आज प्रत्येक बाबु आमाले आफ्ना नानी बाबुहरू युगसुहाउँदो वनुन । जस्तोसुकै कठिन परिस्थितिमा पनि गरिखान सक्ने हुन् भन्ने कामना राख्नु हुन्छ । राख्नु पनि पर्छ । बुझेर, नबुझेर, पुगेर, नपुगेर आफ्ना नानीबाबुको धेरै ईच्छा र आकांक्षाहरू पुरा गरिदिने कोशिश पनि गर्नु हुन्छ । तर राम्रो बनाउने नाममा कतिपय बाबुआमाले आफ्ना नानीबाबुलाई अनावस्यक नियन्त्रण र असुहाउँदो अपेक्षा पनि गरिरहनु भएको हो कि भन्ने आभास हुन्छ । नानीबाबुहरूलाई अभिभावकको सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियाको त्यतिकै आवस्यक पर्दछ भन्ने जानकारी नभएको हो कि भन्ने प्रतित हुन्छ । नानीबाबुहरूलाई कतिबेला प्रेत्साहन गर्ने र कस्तो अवस्थामा निरूत्साहित बनाउने भन्ने हेक्का नभएको हो कि जस्तो पनि लाग्छ । छोरा छोरीबाट भविष्यमा उच्च आकांक्षा राख्ने, राम्रो भएको देख्न चाहाने । तर आफ्नो आकांक्षा पुरा गर्ने तर्फको बाटो नअपनाउँदा नानीबाबुहरू विपरित दिशातर्फ मोडिन सक्ने प्रवल खतरा बढिरहेको देखिन्छ । यहाँ यसै परिवेशसंग मिल्ने कुनै बुबा र छोरीबीच भएको पटकपटकको सम्बादलाई उल्लेख गर्न सान्दर्भिक ठान्छु ।
एक दिन, विद्यालयवाट छोरी रमाउदै घर आइन् । आफूले विद्यालयमा प्राप्त गरेको पुरस्कार बुबाआमालाई देखाउन । छोरी बुबाको नजिकै पुगेर भनिन् “बाबा आज मैले अँग्रेजी र नेपाली दुवै विषयको हस्त लेखनमा प्रथम पुरस्कार पाएँ नि ।” बुबाले निरास भएजस्तो गरेर जवाफ दिए “खै छोरी राम्रो पढ्न पो पर्यो, यो लेख्ने काम त जस्ले पनि लेखिहाल्छ नि । आफ्नो उपलब्धीप्रति बुबाले देखाएको उदाशीनताले छोरीको मनमा पटक्कै उत्साह पैदा गरेन ।
समय बित्दै गयो विद्यालयले अर्को दिन गायनकला सम्बन्धी प्रतिष्पर्धा गरायो । तिनै छोरी प्रथम भईन । छोरी पुरस्कार बोकेर रमाउदै घर गइन् र बाबालाई खुशिको खबर सुनाइन् “बाबा ! विद्यालयमा आज भएको गायन प्रतियोगितामा म प्रथम भएँ नि ।” बाबाले जवाफ दिए, “गीत गाएर प्रथम हुनलाई स्कूल गइरहनु पर्छ र छोरी ? “उल्टो प्रश्न गरिदिए बुबाले । यसबाट पनि छोरीको मन दुःख्नसम्म दुःख्यो । तर प्रतिक्रिया जनाईनन्।
विद्यालयले पुनः खेलकुद कार्यक्रमको आयोजना गर्यो । विद्यायलयले आयोजना गरेको धेरै खेलहरू मध्ये सबै भन्दा बढी विधामा विजयी बनेर विद्यालयकै सर्बोत्कृष्ट खेलाडीको रूपमा पुरष्कृत भइन् उनी । उनलाई वधाई दिनेको धुईरो लाग्यो । विद्यालयका शिक्षकहरूले उनलाई फूल, माला र अवीर लगाएर विद्यालय परिसर घुमाए । उनको खुशिको सिमाले सगरमाथा छुन लागे जस्तो भयो । यो खुशिको खबर सुनाएर आफ्ना बुबाआमाबाट आर्शिवाद लिन दौडेर घर पुगिन् । छोरी रमाउँदै घर आएको देखेर यस पटक बुबा आफैले सोधे । “ए छोरी लौन आज स्कूलमा के तहल्का मच्याएर आयौ ? साह्रै खुशि छ्यौ नि ?” छोरीले खुशि हुँदै जवाफ दिईन् “बुबा आज म विद्यालयले आयोजना गरेको खेलकुद कार्यक्रममा धेरै खेल विधामा जितेर अब्बल दर्जाको खेलाडीको पुरस्कार पाउन सफल भएँ नि ।” बुबाले यो पुरस्कार प्राप्त गरेको घटनालाई पनि त्यति महत्वको साथ लिन चाहेनन् । उनले सोच्दै नसोची प्याच्च बोले, खेलकुदमा प्रथम भएर के नै होला र ?
