दमक/ सहज वातावरण भैदिएको भए यतिखेर काठमाडौंबाट गाउँ आउनेको संख्या १० देखि १५ लाख हुने थियो । एकातिर आर्थिक मन्दी भएको बेला त्यसमाथि अघिल्लो हप्ता आएको अविरल वर्षा पछि बाढीले देशका विभिन्न भाग क्षतविक्षत बनाएको अवस्थामा बाबजुद काठमाडौंबाट चाडपर्व मनाउन बाहिरिनेको संख्या बढ्दै गएको जनाइएको छ । पछिल्लो ५ दिनको तथ्याङ्क हेर्ने हो भने साढे ३ लाख बढी मानिसहरु गाउँ फर्केका छन् ।
वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाएर बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको बताइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको बताए । तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको उनले बताए । यहि अवधिमा विगतका वर्षमा १०÷१५ लाख मानिसले उपत्यका छोडिसकेका हुन्थे उनले भने । उनले भने–यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहने र वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ । केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ । प्राय फूलपातीको दिन र अघिल्लो दिनमा बाहिरिने संख्या बढ्ने गरेको छ,’ डिएसपी कार्कीले भने ।
अझैपनि कतिपय सडक पहिरोलगायतले अवरूद्ध छ । सुख्खा पहिरो खसेका छन् । पानी पर्ने सम्भावनाका पूर्वानुमान भइरहेका छन् । गत साताको बाढी, पहिरो र डुबानका कारण सहायक मार्गहरू मात्रै होइन, राजमार्गहरूको अवस्था पनि राम्रो छैन। धेरै सडक त दूरावस्थामै छन् । कतिपय राजमार्गहरू पूर्ण रूपमा बन्द छन् । यातायात व्यवसायी तथा सरोकारवालाहरूले भने बाध्यात्मक अवस्थामा बाहेक अहिले आवतजावत नगर्न आग्रह गरिरहेका छन् । बाध्य भए बाटोको अवस्था बुझेर मात्रै जान उनीहरूको आग्रह छ ।