बिर्तामोड/ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् ।
निर्माण व्यवसायी संघ झापाको बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभा एवम् अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायीहरूले निर्माण कार्य गरेबापत विगतका आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने ठुलो रकम अझै नपाउँदा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको बताए ।
संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा स्वागत संघका प्रथम उपाध्यक्ष रमेश अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए । सोही समारोहका बीच संघले झापाका अग्रज निर्माण व्यवसायी प्रभाखर कडरिया, यज्ञराज ओली र अर्जुन संग्रौलालाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
यसैबीच, नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा केदार गिरीसहित चार पदमा निर्विरोध निर्वाचित भएका छन् ।
संघको १६ औँ अधिवेशनबाट कञ्चन निर्माण सेवा बिर्तामोडका सञ्चालक गिरीसहित द्वितीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई, सचिवमा शिवसताक्षीका लोकेन्द्र श्रेष्ठ र महिला सदस्यमा बुद्धशान्तिकी कमला थाम्सुहाङ निर्विरोध निर्वाचित भएका हुन् । संघको आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा चार पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । संघको यो अधिवेशनमा ३७४ मतदाता रहेका छन् । आज नै उम्मेदवारमाथि दाबी विरोध र फिर्ता गर्ने कार्यक्रम रहेको थापाले बताए । भोलि बिहान ८ः३० बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ । १६ औँ अधिवेशनमा अध्यक्ष पदका लागि इन्जिनियर प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेदवारी दिएका छन् । तृतीय उपाध्यक्षमा गोपालबहादुर बस्नेत र नयन बराल, महासचिवमा पुष्पराज निरौला र ओम पौडेल भिड्ने भएका छन् । त्यस्तै, कोषाध्यक्षमा चन्द्र खत्री, यज्ञनिधि भुर्तेल र रमेश सेढाईं तथा सहकोषाध्यक्षमा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्म्दवारी दिएका छन् । त्यस्तै, सदस्यहरुमा मनोज उप्रेती, हेडम्बराज निरौला, अक्षयकुमार देव, रमेश भण्डारी, गंगाप्रसाद गौतम, रोशन कार्की, प्रविण कटवाल, ज्ञानबहादुर तामाङ, इन्जिनियर विवेक जवेगु, भरत भट्टराई, दिनेश मैनाली, उद्धव कुँवर, गोविन्दप्रसाद घिमिरे, आशिष बान्तवा र इन्जिनियर डालिम खड्काले उम्मेदवारी दिएका छन् । निर्वाचनबाट आठजना पदाधिकारी, एक महिलासहित ११ जना सदस्य चयन हुने प्रावधान छ ।