मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानी, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो देखिन्छ । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रुपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन् । अध्यागमन कार्यालयकाअनुसार त्यसरी देश नै छाडेर विदेश बसाईंसराईं गर्नेहरुमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ । दुई वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रुपमै बसाईं सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन् । त्यस्तै त्यसरी बसाईं सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ ।
अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रुपमै विदेशमा बसाईं सरेर ७० हजार ९ सय १५ नेपाली गएका छन भने सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली सधैँ उतै बस्नेगरी गएका छन् । यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाईं सरिरहेको देखाएको छ ।
नेपालीहरु विदेशमा रोजगारकै लागि गईदिँदा रेमिट्यान्स बढ्ने आशमा खुशी सरकारका लागि लाखौं मानिस देशै छोडेर जाँदा कम्तीमा आन्दोलन गर्ने एउटा समूह गएछ भनेर ढुक्क होला नै । तर यसले देशलाई नकारात्मक रुपमा कति हानिनोक्सानी गरेको छ भन्ने समिक्षा सरकारले गर्नै सक्दैन । नागरिकता त्यागेर विदेश बसाई सरेका परिवारको अरबौको सम्पत्ति पनि त्योसँगै गएको छ । देशको प्रधानमन्त्रीले त देशमा सबै जनता समान सम्झिदैन भने देश छोडेर जानेले आफ्नाहरुलाई तान्ने र देश छोड्नेको संख्या बढाउने प्रक्रिया त चलिनै रहेको छ ।
सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना नेपाली अस्थायी रुपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायी रुपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ ।
पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको तिनै व्यक्तिहरु कामगर्दै जाँदा उचित लागेको अवस्थामा नागरिकता नै त्यागेर उतै बस्ने पनि गरेका छन् । सन् २०२३ र २०२४ मा १६ लाख ६४ हजार ८ सय ३७ नेपाली रोजगारका लागि विदेशिएका छन् । सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५ सय १८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिषामा गएका छन् । जो भिजिट भिसामा गएका छन तिनीहरु २५ प्रतिशत पनि फर्कनेवाला छैनन् । तिनीहरुको दिनचर्या विदेश नै हो । यस कारणले सरकारले वैदेशिक रोजगार जाने र नागरिक छोड्नेप्रति बढी सम्वेदनशिल हुन जरुरी देखिन्छ । लाखौं नेपाली नागरिकता त्यागेर देश छोडिरहँदा नेपालमा राजनीति गर्ने यति धेरै दलहरुले कस्का लागि राजनीति गर्ने भन्ने यक्ष प्रश्न उब्जिएको छ । तिनीहरु देशैं छोडेर किन जान चाहान्छन । नेपालको समथ्र्यले भ्याउने खालका प्रवृत्ति र गतिविधि हुन भने रोक्न ल्याकत पनि सरकारको हुनु पर्दछ ।