अपराध

हजुरआमाको हत्या अभियोगमा चारजना पक्राउ

गौरादह, २ चैत्र। झापाको गौरादहमा हजुरआमाको हत्या अभियोगमा नातिसहित चारजना पक्राउ परेका छन् ।

गौरादह नगरपालिका ७ मा ८२ वर्षीया हजुरआमा नरमाया विकको हत्या गरेको आरोपमा नाति सहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौरादह ७ का १७ वर्षीय धीरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए । उनका अनुसार फागुन २५ गते राति हजुरआमा नरमायाले पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धीरजले अन्धाधुन्द रड प्रहार गरेका थिए । आक्रमणबाट ज्यान गुमाएकी हजुरआमाको शव नाति धीरजसहित चारै जनाले मिलेर घर नजिकैको ग्वालीमा गाडेका थिए । पक्राउ परेका अभियुक्त धीरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै मृतकका छोरा रमेशले बुधवार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए । उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

Author

You may also like