सनातनी हिन्दुहरुका लागि माघ महिना धार्मिक आस्था र विश्वासको महिना हो । सनातनी महिलाहरुले यो महिनाभरि शुद्ध र चोखो मनले स्वस्थानीको ब्रत लिएर आफैमा धार्मिकता बोकेको छ । अर्कोतिर यहि महिना विभिन्न ग्रामिण भेगहरुमा सनातनी धार्मिक संघसंस्थाहरुले मेला, पुराण, महापुराण, अतिरुद्र पुराण जस्ता कार्य गरिरहेका छन् । यसले समाजलाई धर्मप्रतिको आस्था, विश्वास र भगवानप्रति लीन हुने अवसर समाजका विभिन्न उमेर समूहलाई जुटाउने गर्दछ ।
विभिन्न ठाउँमा हुने यस्ता धार्मिक कर्मले समाजलाई धर्मप्रति लीन गराउँछ भने नयाँ पुस्ता जसले धर्मप्रति अनास्था गरेका हुन्छन तिनीहरुलाई आस्थावन गराउने माध्यम पनि बन्ने गर्दछ । स्वस्थानीको ब्रत कथाले हरेक घरघरमा ऐतिहासिक धार्मिक कथासँगै धर्मको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । त्यसै पनि स्वस्थानीय महिमालाई मध्यनजर गरेर अविवाहित महिलाहरु महादेव जस्तै पति पाउने आशमा घरघरमा ब्रत बसेर कथावाचन गर्ने गरेका छन् । पावर्ततीको त्याग, ब्रतबाट महादेव प्राप्त भएको ऐतिहासिक धार्मिक कथासँग उनीहरुले आफ्नो जीवनलाई जोडेर उक्त ब्रत बस्ने गरेका छन् । विभिन्न नदीका तटमा बसेर स्वस्थानीय ब्रतसँगै माघ स्नान समेत गरिरहेका छन् ।
यता विभिन्न धार्मिक संघसंस्था तथा प्रतिष्ठानहरुले ठूला ठूला धर्म संरक्षण र सम्बद्र्धनसहित सांस्कृतिक तथा पर्यटकीय रुपमा धर्मलाई जोडेर काम अगाडि बढाएका छन् । यहि माघ महिनामा झापाको शंकराचार्यपीठ साधुटारले ठूलो सबैको भलोका लागि भनेर वैदिक विधिबाट बिस्तारित र विधिसम्मत महायज्ञ अतिरुद्रको आयोजना गरिएको छ । अतिरुद्रलाई शिव आराधनाको सर्वोच्च विधि वा स्वरुपका मानेर साधुटारमा सञ्चालन भएको छ । यो “अतिरु’’ महायज्ञले मानिसको पापहरू नाश गर्दछ र मोक्ष प्राप्त गर्न मार्गनिर्देश गर्दछ । यसले समाजमा शान्ति सुख र समृद्धि ल्याउँछ”– महर्षि वेदव्यास भनाईलाई पुष्टि गर्दै ईश्वरीय कृपा प्राप्ति हुने र सांसारिक कष्टहरु समाप्त हुने विश्वासका साथ लगाइएको छ ।
त्यसो यस्ता धार्मिक गतिविधिले त्यस क्षेत्रलाई पर्यटकीय सांस्कृतिक महत्व राख्ने गर्दछ । कोशी प्रदेश सरकारले धार्मिक, सांस्कृतिक, प्राकृतिक र ग्रामीण पर्यटनलाई प्राथमिकता दिने नीति अनुरुप पनि यस्ता धर्मिक गतिविधिहरु सहर र गाउँमा हुने गरेका छन् । कोशी प्रदेशका अन्य धार्मिक स्थलहरूसँग झापाका ऐतिहासिक देवस्थलहरूलाई जोडेर पर्यटन प्याकेज तयार गर्न सहज बन्ने, स्थानीय र बाह्य पर्यटकहरूको आगमन बढाउन यी पवित्र स्थलहरू समेटेर परिक्रमा– मार्ग निर्माण गर्न सकिने, देवस्थलहरूसम्म पुग्न सडक, खानेपानी, शौचालय र विश्रामस्थलहरूको निर्माण र जीर्णोद्धार गर्न प्रदेश सरकारको यो योजनाले सहयोगी भूमिका निर्वाह गर्ने हुनाले पनि यस्ता क्षेत्रलाई धार्मिक, सांस्कृतिक वर्यावरणीय पर्यटकको माध्यमबाट अगाडि बढाउन मद्दत पुग्ने छ । साधुटारसहित अर्जुनधारा, किचकबध, सताक्षीधाम, कृष्णथुम्कीसहितका देवस्थल अनि गुम्बाहरुलाई समेट्न सके सिंगो प्रदेशकै आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने देखिन्छ ।