राजनैतिक दलहरुको चर्तिकला देखेर नेपाली जनताहरु अघाई सकेका छन् । अब नेपाली जनताले यिनै राजनैतिक दलहरु र दलका यिनै नेता र नेतृत्वकर्ताहरुको नेतृत्वमा देश बन्ला भन्ने सपना सोच्नु नै बेकार छ । देश कंगाल बनाएर आफु र आप्mना आसेपासेहरुलाई काखी च्याप्ने प्रबृत्ति भएका नेता र नेतृत्वतहलाई अब जनताले चिन्न जरुरी छ, चिनिसकेपछि फोहोरको कन्टेनरमा लगेर फाल्न जरुरी छ ।
राजनैतिक संरक्षण र गलत बाटोबाट जम्मा गरिएका अकुत सम्पत्तिको निष्पक्ष रुपमा छानबिन गरी देशको राष्ट्रिय ढुकुटीमा ल्याउने र भ्रष्टाचारीहरुको निष्पक्ष रुपमा छानबिन गरी छानीछानी जेलको चौघेरामा हाल्न जरुरी छ । ईमान्दारिताको राजनैतिक संस्कारको बिकास गराउँदै जनताहरुमा दलहरु प्रति हराउँदै गएको राजनैतिक बितृष्णा प्रति विश्वास जगाउन जरुरी छ । यसका लागि मुलुकमा जनता र देशको पक्षमा ईमान्दार भएर काम गर्न सक्ने बिश्वाशिलो, सक्षम र परिपक्व नेतृत्व आउन जरुरी छ । खुट्टा टेक्न समेत नसक्ने चौरासी गरिसकेका नेताहरुलाई डो¥याउँदै आफ्नो निहित स्वार्थ पूर्ति गर्न लालायित केहि भरौटेहरुले बर्तमानका दलहरुलाई र तिनका नेताहरुलाई सामुहिक रुपमा बदनाम गराई सकेका छन् । त्यसैले त अहिले यिनै दलहरुका पार्टी कार्यालय वरिपरी हाप्सिलाहरु कराई रहेका छन् । अब के हुने हो नि ? भनेर अहिले दलका नेताहरु नै डराई रहेका छन् ।
जनताका आँगनमा कहिल्यै पनि खुसी फर्किएर आएन । सर्धैको दुःख, अभाव र समस्याहरुका चाँङ्गलाई पन्छ्याएर एक रात पनि सुखका साथ कुनै पनि नेपाली नागरिकले निदाउन पाएन । सधैंभरी ऋण र अभावको भारी बोकेर प्रजातन्त्र प्राप्ति पछिका ३५ बर्षहरु बितेर गए । यहि बिचमा नेता नामका चोरका खन्तीहरुले देशको सम्पत्ति लुटिरहे । नेपाली जनताहरुमा हराएका मुस्कान फिर्ता ल्याउन सक्ने नेतृत्वको पर्खाईमा बसीरहेका छन् ।
यहि समयसिमा भित्र क्रान्तीका नाममा कति नागरिकहरुले आफन्त गुमाए र टुहुरा भए ? सधैभरीका एउटै शब्द उच्चारण गर्ने बोक्रे भाषण र झुठो आश्वासनमा दलमा आबद्ध भएका कार्यकर्ताहरुलाई, डराएर, धम्क्याएर, झुक्याएर र अल्मल्याएर आफु सत्तामा टिकिरहने गलत मनसायका कारण अहिले नेपाली जनताहरुले दलका नेताहरुलाई देख्यो कि चिथोरी हार्लौ जस्तो अबस्थामा पुर्याएका छन् । झुठको राजनीतिको आयु सधैं कम हुने गर्दछ भन्ने कुरा पनि अब नेतृत्व तहले बुभ्mन जरुरी छ । नेपाली राजनीतिमा बिगतको नेतृत्वको पदचाँप पछ्याउने कुनै भरोषायुक्त नेता नभेटिरहेको बर्तमान अवस्थामा नेपाली राजनीतिक आकाशमा एक आशालाग्दा नक्षत्र उदाउन नसकिरहेको बर्तमान अवस्थामा डा. शेखर कोईराला एकमात्र भरोषायोग्य नेताका रुपमा अगाडि आएका छन् । उनको बिगत र बर्तमानलाई मसिनो गरी केलाउने राजनीतिक बिश्लेषकहरुका भनाईलाई सापटी लिने हो भने अब देशको नेतृत्व यिनै डा. शेखर कोईरालाले चलाउनेछन् । देशमा अहिले जताततै आन्दोलनको उभार आएको छ । जनतामा चरम निराशाको बादल छाएको छ । यस्तो अवस्थामा नेपाली जनताले विश्वास र भरोषा गरेको नेतृत्वले शासनसत्ता नसम्हाल्ने हो भने भोलिका दिनमा लोकतान्त्रिक ब्यवस्थाप्रति नै हमला हुन सक्छ । त्यसैले देशको बिग्रदो राजनीतिलाई सहि ट्रयाकमा ल्याउन डा. शेखर कोईरालाको नेतृत्वमा सरकार आवश्यक भै सकेको छ ।
डा. शेखर कोईरालाको राजनैतिक क्रियाशिलता सँगै नेपाली कांग्रेसमा मात्र हैन सिंगो नेपाली जनतामा नेपथ्य भित्रको आशाको दीयो जल्न सक्ने अपेक्षा गरेका छन् । देश, जनता र शुशासनका पक्षमा बोल्न कहिल्यै नडराउने नेता कोईराला सधैं भ्रष्टाचार र अनियमितताका बिपक्षमा उभिएका छन् । देश भित्र होस् या अन्तराष्ट्रिय सभा सम्मेलनमा होस् उनले सधैं कानूनी राज्य र शुशासनका पक्षमा आफुलाई खरो रुपमा उभ्याएका छन् । सम्पत्ति कमाउन राजनीतिमा आएका राजनीतिक ब्यापारीहरुका कारण सच्चा र ईमान्दार राजनीतिज्ञहरुको राजनीति समाप्त भएको प्रति कटाक्ष गर्दै शेखरले बिभिन्न ठाउमा राजनीति पैसा कमाउन हैन देश र जनताको सेवा गर्नका लागि हुनुपर्छ भनेर बोलिरहेका छन् । हिमाल, पहाड र तराईका जनताहरुलाई एउटै मालामा उनी रहेका छन् ।