दमक । ६७ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

तीन खम्बे अर्थनीति अन्तर्गत एक खम्बाका रुपमा रहेको सहकारीको महत्वलाई उजागर गर्दै सहकारीसंग सम्बन्धित संघ संस्थाको आयोजनामा कार्यक्रमहरु भएका छन् । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाइएको हो । प्रत्येक वर्षको चैत २० गते सहकारी दिवस मनाइँदै आएको छ ।

यसैबीच, झापा जिल्ला सहकारी संघले राष्ट्रिय सहकारी दिवसमा सहकारी विरोधीहरुकालागि भन्दै मंगलबार बिर्तामोडमा झ्याली सहित प्रदर्शन गरेको छ । बिर्तामोडमा हुने शक्ति प्रदर्शनका लागि पूर्वतर्फ सुगम पेट्रोल पम्प, पश्चिमतर्फ भगवानचोक उत्तर तर्फ महानन्दचोक, दक्षिण तर्फ बिर्ताबजार हँुदै मुक्तिचोक परिक्रमा गरी झाँकीसहित सिटी सेन्टरमा जम्मा भइ कार्यक्रम गरिएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको प्रमखु आतिथ्यता सम्पन्न कार्यक्रममा सहकारी अभियानका केन्द्रीय नेताहरुको सहभागितामा सहकारी व्यक्तित्व मिनराज कडेललाई सम्मान समेत गरिएको छ ।

सहकारी दिवसको कार्यक्रमबाट सहकारी संस्था विना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तीय साक्षरता, एकता र नेतृत्व विकास संभव छैन भन्ने सन्देश दिन र्याली सहितको कार्यक्रम गरिएको संघका झापा अध्यक्ष गणेश ढकालले बताए । सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने मुल नारा तय भएको अध्यक्ष ढकालले जानकारी दिए । पछिल्लो समय सहकारीमाथि भइरहेको आक्रमणलाई निस्तेज पार्न शक्ति प्रदर्शन गरिएको उनको भनाई छ । सदस्यको बचत सहकारी मार्फत सदस्यहरुलाई नै लगानी गरिएको कर्जा नतिर्न अराजक तथा स्वार्थ समूहले आर्थिक संकटकोे फाइदा उठाउँदै सहकारी संघ÷संस्थामाथि प्रहार गरिरहेकोले त्यसका विरुद्ध झापाली सहकारीकर्मी सडकमा आएको उनले जनाए । अध्यक्ष ढकालले गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डित हुनुपर्ने बताएका छन् । सहकारी दिवसको कार्यक्रम सम्पन्न गर्न अध्यक्ष ढकालको संयोजकत्वमा ५०१ सदस्य मुल समारोह समिति बनाइएको थियो ।

देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । सहकारीका झण्डै ६० लाख सदस्य छन् । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको उल्लेख छ ।

सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसङ्गतिका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको विश्लेषण गरिएको छ । आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बदनाम बनेर धेरै बचतकर्ता पीडित छन् ।

Author

You may also like