आज फाल्गुन शुक्ल पूर्णिमा अर्थात फागु पूर्णिमा । विभिन्न रङहरुको माध्यमबाट उत्सव मनाउने पर्व । मित्रता र भाईचाराको सम्बन्ध स्थापना गर्ने पर्व । आज होली पूर्णिमा, एक अर्काेमा विभिन्न प्रकारका रङ्गहरु दलेर रङ्गको माध्यमबाट प्रेम र आत्मियता बढाउँदै खुसीयाली मनाउने पर्व । आज होलीका दहन भएको दिन । होलीका दहन भएको खुसीयालीमा हर्षोल्लास मनाउन एक अर्काेलाई रङ र अबिर दलेर खुसीयाली मनाउने पर्व । यो पर्व फाल्गुन शुक्ल पक्षको अष्टमी तिथीका दिन विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिरलाई ठड्याएपछि होली पर्व सुरु हुुने र फाल्गुन शुक्ल पूर्णिमा दिन रात्रिको समयमा चिरदाह गरेपछि फागु पूर्णिमा समापन हुने मान्यता रहेको पाइन्छ । अष्टमी तिथीका दिनमा सुरु भएतापनि मानिसहरुमा पर्वको रौनकता र खुसीयाली चाहिँ पूर्णिमाकै दिन अर्थात समापन हुने दिन नै भएको पाइन्छ । त्यसैले यो पर्वलाई फागु पर्व भनिएको हो ।
यो पर्वलाई असत्य माथि सत्यको विजय भएको दिन, अधर्ममाथि धर्मको विजय भएको दिन, अन्यायमाथि न्यायको विजय भएको दिन, दुराचारमाथि सदाचारले विजय प्राप्त गरेको दिनको रुपमा समेत मनाइन्छ ।
यो होली पर्व नेपाल र भारतमा राष्ट्रिय पर्वका रुपमा मनाउने गरिन्छ । यो पर्वमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली खेल्ने चलन रहेको पाइन्छ । यसरी नै तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली खेल्ने चलन रहेको पाइन्छ । यस सम्बन्धमा विभिन्न पौराणिक धार्मिक मान्यताहरु रहेको पाइन्छ । ती धार्मिक मान्यताहरुलाई यहाँ चर्चा गर्न खोजिएको छ । एउटा धार्मिक मान्यता अनुसार बिष्णु भगवानका भक्त प्रल्हादलाई हिरव्य कश्यपुले मार्ने योजना बनाएर बहिनी होलिकाको प्रयोग गरेका थिए । होलिकाले ब्रह्माबाट आगोबाट नजल्ने बरदान पाएकी थिइन । होलिका र प्रल्हादलाई संगै आगोमा राखेर जलाउदा होलिकाको चाँही मृत्यु भएको र भक्त प्रह्लादलाई केही नभएकोले सत्यको पक्षमा रहेका प्रह्लादको जित भएको थियो । यो आगोमा जलाउने कार्य पूर्णिमाको रातमा भएको र त्यसको भोलिपल्ट सबै भक्तहरु भेला भएर होली मनाएको प्रसङ्ग शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । होलिकाले आफुले प्राप्त गरेको बरदान गलत ठाउँमा प्रयोग गरेकाले उनी आगोमा जलेर भष्म भएकी हुन भन्ने कुरा कथाहरुमा पाइन्छ । जे होस, भक्त प्रह्लादले सत्यमाथि विजय प्राप्त गरेको र असत्यलाई साथ दिने होलिकाको नास भएको खुसीयालीमा यो पर्व मनाइएको हो ।
होली पर्व मनाउने सम्बन्धमा अर्काे पनि धार्मिक मान्यता रहेको छ । द्वापर युगमा कंशले कृष्णलाई मार्नकालागि पुतना नाम गरेकी राक्षसलाई पठाएको र पुतनाले धेरै बालबालिकालाई दूध चुसाएर मारेको र भगवान कृष्णलाई दूध चुसाउदा कृष्णको शक्तिले पुतनाको बडेमाको शरीर भूँइमा ढलेको र पुतनाको मृत्यु भएको र पुतनाको त्यो बिशाल शरीरलाई जलाएर भष्म भएको । यो घटनामा ब्रजबासीहरु अत्यन्तै खुसी भएको र उक्त खुसीयालीमा नाँच्दै, गाउदै, एक अर्कामा रङ दलेर होली मनाएको कथा प्रसङ्ग पनि रहेको पाइन्छ ।
