मानव इतिहासमा तानाशाह वा सामन्तबाट प्रताडित र सताइएका आम जनमानसको लामो फेहरिस्त भेट्टाउन सकिन्छ । सत्ता र स्वार्थको लागि आप्mनो विवेक गुमाएर हजारौं, लाखौं मानिसहरुको हत्या र नरसंहार गराएका घटनाहरुको जिवित साक्षी कदाचित आज पनि भेट्टाउन सकिन्छ । व्यक्तिगत सुखसयल, आनन्द प्राप्तिका लागि सहभोज गर्ने र प्रभुत्वशाली वर्ग, समूह वा नेतृत्वसँग हो-मा हो मिलाउदै आफू भन्दा दुर्बल, असहाय, कम सँगठित र कम साहसीहरुको सर्वनाश गराउने खेल विश्वको जुनसुकै देशका जस्तो सुकै ठाउँमा पनि सामान्य घटना जसरी नै हुने गर्दछ । दुईवटा देशका सरकारबीच सीमा सम्बन्धी विवादहरुमा ठूलो जनबल परिचालन गरेर राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको विषय बनाई युद्ध क्षेत्रमा आप्mना सुसज्जित र संगठित सैन्यबल पठाएर एक अर्कामाथि घातक भन्दा घातक अस्त्र शस्त्रहरुको प्रयोग गर्नु र शत्रुदेशलाई कमजोर बनाउँदै लैजानु जस्ता कार्यहरु अहिलेसम्म विश्वव्यापी रुपमा जारी छ । दुनियाँका कैयौं देशहरु विभिन्न बहानामा अझै पनि युद्ध चलाइ नै रहेका छन् । एक अर्का देशहरुसँग विचार र धर्मको आधारमा राजनीति गर्ने र राजनीतिक आर्थिक, सामाजिक, साँस्कृतिक र मानवीय भावनाहरुलाई कुनै महत्व नदिई वैश्विक परिप्रेक्ष्यलाई समेत लोकलाजै नगरी सन्तुलन मिलाउन नसक्ने जस्ता कार्यहरुले गर्दा सही र गलत ठम्याउने कार्यहरुको दशा र दिशा दुवै पूणर्रुपमा उपेक्षामा पर्दै गइरहेको आभास हुन थालेको छ । प्राय दुई देशबीचका सीमा नाकाहरुमा जतिसुकै चौकसी र सुरक्षा सतर्कता अपनाइएतापनि सरकारले वर्जित त निषेध गरेका वस्तु र सेवाहरुको निर्बाध आयात निर्यात भइरहने कुराहरुबारे कुनै किसिमको दुविधा पाल्नु मनासिब र कानून सम्मत रहेको मान्न सकिदैन ।
दुनियाँमा लोकतन्त्रलाई जनताले अत्यन्त मन पराउने विचार र शक्तिको रुपमा आत्मसात गरिएको आमधारणा छ । खास गरी प्रथम विश्वयुद्ध दुनियाँका शक्तिशाली र सर्वेसर्वा राष्ट्रहरुले गरेको नरसंहारको बीजाङ्गकुर नै दोस्रो विश्वयुद्धलाई अगाडि बढाउने आधार बन्यो । नाजी हिटलरको सेना अमेरिका, बेलायत, फ्रान्स र रुस जस्ता शक्तिशाली सेना भएको देशहरुसँग पराजित नभएको भए आज दुनियाँको राजनीतिक मानचित्र अर्कौ हुने थियो । दोस्रो विश्वयुद्धले मच्चाएको भीषण विध्वंश र नरसंहार जस्ता घटनाहरुले गर्दा आर्थिक रुपमा अत्यन्त कमजोर भइसकेका शक्तिशाली भनिने देशहरुले आप्mनो राज्यको सीमानाहरू चाहिं बचाउन सकेनन् । बेलायती उपनिवेशबाट छुट्कारा पाउने देशहरुको लामो सूची रहेको छ । दोस्रो विश्वयुद्धपछि स्वतन्त्र हुने देशहरुमा अहिले लोकतन्त्रको पुनःअभ्यास भइरहेको छ । लोकतन्त्रलाई संरचनागत आधारमा, प्रशासनिक आधारमा संस्थागत गर्ने प्रयासहरु भइरहेको छन् । जनतालाई जनार्दन बनाउने अभ्यासनै साँचो अर्थमा लोकतन्त्रको असली अभ्यास हो । तर यथार्थमा के कुरा विचारणीय छ भने लोकतन्त्रले देखाएको बाटाहरुमा लोकतन्त्रवादीहरु हिड्छन् कि