लेख विचार/वहस

दलहरुले बिर्सिएको जनयुद्ध दिवस

-ओमप्रकाश गौतम

उ हिजो रातो क्रान्ति बोकेर आयो

न दिन, न रात, न भोक, न शोक

सबै त्यागेर आयो

मुक्तिकामी नेपाली जनताको आवाज बोकेर आयो

सर्वहाराकृत गरिब किसानहरुको मुक्तिका लागि लड्यो

परिवार त्याग्यो देशमा आमुल परिवर्तनका निम्ति

जानेर , बुझेर , गुनेर पनि उसले ‘जनयुद्ध’ चाहेको होइन

देशमा लुटतन्त्र , भ्रष्टाचार , बेरोजगारी अन्त्यका निम्ति

उसले लडाइँ लडेको थियो

भित्रभित्रै साम्राज्यवाद र विस्तारवादका नायकसँग

देशका सिमाना बेच्ने प्रभुहरुलाई घुँडा टेकाउन

उ अनवरत रूपमा युद्ध भूमिमा मोर्चाबन्दी गर्दै

प्रतिक्रियावादीहरुको समुल नष्ट बनाउन कालो रातसँग

सामन्तहरुको सुराकी, चलखेल, मोर्चाबन्दी गर्नेसँग

कहिल्यौ झुकेन, कहिल्यै सम्झौता गरेन

बरु आमाको सपना पूरा गर्न लागिरहयो

सङ्गीनले रोपेका डोबहरु उप्काउदै अघि बढिरह्यो

जनयुद्धको संखघोष गर्यो

सदाका लागि एकतन्त्रीय राज्यसत्ताको बङ्कर तोड्यो

तर, अझैपनि पुरानो विरासत भत्किएको छैन

‘जनयुद्ध दिवस’ मनाउन उ अझै हतारो गर्दैन

किनकि,

जनयुद्धको गरिमा नबुझ्नेहरुलाई

उ अझै सङ्खघोष गर्दैछ ….?

प्रत्येक वर्ष मनाइँदै आएको दिवस हो जनयुद्ध दिवस । यो दिवस नेकपा माओवादी (केन्द्र ) ले मात्र होइन, यो दिवस सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुले सकारात्मक कुरा गरेर होस् या नकारात्मक कुरा गरेर होस् यो दिवस यसपाली पनि मनाइयो । गत मंगलवार फागुन १ गतेका दिन नेकपा माओवादी ( केन्द्र) र क्रान्तिकारी कम्युनिस्ट पार्टीले काठमाण्डौ लगायत देशभर २९ औं जनयुद्ध दिवस भव्यताकासाथ दीप प्रज्वलन सहित मनायो । यो मनाउने अधिकार उनीहरुकै छ । तर टीकाटिप्पणी भने सर्वत्र चल्यो । कतिले यो कालो दिवस भने, कतिले ज्यानमाराहरुको दिवस भने । भन्नेले जे भनुन यो दिवस हामी कलमजीवीहरुको नजरमा एउटा घाउ थियो । जुन घाउको राप र तापले नेपालमा एकतन्त्रीय राज्यसत्ताको बङ्कर ढलेर अहिले उनीहरुकै उत्सर्गमा होली खेलिरहेका छन , गणतन्त्रप्रेमीहरु । यहाँ यसो भनिरहँदा यो कलमीलाई कुनै दलको संजीवनी बुटी सुँघेर हिड्नेहरुले आरोप लाउलान् । तर उतिबेलाको जनयुद्धको राता मान्छेहरुको समिपमा रहेर युद्ध देखेको हो र भोगेको पनि हो । यहाँ यसैको फल खान रमाउनेको जमात र रुख देख्दा झोँक उठ्ने थुप्रै व्यक्तिहरु छन् जो गणतन्त्र, समावेशीताको स्वाद मज्जैले लिएका छन् । आज तिनै ब्यक्तिहरु जनयुद्धलाई अहिले पनि नुन चुक दल्दैछन् । हिजोका दिनमा र अहिले पनि देश दोहन गरेको उनीहरूलाई सम्झनामा छैन । हिजोका राता मान्छेहरुको कालो रातले ल्याएको गणतन्त्रको बिजारोपण गर्नेहरुलाइ आज धारेहात लाउँदैछन् । अनि डराइ – डराइ हजारौं हजारको लाइनमा भागिभागी भाषण गरिरहेका छन् । तर जनयुद्ध शब्द उनीहरु उच्चारण गर्न समेत अघि बढिरहेका छैनन्, यो दुःखद कुरा हो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुङ्गिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्यो , बैठकमा प्रचण्डले भने हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने बेलासम्म सम्मान नै गर्छौ । तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन भनिसकेका छन् । उनले यो भनिरहँदा हिजो माओवादीले नेपालमा सशस्त्र विद्रोह गरेको दिन फागुन १ गतेलाई सरकारले ‘जनयुद्ध दिवस’ का रूपमा मनाउने घोषणा गर्दै ०७९ फागुन १ गते प्रचण्डकै सरकारको नेतृत्वले ‘जनयुद्ध दिवस’ मा सूचना जारी गर्दै बिदा दिएको थियोे । त्यो बेला एमाले र माओवादी सरकारको नेतृत्वमा थियो । त्यतिबेला नेपाली कांग्रेसका संस्थापन इतर र एमाले पार्टीभित्रका धेरै नेताहरूले राजनीति रङ्ग भरे । यस्ता शब्दहरु आफ्नो फेसबुक पेजमा रंग्याएकी, त्यो भनेर साध्य छैन । उनीहरूले बोलेका र भनेका शब्द सुन्ने हो भने उतिबेलै द्वन्द्व चर्किने निश्चितप्रायः थियो । तर माओवादी र तिनका नेतृत्वहरु चुप लागे, बोलेनन । उनीहरूले यो बुझेनन् कि जनयुद्ध र त्यसको जगमा विकसित जनआन्दोलन लगायतका सबैखाले जनक्रान्तिको सम्मानको लागि नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको रूपमा मनाउने र सार्वजनिक विदा दिने निर्णय थियो ।