यसरी नै होली सम्बन्धि अर्काे पनि पौराणिक प्रसङ्ग रहेको पाइन्छ । जब सतिदेवीले यज्ञकुण्डमा हाम फालेर देह त्याग गरिन, त्यसपछि सतिदेवीको मायाले बिक्षिप्त बनेका महादेवलाई कामदेवले कामबाण प्रहार गर्दा शिवको तेस्रो नेत्र खुल्न गएको र कामदेव त्यो नेत्रबाट निस्केको अग्नि ज्योतीबाट भस्म भएको । कामदेवकी पत्नी रतीले अत्यन्तै दुखित भई बिलाप गरेको, देवताहरुले पनि कामदेवलाई बचाउन बन्दना गरेकोले पुन कामदेवलाई श्रीमहादेवले जीवित बनाई दिएको प्रसंग छ । यो खुसीमा देवताहरुले रङ ,अबिर दलेर खुसीयाली मनाएर रङको होली खेलेको प्रसङ्ग उल्लेख गरेको पाइन्छ । यिनै धार्मिक मान्यताको आधारमा फागु खेल्ने तथा होली खेल्ने चलन चल्दै आएको पाइन्छ । यो फागु पर्वको बारेमा हिन्दु धर्म शास्त्रमा पनि उल्लेख गरेको पाइन्छ । हिन्दु धर्मग्रन्थहरु महाभारत, रामायण, लिङ्ग पुराण, बराहपुराण आदि शास्त्रहरुमा समेत यो पर्वको बारेमा वर्णन गरिएको पाइन्छ । त्यसैले यो पर्वलाई शास्त्रीय पर्व पनि भन्ने गरिन्छ ।
फागु पूर्णिमाको दिन देशका विभिन्न ठाउँमा मेला पनि लाग्ने गर्दछ । मेलामा हजारौ मानिस भेला हुने, आवस्यक सामाग्री किनमेल गर्ने, साथीभाई, ईष्टमित्रसंग भेटघाट गर्ने काम हुन्छ । त्यसैले सो दिन मेला भर्ने र मनोरञ्जनात्मक खेलहरु खेल्ने काम गरिन्छ र भोलिपल्ट खुसीयाली मनाउदै रङ, अबिर एक अर्कालाई दलेर रमाइलो गरिन्छ ।
यो पर्व खुसी साट्ने पर्व भएकोले केटाकेटी,युवायुवती,बुढापाका सबैजना रमाएर होली खेल्ने गर्दछन् । केटाकेटीहरु साना साना पिच्कारीमा रङ मिसाइएको पानी भरेर एक अर्काेलाई हान्ने गर्दछन् भने युवायुवतीहरु रङ दलेर अनुहार नै चिन्न नसक्ने भएर, समूहमा हिड्ने, रमाईलो गर्ने गर्दछन् । शहर वजारतिर त ठाउँ ठाउँमा साउण्ड सिस्टम राखेर होलीका गीत बजाएर सामूहिक नृत्य पनि गर्ने गर्दछन् । साँच्चै युवा युवतीहरुले यो होली पर्वलाई एउटा ठूलो चाडको रुपमा मनाएको पाइन्छ ।
अझ तराईतिर त केही जातिहरुले भाङको लड्डु खाएर सबै काम, क्रोध, मोह, चिन्ता बिर्सेर एक दिन बिन्दास भएर जोगीरा सरररररर भन्दै हिड्ने गरेको पाइन्छ । ‘आज हामी एउटा जोगी जस्तै भएका छौ । आज हामीलाई घरव्यबहारको कुनै चिन्ता छैन । आज हामी स्वतन्त्र छौं, हामीलाई कुनै कामले रोक्न सक्दैन, हामी साथीहरुसंग रमाईलो गर्न र होली खेल्न हिडेका छौं’ भन्दै खुल्ला रुपमा रङगीचङ्गी भएर हिडेको देख्न पाइन्छ ।
यसरी यो पर्वको अर्काे बिशेषता के छ भने यो पर्व सबै जातजाति, धर्म, सम्प्रदायका मानिसहरुले मान्ने गर्दछन् । होली खेल्ने प्रकृया फरक फरक भएपनि यो पर्व भने सबैले मान्दछन् । कसैले मिठा मिठा परिकारहरु बनाएर, कसैले भाङ्ग मिसाइएका लड्डु, मिठाईहरु खाएर, कसैले रातो अबिरको टीका मात्र लगाएर र कसैले रङ्गीचङ्गी रङ खेलेर धुमधामसंग यो पर्व मनाउछन् । कसै कसैले त पूर्णिमाको व्रत लिएर यो पर्व मनाएको पनि पाइन्छ ।
यस्तो राम्रो, एक अर्काेमा सद्भाव राख्ने, मित्रता बढाउने, सबैसंग रमाएर खुसीयाली मनाउने पर्वलाई अहिले बिकृतिको रुपमा विकास हुँदै गएको पाइन्छ । बाटोमा हिड्ने जो कोही अपरिचित व्यक्तिलाई पनि लोला हान्ने, रङ छ्याप्ने, कसैको ईच्छा बिपरीत रङ दल्ने, होहल्ला गर्ने अनावश्यक मुखुण्डाहरु लगाएर हिडने, मादक पदार्थ खाएर हिड्ने आदि कार्यले समाजमा यो पर्वप्रति बितृष्णा उब्जाएको पाइन्छ । जसले गर्दा समाजमा नकारात्मक असर पर्न जान्छ । यस्तो बिकृति हटाउन होली पर्वको वास्तविक महत्वको बारेमा जानकारी गराउनु पर्छ । होली पर्व सबैको साझा पर्व हो, यो पर्वलाई मर्यादित बनाउनकालागि सबैको एकमत हुनु पर्छ । त्यसैले यो होली पर्वलाई सद्भाव कायम गर्ने पर्वकोे रुपमा, साथीभाईसंगको मित्रताको नातालाई अझ कसिलो बनाउने पर्वको रुपमा र खुसीयाली मनाउने पर्वको रुपमा मनाउनु पर्छ । जसले गर्दा समाजमा सद्भाव, मित्रता र भाइचाराको सम्बन्ध कायम गर्नकालागि राम्रो सन्देश जान सकोस ।
जय फागु पूर्णिमा । शुभ रहोस होली पर्व ।
दमक–८, झापा