दमक/१५ दिन अगावै भित्रिएको मनसुनले अघिल्लो हप्ता पहिलो झड्कामै पूर्वी नेपालका विभिन्न भागमा क्षति पु¥यायो । झापाको झापा गाँउपालिका–३ सुगाथानस्थित माई खोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परे ।
मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आएको थियो । धरान, धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो ।
मानवीय क्षति कम भएपनि भौतिक क्षति धेरै गरायो । त्यसपछिका केही दिन अत्याधिक गर्मीका साथ बितिरहँदा फेरी भारी वर्षा हुने विषयमा मौसम पूर्वानुमान महाशाखाले सर्तक रहन आग्रह गरेको छ । गत शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा–भेडेटार खण्डको सडक बगायो । साँगुरीगढी गाउँपालिका–६ फेदीस्थित लेउती खोलाले करिब ३० मिटर पक्की सडक भत्काउँदा कोशी राजमार्ग हुँदै धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा जाने सवारी सात घण्टा रोकिए ।तमोर करिडोर हुँदै ताप्लेजुङ र पाँचथर जाने सवारी थुनिए ।लेउती खोलामा अस्थायी बाटो (डाइभर्सन) बनाएपछि एकतर्फी सवारी साधान चल्न थाले ।त्यसपछि वर्षा भएको छैन । मनसुनको पहिलो दिन पूर्वमा १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ ।पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।”
त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताए । नेपालमा बंगालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए ।जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केतहोइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ । प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र
कोशी प्रदेशका मेची, बिरिङ, निन्दा, कन्काइ, चिसाङ, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत सानाठूला खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सूचित गरिएको छ ।
पहाडदेखि तराईसम्म फैलिएको भौगोलिक अवस्थाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान, चट्याङ, आगलागीजस्ता प्राकृतिक र मानव सिर्जित विपद्का घटनाले ठूलो मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ । प्राकृतिक प्रकोपले बारम्बार जनधनको क्षति पु¥याउँदै आएको कोशी प्रदेश हाल देशकै सबैभन्दा संवेदनशील विपद् क्षेत्रका रूपमा चिनिन थालेको छ ।
एक दशकयताको तथ्यांक हेर्दा कोशी प्रदेशमा भएका ११ हजार ९ सय ३७ वटा विपद्का घटनामा १ हजार २८ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ७३ हजारभन्दा बढी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार कोशी प्रदेश विपद् जोखिमको दृष्टिले उच्च मानिँदै आएको छ ।भौगोलिक अवस्था, जलवायु परिवर्तन, अव्यवस्थित बस्ती विस्तार र संरचनागत कमजोरीका कारण कोशी जोखिममा पर्दै आएको छ ।
कोशी प्रदेशमा प्राकृतिक विपद् बर्सेनि दोहोरिरहने भएकाले बाढी, पहिरो र डुबानले जनजीवनमा गम्भीर असर पु¥याउँदै आएको कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका सदस्य तथा विपद् विज्ञ रामकुमार दाहाल बताउँछन् ।यसतर्फ समयमै सरकारको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।
यी विपदहरूलाई सामना गर्न प्रदेश सरकार, स्थानीय तह र समुदाय मिलेर सक्रिय प्रयास गरिएमा विपद् रोक्न नसकिए पनि विपदको प्रभाव कम गर्न सकिने विज्ञ दाहालको सुझाव छ ।
दाहालका अनुसार कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका सदस्य तथा विपद् विज्ञ रामकुमार दाहालसहितको एक टोलीले हालै गरेको एक अध्ययनअनुसार कोशी प्रदेशका १४ जिल्लाका १ लाख १६ हजार ८१८ घरधुरी बाढी, डुबान र पहिरोको उच्च जोखिममा छन् ।ती मध्ये २४ सय ६६ घरधुरीलाई तत्काल स्थान्तरण गर्नूपर्ने देखिएको विज्ञ दाहाल बताउँछन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरमा ३ हजार ५ सय ४० घरधुरी पहिरोको उच्च जोखिममा छन् ।दोस्रो सोलुखुम्बुमा ३ हजार ६ सय ३७ घरधुरी जोखिममा छन् ।तेस्रो धेरै प्रभावित जिल्ला सङ्खुवासभा हो, जहाँ २ हजार ६ सय ५० घरधुरी प्रभावित छन् । सो जिल्लामा ७ सय ८ घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ ।
इलाममा १ हजार २ सय ४३ घरधुरी पहिरोको जोखिममा छन् भने तीमध्ये ३ सय ५५ घरधुरी अत्यधिक जोखिमयुक्त क्षेत्रमा छन् ।
यस्तै ताप्लेजुङमा २ हजार ४ सय ३० घरधुरी प्रभावित छन् ।र, २ सय ८५ घरधुरी स्थानान्तरण गर्नैपर्नेे छन् ।
खोटाङ, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, उदयपुर, मोरङ, सुनसरी, झापालगायत जिल्लामा पनि सयौं घरधुरी पहिरोको चपेटामा परेका छन् ।
तराईको जिल्ला झापाका तीन पालिका पनि पहिरोको प्रकोपमा छन् ।तीन पालिकामा १ सय ८० घरधुरी पहिरोको जोखिममा रहेको दाहालले बताए ।
कोशी प्रदेश बाढी, डुबान र पहिरो जस्तै हिमताल विष्फोटको जोखिमका कारण उत्पन्न समस्याको चपेटामा पनि देखिएको छ । प्रदेशमा रहेका विष्फोटको उच्च जोखिममा रहेका हिमताल विष्फोट भएको खण्डमा यस प्रदेशमा १२ हजार ७ सय ६ घरधुरी बाढीको उच्च जोखिममा रहन्छन् ।
इसिमोड र युएनडिपी जस्ता गैरसरकारी संस्थाले गरेको एक अध्ययनले मुलुकभर रहेका ४७ वटा विष्फोटको उच्च जोखिममा रहेका ताल मध्ये कोशी प्रदेशमा मात्र ४२ वटा रहेकाले ती कुनै बेला पनि विष्फोट हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउने भनिएको छ ।
खास गरी प्रदेश सरकारले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न जनचेतना, पूर्वतयारी, समयमै सतर्कता र जोखिमयुक्त क्षेत्रको पुनःस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिए पनि सरकार भने खासै संवेदनशील नदेखिएको आरोप उनीहरुको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपत व्यवस्थापन शाखाका अनुसार प्रदेश सरकारले विपत व्यवस्थापनको लागि चालु आवका १९ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
विनियोजित रकम मध्ये विपदपछि आवास निर्माणका लागि ४ करोड विनियोजन गरेको छ भने उद्धार, राहात र उपकरण खरिदका लागि बाँकी बजेट खर्च हुनेछ ।यसबाहेक प्रदेश विपद कोषमा ६ करोड ९० लाख राहात तथा उद्धार कार्यक्रमअन्तर्गत ८ करोड रुपैयाँ रहेको विपत व्यवस्थापन शाखाले जनाएको छ ।