आज अकास्मात त्यो पनि बन्द भएको छ । उतिबेलैदेखि सबै दल र नेताहरुको चर्चाको विषय हिजोपनि थियोे र आजपनि छ । त्यो विषय भनेकै ‘जनयुद्ध दिवस’ हो । कति नेता यो शब्द सुन्नै मनपराउदैनन् । यसको उत्सर्गले अहिले कस्तो भोगबिलासको साधन अपनाउन पाइयो । कति भ्रष्टाचार गर्न पाइयो, गाडीघोडा, बङ्गला जोड्न पाएका छौँ भन्ने प्रतित छैन उनीहरूलाई । यो शब्द मन नपराउन अनेक नाम जोडिरहेका छन् । एकता हुँदासम्म यो माओवादी पार्टीलाई भोट दिन हुन्न, यिनीहरू यो हुन, ऊ हुन भनेर नाम राख्ने स्वयं अहिले सरकारको नेतृत्व गरिरहेको छ नेपाली कांग्रेस । बाहिर प्रकट गर्दैनन्, तर भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । वास्तवमा जनयुद्ध माओवादीहरुले नगरिदिएको भए तत्काल राज्यसत्ताले उनीहरूको माथमथिङ्गल खरानी बनाइदिने थिए भन्ने सोच किन नपलाएको हो ? हिजो माओवादीहरुसँग गरेको हरेक मोर्चाबन्दीमा आज किन तालमेल पुर्याउन सकेनन् नेपाली कांग्रेसका शीर्ष नेताहरुले ? किन जनयुद्ध सम्बन्धि अनेक चालबाज, कुत्सित षड्यन्त्र मात्रै चलाइरहेको छ ? हिजो जे हुनु भै गयो शान्ति प्रक्रियापछि मेलमिलाप भएकै हो । सबैलाई सहानुभूति प्रकट गरिदिएकै हो । तापनि किन यो शब्दबाट दलहरु तर्सिरहेका छन् । माओले हिजो भनेका थिए – ‘दर्शनलाई जनताका बीचमा पुर्याउ ।’ तर खै कहाँ पुग्यो माओवादको दर्शन ? यतिमात्र होइन सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको हस्तक्षेपबाट नेपाललाई जोगाउँदै नेपाली क्रान्तिलाई नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादसम्म पुर्याउन गरिएको जनयुद्ध नेपाली मौलिकतासहितको थियो या थिएन त्यो सम्म माओवादीहरुले आफ्ना कार्याकर्तालाई बुझाउन भने नसकेकै हो । कम्युनिस्ट राजनीतिलाई समाज रुपान्तरण , सामाजिक न्याय, श्रम, उत्पादन, सभ्यता र विज्ञानसँग जोड्न सक्ने वैचारिक आधार जनयुद्धले तयार गरिदिएको हो भन्ने चेत छैन सम्पूर्ण दलहरुमा ।

खाली ( जनयुद्ध, जनयुद्ध, जनयुद्ध ) शब्दमाथि घण्टौंसम्म खैरो खनेर फेरि जनयुद्ध फर्काउने काम भइरहेकोले सबै सजग हुन जरुरी छ । हिजोको जनयुद्धको उपलब्धि संस्थागत गर्न सबै दलहरु जुटनुपर्छ, हातेमालो गर्नुपर्छ ।

‘जनयुद्ध दिवस’ यानेकि जनताहरुको वीरता, उत्सर्ग, बलिदानले ल्याएको दिवस हो यो । मुखले युद्ध त गर्छु भन्ने तर लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ति माक्खो नमार्नेहरु आज जनयुद्धको पहिलो व्यक्ति मै हँु भनेर हवाला दिइरहँदा लाखौं – लाख कलमहरुको नीव उनीहरूको दीवास्वप्न विरुद्ध चल्न तयार भएका छन् । हिजोको क्रान्ति, वीरता, साहस र गोपनीयताको आँधीबेहेरीले गर्दा देशमा आमुल परिवर्तन भएको हो यसको सबैभन्दा ठूलो भूमिका तिनै हिजोका सहिद जो क्रान्तिमा लडेका थिए, उनैको हो । जो घरपरिवार त्यागेर , जीवनदान दिनका निम्तो लडेको, भिडेको शक्ति थियो । कम्युनिष्टले अहिलेको पूँजीवादलाई बदल्न सक्नुपर्छ । आजको विश्व वहुध्रुवीय मात्र छैन, अन्तर सम्बन्धित र भूमण्डलीकृत पनि छ । यो उत्तर आधुनिकवाद, लोकपृयतावाद र शून्यवादको मूल्य , मान्यता, संस्कृतिको माध्यमबाट मानव जाति र प्रकृतिमाथिको समग्र हस्तक्षेप सहितको शोषण आज भएको छ । अब पुरानो विरासत भुलेर हिजो सशस्त्र क्रान्ति गरेर नेपालमा गणतन्त्रको विजारोपण गर्ने हाम्रा क्रान्तिकारी योद्धाहरुको उत्सर्गलाई अनेकन आरोप नलगाइ सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एकजुट हुन जरुरी छ । मिसन ‘८४’ ले तपाईंहरुले आजसम्म गरेको कामको सुक्ष्म मूल्यांकन गरिरहेछ । सबैलाई चेतना भया । आउ मिलाउ तिम्रा स्वरहरु , आउ मिलाउ तिम्रा हातहरु ।

Author

You may also like