कला/साहित्य/संस्कृति मुख्य

नेतासंगै जनता सचेत हुनु पर्छ : हरिवंश

दमक, ०१ चैत्र । चैत्र ९ गतेबाट प्रदर्शनमा आउने निधो भएको नेपाली हास्य कथानक चलचित्र ‘महाजात्रा’ का मुख्य पात्र प्रसिद्ध कलाकार हरिवंश आचार्यले चलचित्रमार्फत नेतासंगै जनतालाई सचेतता प्रदान गर्न कोशिस गरिएको बताएका छन् ।

‘महाजात्रा’ को प्रचार प्रसारका क्रममा बुधबार दमकका आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने ‘हाम्रो चलचित्रले देश हाँक्नेहरु सच्चिउन् अनि त्यसमा जनताहरु समेत सचेत बन्नुपर्छ भन्ने सन्देश दिनेगरी हास्यशैलीमार्फत प्रस्तुत गरेका छौं । को कति सच्चिने ÷नसच्चिने उहाँहरुकै हातमा छ ।’ नेपाल चलचित्र संघका केन्द्रीय सदस्य एवं पाथीभरा हलका प्रवन्धक चैतन्य बरालको संयोजनमा सम्पन्न कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता एवं कलाकार रविन्द्रसिंह बानियाँले पनि जनताकालागि सचेतना आवश्यक रहेको उल्लेख गरे । उनले भने ‘अव जनता सचेत भएर देशको अवस्था सुधार्नु आवश्यक छ । त्यस कुरामा यस चलचित्रले सहयोग पुर्याउला भन्ने अपेक्षा लिएका छौं ।’ उनले साढे ३ करोडको लगानीमा निर्मित चलचित्र प्रदर्शन गर्ने पक्षबाट देशविदेशमा गरी ३ करोड रकम उठिसकेको जनाए । उनले देश र विदेशमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाए । सो टोलीले चलचित्र प्रचार प्रसारका क्रममा बुधबार साँझ ‘कमेडी च्याम्पियन’को टिमसँग बिर्तामोडमा कार्यक्रम गरेको छ । बिहीबार इटहरीमा पनि त्यसखाले कार्यक्रम हुनेछ । चैत ९ को प्रदर्शनकालागि चैत ६ मा काठमाडौंमा प्रिमियर शो गर्ने टुंगो भएको र बिर्तामोडमा समेत त्यस्तो शो गर्ने सोच बनाउँदै गरेको बानियाँले जनाए । पत्रकारसंगको भेटघाटमा आचार्य, बानियाँकासाथै नायिका वर्षा राउत, रविन्द्र झा सहितका कलाकार टोली उपस्थित रहेको थियो ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा नेताको कालो धन लुकाउन बेरोजगार युवाहरुलाई कसरी प्रयोग गरिन्छ भन्ने पाटो रोचक शैलीमा देखाइएको छ । चलचित्रका मुख्य कलाकारमध्येका विपिन कार्की भनें पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्रका निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल छन् ।

प्रदीप र रविन्द्रको सहकार्यमा पहिले ‘जात्रा’, ‘जात्रैजात्रा’ हुँदै हाल ‘महाजात्रा’ आइपुगेको हो । यो जात्राकै शृंखला हो । बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने संघर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष चलचित्रमा रहेको उल्लेख छ । उल्लेखित कुराहरू सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतिमार्फत पर्दामा ल्याइएको निर्माण पक्षले उल्लेख गरेको छ ।

Author

You may also like