हिँड्दैनन् भन्ने प्रश्न अत्यन्त महत्वपूणर् छ । नेपालमा वर्ग संघर्षको अभ्यासलाई लामो समयदेखि मलजल गर्ने कार्यहरु भूमिगत तवरबाट पनि गर्ने गरिन्थ्यो । सामन्तवादी राजतन्त्रात्मक पंचायती व्यवस्था निरंकुश रहँदासम्म पनि राजा र पञ्चतन्त्रको विरोधमा बोल्नेहरुको आवाजलाई राज्यले बन्द गराउने गरेको अभ्यास आज पनि धेरै मानिसहरूको मानसपटलमा जिवित छ । देशको असल भलो चिताउन गरेको संघर्ष र भोगेका जेल नेलको साक्षी अहिले पनि भेट्टाउन सकिन्छ । पञ्चतन्त्रको उन्मुलनसगैं विस्तारै विस्तारै राजतन्त्र पनि अस्ताउन थाल्यो । दरबारभित्र षड्यन्त्रको खेल प्रारम्भ भयो । शाहवंशका अन्तिम राजा बन्ने सौभाग्य वा दुर्भाग्य राजा दीपेन्द्रले प्राप्त गरे, तर उनी अर्धचेत अवस्थामै संसार परित्याग गरेपछि वीरेन्द्र वंशको राजपाट सकियो । नारायणहीटीको उत्तराधिकारी शासक र राजाको रुपमा ज्ञानेन्द्र शाहले श्रीपेच धारण गरेपछि वीरेन्द्र वंशको राजपाट सकियो । नारायणहीटीको उत्तराधिकारी शासक र राजाको रुपमा ज्ञानेन्द्रले श्रीपेच धारण गरेपछि लोकतन्त्र ओरालो लाग्ने क्रम प्रारम्भ भयो र त्यसैको सेरोफेरोमा उग्र वामपन्थी मानिने माओवादी राजनीतिक समूहले सरकारसंग युद्धघोष गर्न प्रारम्भ भयो । आज देशबाट राजतन्त्र उन्मुलन भइसकेको छ । तर राजतन्त्रलाई पुन फर्काउन राजनीतिक अभ्यासहरू सुचारु रुपमा चलिरहेको छ । आज देशको संविधानले नेपाललाई हिन्दु राष्ट्र बन्न दिने प्रकृयालाई अस्वीकार गरेको छ । तर व्यवहारमा हिन्दु राष्ट्र पुनः स्थापना गर्नको लागि वेलावेलामा ठूलो राजनीतिक तरङ्गहरू निम्त्याउने प्रयास भइरहन्छन् । आज देशमा कम्यूनिष्ट विचारलाई गुरूमन्त्र मानेर चुनाव जित्ने सांसद र जनप्रतिनिधिहरुको ठूलो वर्चस्व, भूमिका र महत्व छ तर उनिहरुको कार्यप्रणाली र विचारधारा कम्युनिष्ट इतर विचारधाराबाट प्रभावित छ । आज देशमा पूँजीवादको पछ्यौरा समातेर मिश्रित अर्थव्यवस्थालाई उभ्याइएको छ । कार्लमार्कसको नाम राखेर राजनीतिक घोषणापत्रहरु लेख्ने राजनीतिकर्मीहरूको ठूलो संख्या देख्न सकिन्छ तर तिनीहरू सैद्धान्तिक र वैचारिक रुपमा मात्र वामपन्थी हुन् । व्यवहारिकरूपमा उनीहरू दक्षिणपन्थी भइसकेका छन् । त्यसै कारणले होला वामपन्थी विचारधाराबाट ओतप्रोत र जागृत भएका युवा-युवतीहरू अहिले घोर वैचारिक संकटको अवस्थामा छन् ।
कौसीबारीमा फुलेको सयपत्री र डिपार्टमेन्टल स्टोरबाट किनेर ल्याएको प्लास्टिक वा कागजको सयपत्री फूल जस्तै उनीहरूको मानसिक संरचनामा सामाजिक विरोधाभासपूणर् द्वन्दात्मक विश्लेषणले मलजल पाइरहनु पर्नेमा अन्तिम सत्यको चुचुरोमा पुग्न कठिन भइरहेको छ । आज देशमा मध्यमार्गी समाजवादको परिकल्पना गरिएको छ । जसमा गरीब, गरिबी र सर्वहारा तथा विपन्न वर्ग तथा जातजाति र क्षेत्रहरूको लागि अत्यन्त कम शब्दहरूको प्रयोग गरिएको छ । परिणामस्वरूप देशमा जनक्रान्ति र आन्दोलन भएको एक दशक भन्दा बढी समय भुक्तान भइसक्दा पनि आन्दोलनले उब्जाएका मूलभूत समस्याका सारांशहरू अहिले पनि अनुत्तरित छन् ।
