देश–समाज राष्ट्रिय लेख विचार/वहस

निरासामय बन्दै गएको वर्तमान नेपालको राजनीति

बढादशै, शुभ दीपावली, नयाँ सम्बत, छैठ, महागुरु फाल्गुनन्द लगायतका पर्वहरु दुःख – साटेर बितेर गयो । योसङ्गै बाढीपहिरोले झनै दर्दनाक पीडाबोध दिएर गयो । आँसुका चित्कारहरु घुलमिल भएसङ्गै नेपाली राजनीतिले उलटपुलट भण्डाफोर गरेर अहिलेपनि राजनीति घिनलाग्दा परिवेश हामीसामु नाटक देखाइरहेको छ । यहीँ दृश्य र परिवेशको दोसाधमा रहेर परिश्रम गर्ने एउटा श्रमिक हिजोआज ज्यालादारीमा धान काट्दै देशको चिन्ता गरिरहेको छ । श्रमिकहरुलाइ चिन्ता छ देशको तर भ्रष्टाचारी, बिचौलियाहरुलाइ देशको रत्तिभर चिन्ता छैन । कालोबजारी गरेर कमाउनेहरु मालामाल छन, सेटिङ्गमा राजनीतिक ब्यापारगर्नेहरुको चादी कटाई छ, यतिबेला यहाँ यतिसम्म दलालहरुको बोलवाला छ कि एउटा सादगी जीवन बिताइरहेको कार्यकर्ताले सम्म बुझ्दैन सेटिङ्गमा चलिरहेको राजनीति ।
उनीहरूकै भरिया हुन्छ, शुभकामनाका कार्डहरु बाढ्छ, नेताहरुको प्रचारबाजी गर्छ, भट्टी पसल र चिया चमेना गृहमा । हामी यतिसम्म लालबुझक्कड छौं कि कालोलाई कालो भन्दैनौ, आफ्नै नेताले देशलाई बुरुण्डी बनाउन उद्द्त हुँदासम्म चु सम्म बोल्दैनौ किन ? देशलाई दोहन गरेर खान पल्केका धोकेवाज जो “र“ को एजेन्ट छ, उनैको प्रचारवाजी गर्छौ, हामी किन ? हाम्रा यिनै आँखाले ३६, ४६, ५१, ५८ लगायतका अन्य धेरै राजनीतिक घटना भोगेर आउँदा सम्म हामीमा कुनै परिवर्तनै छैन, कुनै गुन्जायसै छैन । हामा साधारण शुभचिन्तकहरु मारकाट गर्छौ, अर्काको घर आगो लगाइरहेका छौ, किन? हामीमा चेतना जागृत हुन सकेन, किन ? हामी जानीजानी बुझ पचाइरहेका छौं, किन ? गल्तीलाई गल्ती भन्न नसक्नु हामीमा कतिको ज्ञान रहेछ भन्ने स्पष्ट छ । यो कलमीले यसो भनिरहदा मैले युवाहरुमा निरासापन ल्याउन खोज्या चाहिँ पटक्कै होइन, नेपालको राजनीतिक जर्जर अवस्था देखेर बोलेको हु । मैले यो भनिरहदा कोहिकोहि राजनीतिक ठग र राजनीतिक ब्यापारीले ठाडो औंला तेस्याउँला, मैले यसमा भन्नू केही छैन । किनकि हामी त कलम चलाउने मान्छे सत्य – तथ्य उजागर गर्ने मान्छे, सहीलाइ सही गलतलाइ गलत भनेर छुट्ट्याउने मान्छे । हाम्रो कलमको मसी जीवनमा कहिले झुक्दैन, बिक्दैन, राजनीतिक तोडमोड गर्दैन, यथार्थ ओकलेको मात्रै हो । आजका युवाहरुले देशको यो अवस्था किन देखेनन, तिनै दलालीको लवेदा समातेर हिडदैछन, आज किन ? बिगतका पुरानो राजनीति विरासत सम्झना आइरहन्छ जनवादी गीतमा क्रान्तिका गीत लामबद्द भएर मादल र बासुरीमा परिवर्तनको गीत यही दमकदेखि गौरादह, गौरीगन्जसम्म गाएर हिडेको दिनहरु सम्झदा अहिलेपनि क्रान्ति उठेर मुटठी बटार्छ ।
आखिर हामीले क्रान्ति त गरियो मुक्तिका लागि, तर आज जनताले चाहेको गणतन्त्र क्षतबिक्षत भैरहेको छ किन ? हिजो नौलोजनवादी क्रान्तिका लागि लडेका घाइते, अपाङ्ग, सहिदहरुको रगत लतपत्याउने देशकै सिंहसानमा बसेर राजगर्नेले देश दोहन गरिरहदासम्म टुलुटुलु हेरेर बस्ने हामी देशघाती हौं, यो सम्म भन्न सक्दैनौ, हामी । हामीलाई वादले बेरेको छ, हामीले संजीवनी बुटी यतिसम्म सुघेका छौ कि हामीले आफैलाइ चिन्न सकिरहेको छैनौं । हिजोको राजनीतिक विरासत र आजको हेर्यौ न कुनै परिवर्तनै छैन । आफ्नै आँखाले देख्दासम्म हामी बोल्दैनौ किन ? सोचेभन्दा आकाश पातालको परिवर्तन त भएकै छ तर भ्रष्टाचार र बिचौलियाको बिगबिगीले देश दोहन भएको हामीले यो नेत्रले देख्दैनौ किन ? देखेपनि बोल्दैनौ, लुकाउछौ, योनै हाम्रो कमजोरी हो । आज देशमा सही दिशानिर्देश गर्ने नेताहरुको कमी, दुरदर्शिता नभएको नेता अनि बयोबृद्द नेताको हातमा सत्ताको चावी भएको हुनालेपनि देश सही दिशामा अघि बढनै सकेन ।
