अपराध देश–समाज समाचार स्थानीय

झापामा तीन दर्जन बढी बालयौन दुरुपयोगका घटना सार्वजनिक

दमक/ झापामा पछिल्लो समय बालयौन दुरुपयोगका घटनामा वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना बालयौन दुरुपयोग भएको झापामा चालु आर्थिक वर्षमा अहिलेसम्म ९ वटा घटना भईसकेको तथ्याङ्क सार्वजनकि गरेको छ ।
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा झापामा बालयौन दुरुपयोगका घटना बढेको तथ्यांक सार्वजानिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८०/२०८१मा ३१ बटा बाल यौन दुरुपयोगका घटना भएका छन् भने चालूआर्थिक वर्षको हालसम्म बालयौन दुरुपयोगका नौ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार झापामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका घटना रोक्न प्रहरीले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जबरजस्ती करणीका एक सय सात वटा, जवरजस्ती करणी उद्योगका २४, बहुविवाह २६, मानव बेचबिखन एक, अप्राकृतिक मैथुन एक, गर्भपतन एक, बालयौन दुरुपयोग ३१, जातीय छुवाछूत दुई, र कर्तव्य ज्यान सातवटा घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
झापामा…..त्यस्तै चालूआर्थिक वर्ष २०८१/०८२ मा ४८ वटा जवरजस्ती करणाीका घटना भएका छन् भने जबरजस्ती करणी उद्योग दुई, बहुविवाह तीन, बाल विवाह एक, मानव बेचविखन एक, अप्राकृतिक मैथुन दुई, बालयौन दुरुपयोग नौ, कर्तव्य ज्यान तीन, भवितव्य ज्यान १३ र आत्महत्याका १५ वटा घटना भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान मंसीर २४ गतेसम्म झापासहित देशभर सञ्चालन भइरहेको छ । खुल्ला सीमाना कारण झापामा मानव बेचबिखन लगायतका घटनाहरु चुनौतिका रुपमा रहेको प्रहरीले जनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विभिन्न संघ–संस्था, राजनीतिक दल, जनप्रतिनिधि लगाायतसंग सहकार्य गर्दै अपराध नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
उनले पूर्वाञ्चलसँग कुरा गर्दै भने– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा मात्र होइन जिल्ला प्रहरी कार्यालय झापाले हरेक दिन विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । उनले समाजमा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग आवश्यक रहेको भन्दै कुनै आपराधिक गतिविधि भइरहेको थाह भए तत्काल प्रहरीलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।

Author

You may also like