
दमक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवा प्रभावकारी ढंगबाट प्राप्त गर्ने अपेक्षालाई पूरा गर्न निजी क्षेत्रको सहभागिता बढाएर अगाडि जाने बताएका छन् । निजी क्षेत्रलाई व्यवस्थित गर्न सहकार्य जरुरी रहेको बताउँदै उनले सहकार्य गरेर अझ बढी व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध गराउने बताए ।
आइतबार उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रालिमा सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको उपस्थिति महत्वपूर्ण रहेको बताए । निजी क्षेत्रले थप विश्वासनीयता आर्जन गर्नका लागि कसरी आम नागरिकलाई विश्वासमा लिन सकिन्छ, कसरी, सस्तो र सर्वसुलभ तरिकाले सेवा दिन सकिन्छ भन्ने पक्षमा ध्यान दिनुपर्ने उनको भनाई थियो । यसबाट निजी क्षेत्रको स्वास्थ्य क्षेत्रमा उपस्थिति अझ महत्वपूर्ण बनेर जाने उनले बताए ।
अरनिको हस्पिटलले मोरङको विराटनगरबाहिर पहिलो पटक निजी क्षेत्रबाट सिटी स्क्यान सेवा सुरु गरेको हो । एकपछि अर्को सेवा थप गर्दै आएको अरनिको हस्पिटलले आधुनिक सीटी स्क्यान सेवा सुरु गरेको हो । ४ करोडको लगानीमा सिटी स्क्यान सञ्चालनमा ल्याइएको हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिए । यो सेवा सञ्चालन आएपछि अब अस्पतालमा सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । यो मेसिनको प्रयोगबाट एकै छिनमा गम्भीर चोट, रक्तश्राव वा ट्युमर पत्ता लगाउन सकिने, शल्यक्रिया नगरिकनै आन्तरिक अवस्था जाँच्न सकिने, हड्डीदेखि मस्तिष्कसम्म लगभग सबै अंगहरु जाँच गर्न सकिने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वरप्रसाद सिंह, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, नेपाली काँग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूलगायत अतिथि रहेका थिए ।
यसैगरी, फिदिमको फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । फालेलुङ ३ को नाम्लुवामा संघीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको अस्पताल भवनको उद्घान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गरे । अस्पताल भवन उद्घाटन गर्दै मन्त्री पौडेलले करोडौं खर्च गरेर निर्माण भएको भवनबाट नागरिकलाई भरपुर दिने वातावरण बनाउन लागि पर्ने बताए । मन्त्री पौडेलले स्वास्थ, शिक्षा र सडकको आधारभुत सुविधा नहुँदा गाउँहरू उजाड बन्दै गएको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले बनाउने नीती कार्यक्रममा आय मुलक कार्यक्रमलाई जोड दिन सुझाए । ‘स्थानीय सरकारले स्थानीय सापेक्षतामा आधारित रहेर उत्पादन मुलक निती बनाउनु पर्छ, गाउँगाउँमा आएका बाटो घाटो भएर बाहिर उत्पादन भएका
सामग्री ल्याउन भन्दा रैथाने वस्तु निर्यात गरेर नागरिकको आयमा वृद्वी गर्ने तर्फ लाग्नुपर्छ’ मन्त्री पौडेलले भने । टोल र वडा तह सम्मका स्वास्थ्य संस्थाहरूमा दरबन्दी र उपकरण पु¥याउन तीन तहकै सरकारको लागत साझेदारी अनिर्वाय रहेको उनको भनाइ थियो । ‘स्वास्थ्य संस्थाको सबलीकरण र दिगो सञ्चालनका सङ्घीय सरकार मार्फत् हामी डाक्टर र केहि उपकरण पठाउँछौं, प्रदेश सरकारले नर्स र स्थानीय तहले अन्य स्वास्थ्कर्मीको व्यवस्थापन गरुन, आवश्यक उपकरणमा पनि तीन तहकै सरकारको लागत साझेदारी होस, त्यसो भयो भने हाम्रा स्वास्थ्य संस्था सुदृढ हुन्छन्,’ मन्त्री पौडेलले थपे ।
फालेलुङ ३ नाम्लुवामा २०७८ साल देखि निर्माण सुरु भएको पाँच शैया अस्पताल हालै सम्पन्न भएको हो । भवन निर्माणमा संघीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड २ लाख ३ हजार १ सय १४ रुपियाँ खर्च भएको छ ।