सत्ताको चावी आफ्नो हातमा पार्नका निम्ति बिदेशी प्रभुहरुको इशारामा नाच्नेहरुको बाक्लो उपस्थितिले पनि नेपाली राजनीतिले सही मेलो पक्रन सकेन । सानामसिना कुरामा अलमलिएर संसदभित्र बाझाबाझ गर्ने, मुल एजेन्डा कुन बिषयमा पक्रनुपर्ने र उठान गर्नुपर्ने सम्म नहुदा जनताले नेताहरूप्रतिको बिश्वास गुमाउन पुगे । देशमा शैक्षिक बेरोजगारी बढ्दो भो, प्लस टु उत्तीर्ण गर्ने बित्तिकै भाषा सिकेर तुरुन्तै बिदेश जानेहरुको बाक्लो भीड भयो । इन्जिनियर, चार्टेड एकाउन्टेन्ट, प्राविधिक धार लगायत उच्च शिक्षा आर्जन गरेकाहरु आफ्नो सर्टिफिकेट सिरानीमा राखेर बस्नुपर्ने बाध्यता आलोपालोमा बनेका सरकारहरुले गरे । रोजगार दिन सकेनन, योजनाको प्राथमिकतामा पारेका स्वरोजगारको सर्टिफिकेटका आधारमा दिनुपर्ने रकम युवाहरुको हातमा नपरेपछि झनै आक्रोश बढ्यो, उनीहरूमा उनीहरूलाई रोजगार दिलाइदिने जस्ता झुटा आश्वासनले गर्दा दिनप्रतिदिन युवाहरुमा बितृष्णा बढ्यो । जनताले नेताहरूलाई हेर्ने दृष्टि दुर बन्यो । संसद सचिवालयभित्र संसदहरुले देखाएका अमानवीय दृश्यहरुले गर्दा राजनीतिमा आस्था र बिश्वास राख्नेहरुमा निराशा जन्मियो । निराशा यतिसम्म बढ्यो कि नेताहरुले लेखेका आफ्ना बिचारहरुको कमेन्टमा कसैको पनि राम्रो कमेन्ट आएन । बिद्रोहको हुँकारले जन्मलियो । कति सभासदहरु अनेको काण्डमा मुछिएपनि कार्वाहीमा परेनन अहिलेपनी खुलेआम नेताहरु हिडिरहेका छन अनि जुन दलमा बिगतमा बसेका थिए नि त्यो दल त्यागेर ठूलो भाग खान अर्को दलको आगो ताप्न तयार भए ।
नेपालमा नाम कमाएका शीर्ष नेताहरुलेनै पार्टी परित्याग गरेर अर्को दलमा प्रवेश गरेर दलको प्रचारवाजी गर्न पुगे । हिजो त्यही पार्टी राम्रो थियो आज त्यही पार्टी नराम्रो भयो र लान्छना लाउन उद्दत बने । एकले अर्काको पुरानो विरासत भाषणमा पोख्न थाले टाउकाको मोल लगायत अनेकन काण्ड लागेको टिकाटिप्पणी गर्न पछि हटेनन । हिजो एउटै थलोमा राजनीति गर्नेहरु बिदेशी प्रभुको इशारामा लागेर यो भयो, त्यो भयो भनेर धारे हात लगाउनेहरुको लाम यतिसम्म लाग्यो कि मैले के बोल्नुपर्ने हो र गर्नुपर्ने दायित्व के – के भन्नेसम्म नहुदा सम्म राजनितीले लय पक्रन सकेन । सभा, सेमिनार, अधिवेशन, गोष्टिमा समेत राजनीति निशेध गर्नसम्म अघि परे, नेताहरू । देशमा बाढीपहिरोले गर्दा दुनियाँको बिजोग भयो, आज के खाउ भोलि के खाउ सम्मको चिन्तामा परे नेपाली दाजुभाइहरु कालोबजारी, भ्रष्टाचारले देश दोहन भइसक्दासम्म नेताहरु सत्ता र कुर्सी केन्द्रित राजनीतिले गर्दा देशमा आर्थिक अवस्था डामाडोल बनिसकेको अवस्था अहिलेको छ ।
चाडवाडसहित सकिएको यो समयमा यतिबेलापनि राजनीति खिचातानीमै बित्दो छ । राजनीतिको मियो राम्रो ब्यक्तिको हातमा परेन, परेपनि जनता केन्द्रित हुन सकेन, नेतामुखीमात्र बन्यो, बनेपनि मिलाउ खाउ, मोजमस्ती गरमै केन्द्रित बनिरहेको अवस्था छ, अहिले । यसको निकास अब कसले देला ? दिने नेतृत्व छ तर मुखै खोल्दैनन, बोल्दैनन, बोलेपनि सही बोल्ने कोहि नभएपछि अन्यौल ग्रस्त बन्न पुग्यो राजनीति, यतिबेला । अबको निकास सही दिशाबोध गर्ने युवाशक्तिहरुको हातमा पुग्न सकोस, घेराबन्दीमा परेको यो शान्तिको देश नेपालमा अशान्ति नफैलियोस ।

Author

You may also like