अर्को पटक छोरीले विद्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएको ताजा खबर बुबालाई सुनाईन । बुबाले परम्परागत शैलिमा जवाफ दिए । “तिमीलाई मैले कति पटक भनिसकेँ, तिमीलाई विद्यालयमा राम्रो पढ्न पठाएको हो । यो नाना थरिको पुरस्कारले मलाई कुनै प्रभाव पार्दैन । राम्रो पढ्नु । अरू मलाई केही चाँहिदैन।” बुबाको यो रूखो तर थोरै सत्यता बोकेको जवाफले यसपटक भने छोरीले धेरै चित्त दुःखाएको अनुभूति गरिन् । उस्तै छोरी भए आफ्नो बुबाको निरन्तर हतोत्साही बनाउने वचनले उनले गलत निर्णय पनि लिन सक्थिन । तर यिनी व्यवहारमा पनि परिपक्व बन्दै गईरहेकी थिइन् । तसर्थ उनीबाट कुनै गलत निर्णय लिने काम भएन । बरू मनमा संझिईन् हो बाबाले म राम्ररी पढोस् भनेर नै राम्रो विद्यालयमा महंगो शुल्क तिरेर पढाउनु भएको छ । मैले पढाईमा ध्यान दिईँन, परीक्षामा राम्रो अँक ल्याउन सकिन भने मेरो बुबाको सपनामा तुषारापात हुनेछ, भन्ने ठानी अहोरात्र पढाईमा ध्यान दिन थालिन् । विद्यालयले वार्षिक परीक्षा सम्पन्न गर्यो । निर्धारित समयमा परीक्षाको नतिजा प्रकाशन भयो । नानीको मिहिनेत, बुबाप्रतिको सकारात्मक ईख र भविष्यमा केही गर्छु भन्ने सपना बोकेकी उनी त्यो वार्षिक परीक्षामा पनि प्रथम श्रेणीमा प्रथम भईन । यस पटक ती बालिकाले मनमनै संझिईन । आजको उपलव्धी भनेको चाँही मेरो बुबाले चाहाना गर्नुभएको उपलव्धी हो । यसपटक भने बुबाले मेरो उपलव्धी देखेर पक्कै पनि स्याबासी दिनु हुन्छ । उनी हर्षले प्रफुल्ल हुँदै बुबा छेउ पुगिन् र आफू परीक्षामा प्रथम श्रेणीमा प्रथम भएको खबर सुनाईन । बुबाले जवाफ दिए, पढाईमा राम्रो गर्लाउ भनेर त तिमी माथि यति खर्च गरेको छु । पढे पछि पास त भई हालिन्छ नि । तिम्रो जिपिए ४ (चार) आयो त ? छोरीले जवाफ दिईन । अँह जिपिए चार त आएन । बुबाले भने “अनि के फूर्ति गर्नु जिपिए चार पनि नआउने ?” यस्तो उपलव्धी प्राप्त गर्दा पनि बुबाको नकारात्मकता भरिएको जवाफ पाउँदा छोरीलाई गर्लम्म रूख ढलेर थिचे जस्तै भयो । उनले चारै तिर शून्य नै शून्य देखिन तथापी बुबालाई कुनै वचन फर्काईनन् ।
यो कथा सुन्दा सरल लाग्ला । कतिको जीवनमा हुबहू मिल्ला । तर कति दर्दनाक र मर्माहत छ यो कथा?