आम जनताले अहिले पनि साना भन्दा साना कामकोलागि आप्mनो-आप्mनो राजनीतिक पहुँचको प्रयोग गर्दछन् । पहुँचविहीन असमावेशी, पहिचानविहीन बालबालिका, महिला-पुरूष, वृद्ध वृद्धाहरु, युवायुवतीहरू अहिलेपनि भौतारिइराखेका छन् । कोही गणेशमान सिंहलाई स्मरण गर्दछन्, कोही जनयुद्धताका देखाएका साहसिक कार्यहरू र अभियानहरूलाई स्मरण गर्दछन् त कोही मधेश आन्दोलनताका जीवनको आहुति दिने वीर शहीदहरूको स्मरण गर्दछन् । तर देशको गन्तव्यलाई उनीहरूले ठम्याउन मुस्किल छ । निश्चितरूपमा देशको गन्तव्य के हो त भने कुरामा मगज खियाउनु जरूरी छ । सरकार बन्नु मात्र विकास होइन, सरकार चलाउनु मात्र विकास होइन बरू सरकारले चालेका पाईलाहरुमा जनता जनार्दनको आवश्यकता, इच्छा र सपनाहरूको बिम्ब भेटिन्छ कि भेटिदैन, त्यो महत्वपूणर् पक्ष हो । देशको हिमाल जोखिममा छ, हिमतालहरु संकटमा छन् । कृषि उत्पादन ह्रास हुने अवस्थामा छ । प्रतिव्यक्ति आम्दानी वृद्धि र जीवनस्तर, शिक्षा र आधारभूत स्वास्थ्य जस्ता विषयहरूमा केही घतलाग्दो उपलब्धि भएको देखिए पनि दीगो विकासका लागि गरिने प्रयासहरू शून्य प्राय छ । एक सय वर्षपछि नेपालको भविष्य के हुने हो कसैले बयान गर्न सक्ने स्थिति छैन, पचास वर्ष पछि देश कुन धरातलमा उभिने हो त्यसको मार्गचित्र कसैसँग छैन । दश वर्ष वा बीस वर्षपछि देश विकासको कुन चरणमा पुग्ने हो त्यसको बारेमा कुनै सोच वा चिन्तनमा यथार्थबोध रहेको देखिदैन । देशको लोकतन्त्र, संघात्मक छ, समावेशी छ, धर्म निरपेक्ष छ भन्दैमा सबै कुराहरू खुरू खुरू हुने होइन । यसरीनै सरकार लुरूलुरू चल्दै गए भने एउटा स्वाभिमानी नागरिकले खाडी मुलुकहरूमा जाँदाखेरि भोगेका दुःख र यातनाका कथाहरूको जिम्मेवारी कसको काँधमा जान्छ भन्ने कुरामा आत्मबोध हुन जरूरी छ ।
मानव मस्तिष्कलाई सम्मान गर्ने परिपाटीको विकास भएन भनेर देशका आम नागरिकहरुले गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको प्रत्याभूति पाउन सकेन भने देशमा स्थिरता, शान्ति र विकास नारामा मात्र हुन्छ । आज शतरञ्जको गोटी जस्तै राजनीतिकर्मीहरुको चरित्र र चिन्तन निर्माण भइरहेको छ । राजनितिक विश्लेषकहरूमा लोकतन्त्रको दीर्घ जीवनको निरन्तरताको लागि मौन प्रार्थना जारी छ । देशको जल, जमीन र जंगलमा शक्तिपूजाको धूपबत्ती बलिरहेको छ । अरण्य-रोदन, किंकर्तव्यविमूढता र असहायता नै आम नेपालीको पहिचान बनेको छ । द्वन्दलाई सकारात्मक दिशातिर अघि बढाउने उत्प्रेरक शक्तिहरुमा भेंडा गोठालो जाने प्रवृत्ति बढ्दै छ । पशुपतिनाथले सबैको रक्षा गरुन् भन्ने आदर्श वाक्य अब गुञ्जिन छोडेको छ । संघीयता र ओजोनतहमा प्वाल परेको कुरालाई चिन्ताजनक बताउन थालिएको छ । नेपाल र नेपाली जनताले बनाएको लोकतन्त्रमा संविधानलाई अजम्बरी र सर्वसम्पन्न बनाउन अलिकति पनि चुक्नु देशको लागि अभिशाप बन्न सक्तछ, त्यसको बारेमा विचार पुर्याउनु जरुरी छ ।