स्थानीय स्तरमा परम्परागत रुपमा खाजाको रुपमा प्रयोग हुँदै आएको भाक्काको संरक्षण, प्रवद्र्धन र प्रोत्साहनका लागि पहिलो पटक दमक नगरपालिकाले भाक्का व्यवसायीहरुलाई एकै थलोमा उभ्याएर कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय स्तरका लोपोन्मुख जातिहरुले परम्परागत रुपमा मान्दै आएको रितिरिवाज, परम्परा र संस्कृतिको गजेर्नामा जिम्मेवार तह स्थानीय सरकार र अन्य सरोकारवालाहरुको कदमले उनीहरुलाई उत्साहित मात्र गर्दैन् व्यवसायिक बन्नेतर्फ प्रेरणासमेत प्रदान गर्दछ । न्युन लगानीमा विशेष गरेर बिहानको प्रतिकूल मौसमका बाबजुद पनि यिनीहरु स्थानीयबासीका लागि स्वास्थ्यबर्धक पकवान खुवाउन लागि परेका देखिन्छन् । आदिवासीहरुको मौलिक संस्कार र संस्कृतिको रुपमा प्रयोग हुँदै आएको भाक्काको प्रवद्र्धनमा पहिलो पटक नगरपालिकालको देखाएको उदारताले उनीहरुलाई थप प्रेरणा दिएको छ ।
पुस्तौ पुस्तादेखि भाक्कालाई खाजाको रुपमा खुवाउँदै आएका दमकका झण्डै ६ दर्जन बढी भाक्का व्यवसायीहरुका समस्या सुनेर, बुझेर उनीहरुलाई एकै थलोमा उभ्याएर भाक्काका लागि आवश्यक पर्ने सामग्री समेत प्रदान गर्नुले उनीहरुलाई निकै उत्साहित र प्रफुल्लित तुल्याएको छ । स्वास्थ्यवर्धक अर्गानिक खाजाको रुपमा प्रयोग हुने भाक्का व्यवसायको पहिचान, उत्थान र संरक्षणका लागि यस्ता कार्यक्रम फलदायी बन्ने गर्दछन । चामलको पीठोबाट माटोको हाँडीमा पानीको वाफबाट तयार गरिने भाक्का स्वास्थ्यवर्धक पकवानका रुपमा चिनिन्छन् ।
यस्तै अन्य विभिन्न जातजातिहरुका आआफ्नै संस्कार र संस्कृति अनुसारका परम्परा, रितिथिति, चालचलन रहि आएका छन् । सारोकारवालाले यस्ता विषयलाई बेला बेला उजागर गर्दै प्रोत्साहनका कार्यक्रम गर्न सकियो भने पक्कै पनि पुराना ‘कल्चर’ मरेर जान पाउने छैनन र नयाँ पुस्ताले समेत त्यसलाई अनुकरण गर्ने माध्यम पाउने छन् । यस्ता व्यवसायीलाई स्थान विशेषको सफासुग्घरको चेतना दिन सकियो र आधुनिक प्रविधिको प्रयोगमा तालिम दिए व्यवसायिक बन्नेतर्फ अग्रसर गरियो भने उनीहरुको जीवनको एउटा पारिवारिक समृद्धिको आधार बन्न सक्नेछ । पुराना पुस्ताको कर्मबाटै नयाँ पुस्ताले ज्ञान, शीप आर्जनमा महत्वपूर्ण योगदान पुगेको हुन्छ र त्यसलाई समाजमा उजागर गर्न स्थानीय सरकार र सारोकारवालाहरुको योगदान महत्वपूर्ण रहन्छ ।