हाम्रो समाजमा आज कथामा उल्लेख गरिएको बुबा छोरीको संवाद संग मिल्ने मानिसहरूको संख्या अत्याधिक छ । पढ्नु पर्छ भन्ने बोध भएको तर पढाई केहो र यो के का लागि ? भन्ने भेउ नै नपाएकाहरूले, छोराछोरीलाई पढाएको कुरा कण्ठस्थ बनाउने र परीक्षामा त्यही ओकल्न लगाउने अनि परीक्षाको नतिजालाई हेरेर नानीबाबुको क्षमता आंकलन गर्नेहरूको बाक्लै उपस्थिति छ समाजमा । यस बारेमा हामी सबै अभिभावकले गम्भिर भएर सोच्नु पर्दछ कि हामी आफ्नो नानीबाबुहरू माथि के अपेक्षा गरिरहेका छौँ ? हामीले उनीहरूमाथि गरेको यस्तो व्यवहार माया हो? सद्भाव हो ? या नकारात्मक प्रवृति ? हामीले बुझ्ने कोशिस गरिरहेका छौँ त ? कतिपय बुबा आमाले आफ्ने नानी बाबुको ईच्छा, आकांक्षा र भावना बुझ्न नसक्दा नानीबाबुहरू आमाबाबुको सम्पर्कबाट टाढिन चाहान्छन् । टाढिईरहेका छन् । कतिपय नानी बाबुहरू आफ्ना अभिभावकमा सकारात्मक र युग सुहाउँदो सोचको अभाव भएको गुनासो गर्दछन् । आजको समाज नितान्त एकांकी भएर गइरहेको छ । एकातिर नेपालमा सन्तान बृद्धिको परम्परा रहर नभएर बाध्यतामा परिणत भएको छ । अर्को तिर भएको बालबालिकासंग आफ्ना बुबाआमाको सम्बन्ध बिग्रदो छ । यी अनेकन कारणले आज बिदेश जानेको संख्यामा अप्रत्यासित बृद्धि भईरहेको छ । यही कारणले हरेक बाबुआमाले आफ्नो नानीबाबुको क्षमता बुझौँ । चाहाना बुझौँ । उनीहरूको सफलतामा रमाउँ । उनीहरूलाई गलत निर्णय लिनबाट बचाऔँ । हामी उनीहरूको असफलतामा जति चिन्ता गर्छौँ, उपलव्धीमा पनि त्यति नै हौसला दिलाउँ । प्रोत्साहन गरौँ । उनीहरूसंग एउटा असल साथीको व्यवहार गरौँ ता कि उनीहरू पारिवारिक मायाले नै पनि देश छाडेर विदेशको कल्पना पनि गर्न नसकुन् ।
यस परिस्थितिसंग मिल्दो एउटा कथा जोड्न उचित ठान्छु । थोमस अल्वा एडिसन जो महान बैज्ञानिकको सूचिमा पर्दछन् । उनको क्षमता कति थियो ? के थियो को खोजी नगर्ने विद्यालयको अाँखामा, एउटा फटाहा विद्यार्थीको दर्जामा थिए उनी । सँधैजसो गुरूहरूको नजरमा खराब आचरण र निम्न स्तरको विद्यार्थीको गणनामा थिए । त्यसैले विद्यालय प्रशासनले एडिसनलाई त्यो विद्यालयमा अध्ययन गर्न नदिने । विद्यालयबाट निस्कासन गर्ने निर्णय गरि सो निर्णयको पत्रलिन एडिसनको आमालाई विद्यालय बोलाईयो । एडिसनको आमा अलिकति डर, थोरै सन्त्रास र विचलित अवस्थामा विद्यालय पुग्नु भयो । उहाँलाई पुरै थाहा नभए पनि संका थियो, म साधारण अवस्थामा विद्यालयमा बोलाईएको होईन भन्ने स्पस्ट थियो । किनकि यो भन्दा अघि पनि छोराको बारेमा विद्यालयबाट कैँयौ पटक गुनासाहरू आएका थिए । साँच्चिनै उहाँ विद्यालयमा प्रधानाध्यापकको सामुन्ने पुग्नासाथ आमालाई एउटा पत्र थमाईयो । पत्रमा लेखिएको थियो, तपाँईको छोरा अति बदमास भएको कारण उसलाई यो विद्यालयमा अध्यापन गराउन सकिन्न तसर्थ उसलाई अर्कै विद्यालयमा लैजानु होला।” आमाले पत्र पढिसक्नु हुँदा उहाँको अाँखा पुरै रसाए । आफूले टेकेको जमिन धस्सिएको अनुभूति भयो । गह्रूँगो छाति लिएर घर पुग्नु भयो । आमा घर पुग्नासाथ छोराले आफू अध्ययन गर्ने विद्यालयमा बोलाउनको कारण सोधे । आमाले आफ्नो चेहरालाई हँसिलो बनाउँदै जवाफ दिनुभयो । “बाबु हेडसरले भन्नु भयो “तिमी अत्यन्त तीक्ष्ण बुद्धि र विलक्षण प्रतिभा भएको वालक छौ रे, तसर्थ अबदेखि तिमीले तिम्रो पहिलो अध्ययन गरेको विद्यालयमा नपढेर नयाँ विद्यालय जानुपर्छ भन्नुभएको छ । पुरानो विद्यालय जानु र निर्धारित समयसम्म विद्यालयमा बस्न गाह्रो मान्ने एडिसनलाई विद्यालय परिवर्तनको कुराले अत्यन्त हर्षित बनायो । एडिसन विद्यालय फेरिएकोमा खुशि बने । उनी नियमित लिद्यालय जान थाले । पढाईमा सुधार भयो । यो क्रम निरन्तर अगाडि बढ्दै गयो । उनमा नयाँनयाँ खोजि गर्ने अभ्यास बढ्दै गयो र महान बैज्ञानिक बन्न सफल भए । समय बित्दै गयो । उनको जीवनमा सफलता नै सफलताले प्रवेश गर्न थाल्यो । यही समयमा उनको आमाको स्वास्थ्य अवस्था बिग्रदै गयो र उहाँ यस धर्तीमा रहनु भएन । आफ्नी आमा गुमाउनु पर्दा एडिसनलाई जति चोट लाग्यो त्यो भन्दा बढी चोट तब लाग्यो जव पुरानो विद्यालयले लेखेका चिठी जसलाई आमाले सच्याएर पढ्नु भएको थियो । र बाकसको एउटा कुनामा लुकाएर राख्नु भएको थियो । जहाँ लेखिएको थियो “तपाईको छोरो अत्यन्त बदमास छ । उ यस विद्यालयमा पढ्न योग्य नभएको कारण उसलाई विद्यालयबाट निष्कासन गरिएको छ ।”
यो पत्र पढी सक्दा एडिसनको मनमा सन्तापको हुरी चल्न थाल्यो । उनले आफ्नी मृत आमालाई हजार पटक संझन बाध्य भए । वास्तवमा आफ्नो सन्ततीको उज्वल भविष्य संझने आमाले छोरालाई गलत बाटोबाट सही बाटोमा हिँडाएर सफलताको शिखरमा उकाल्न सफल हुनुभएको थियो ।
अन्त्यमा मैले यहाँ जोड्न चाहेको कुरा हामी सबैले यस्ता आदर्शवादी र वास्तविकतामा आधारित कथाहरू अध्ययन गरौँ । सकिन्छ एडिसनको आमाको जस्तो उच्च विचार राखौँ। सकिन्न भने पनि नानीबाबुलाई सँधै हतोत्साही बनाऊने काम नगरौ । आफ्ना नानी बाबुहरू सँग सँधै आवस्यक दूरिमा बस्ने गरौँ । कहिलेकाँही बुझेर नबुझेर ठूलो भागको खोजिमा सानो भाग पनि डुब्ने संभावना बढी हुन्छ । त्यसैले सकारात्मक सोच राख्ने गरौँ आकांक्षा हामी सबैको अवस्य पुरा हुनेछ। अस्तु