दशैंको महत्वपूर्ण उपहार खानपिन पनि हो । घरमा भेला भएका परिवार र आएका पाहुनाको स्वागतका लागि खास गरी दशैं साकाहारी भन्दा मांसहारीमा बढी आकर्षित भएको हुन्छ । पकाएको खाना पाहुनाहरुले आहा कति मिठो खानेकुरा पकाउनु भएछ भनेर प्रशंसा आउने आनन्द र खुशीको कुनै सिमा हुँदैन । दशैं एक प्रकारले पोषणको पनि चाड हो । वर्षभरि कामको व्यस्तताले पोषणयुक्त खाना खान नपाइएको हुन सक्छ, तर दशैंमा परिपरिका मिठा, ताजा, पोषिला खाना खाइन्छ । दशैंले मानिसहरुमा शारीरिक शक्ति बढाउँछ ।
यद्यपि हिजो आज अनेकन प्रकारका रोगको शिकारमा मानिसहरु डुबिरहेको सन्दर्भमा मासुको स्वादमा पनि परिवर्तन आएको छ । कोलस्ट्रोल बढी भएको मासु मानिसले मन पराउन छोडेका छन् । खास गरी बोसोयुक्त खसी भन्दा बोकाको मासु मानिसहरुले रुचाउने गरेका छन् । यद्यपि मिठो र मसिनो खाने र रमाउने पर्वमा कस्को मन मान्थ्यो र ? तै पनि सचेत र सजगता अपनाएर आफ्नो स्वास्थ्यको ख्याल गरेर दशैंका परिकार खाइयो भने भोलि अस्वस्थताको कारक बन्न पर्दैन ।
दशैंको समयमा उत्सवमय वातावरण र रमाइलोका कारण धेरैजसोले आवश्यकता भन्दा बढी खाना खान्छन् । यसले पेटमा समस्या निम्त्याउन सक्छ । धेरै मासु र तेलजन्य परिकारहरू खाँदा ग्यास्ट्रिक समस्या, अम्लपित्त, र अपच हुन सक्छ । तसर्थ, खानाको मात्रा नियन्त्रण गर्न आवश्यक छ । सामान्यतया, सन्तुलित मात्रा र समयअनुसार खानाले शरीर स्वस्थ रहन्छ । कहिलेकाहीँ जथाभावी खाने बानीले लामो समयसम्म स्वास्थ्य समस्याहरूको जोखिम बढाउन सक्छ । तसर्थ, परिवारसँग खानपान गर्दा सावधानीपूर्वक मात्रामा खाना खानुपर्छ ।
अर्कोतिर पकाउने भान्सेले पनि धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । सफा र सुरक्षित वातावरणमा खाना पकाउनु जरुरी छ । खाना पकाउँदा हात राम्ररी धुने, सफा भाँडाकुँडा प्रयोग गर्ने, र ताजा सामग्री प्रयोग गर्नु अनिवार्य हुन्छ । सफा पानी प्रयोग गर्नु, सही तापक्रममा खाना पकाउनु, र बाँकी खाद्य सामग्रीलाई सुरक्षित तरिकाले भण्डारण गर्नुले खाद्य विषाक्तता र अन्य स्वास्थ्य समस्याहरूबाट बच्न सकिन्छ । विशेष गरी मासुजन्य परिकारहरू पकाउँदा पर्याप्त तापक्रममा पकाउने र त्यसलाई सफा ठाउँमा राख्ने बानीले स्वास्थ्यलाई सुरक्षित राख्छ । प्रोटिनयुक्त वस्तुले प्रोटिनले शारीरिक वृद्धि, मांसपेशी बलियो बनाउने, र प्रतिरोधात्मक क्षमता बढाउने भएकाले प्रोटिनयुक्त खाना खानु आवश्यक रहे पनि यसलाई सन्तुलिन बनाएर बनाउन र खान जानियो भने शरिर स्वस्थ रहन्छ ।