अर्थ मुख्य

दूध नबिकेर किसान समस्यामा, ४ महिनामा ८८ करोडको आयात

दमक, १९ मंसिर
पाउडर दूध आयातमा कडाइ गरिएको भनिएपनि नाम परिवर्तन गर्दै पाउडर दूध भित्रिँदा नेपाली दूधको बिक्रीमा समस्या भइरहेको छ । जसका कारण पछिल्लो ४ महिनामा ८८ करोड मूल्य बढीको दूध आयात भएको देखिएको छ ।
सरकारले पाउडर दूध आयातमा २०७५ सालदेखि नै कडाइ गरेको भनेपनि नाम परिवर्तन गरेर अर्कै बहानामा पाउडर दूध आयात भइरहेको उद्योगीहरुको दावी छ । भारतीय दूधको मूल्य नेपालीभन्दा सस्तो रहेकाले पनि दूध आयात भइरहेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्ममा क्रिम, स्किमिल्क दुध पाउडर, बेबि पाउडर, बटरमिल्क, बटर, घिउ, अन्य दुधजन्य वस्तुहरु, चिजलगायत २० वटा आइटममात्रै ८८ करोड ३९ लाख १५ हजार बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष सोही अवधिमा ७७ करोड ६२ लाख ४४ हजारको आयात भएको थियो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षभरीमा विभिन्न २६ वटा दुधजन्य वस्तुहरु २ अर्ब ३८ करोड ४६ लाख ६ हजार बराबरको आयात भएको थियो ।
दुध बढी उत्पादन हुँदा विक्रीमा समस्या भइरहेको बेला विविधीकरणमा गए बजारमा खपत गर्न सकिने सरकारी अधिकारीको भनाइ छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले सरकारले ०७५ सालमै पाउडर दुध आयातमा प्रतिबन्ध लगाएको र वैध बाटोबाट आएपनि त्यो कार्य गैरकानूनी रहेकाले यसलाई कडाइकासाथ रोक्नुपर्ने जनाए । उनले प्रतिवन्धमा कडाईकासँगसँगै दुधजन्य वस्तुको विविधीकरणमा समेत लाग्नुपर्ने उनको भनाइ छ ।
विराटनगरमा रहेको सूर्योदय डेरी उद्योगका संचालक मनोज यादव भने विदेशबाट आयात भइरहेका दुधजन्य उत्पादनका सबै सामग्री नेपालमै उत्पादन गर्न सक्ने बताउँछन् । ‘हामीले पनि विदेशबाट आयात भइरहेका वस्तुहरु उत्पादन गर्न सक्छौं,’ उनले भने, ‘तर, वैध तरिकाले भन्दा पनि अवैध तरिकाले पाउडर दुध बढी आउँदा समस्या छ । वैध तरिकाले आउँदा पनि नाम परिवर्तन गरेर ल्याएको पाएका छौं ।’ उनले नेपालका बिस्कुट उद्योगहरुले पनि पाउडर दुध लुकाइछपाइ ल्याएरै खपत गरिरहेको दाबी गरे । त्यसको अध्ययन र अनुगमन गर्दा यो विषय स्पष्ट हुने व्यवसायीहरुको दाबी छ ।
बिस्कुट उद्योगहरुले नेपालको दुध पाउडर नकिनेको अवस्था दर्शाउँदै उनीहरुले भारतबाटै दूध खरिद गर्ने गरेको उनको जिकिर छ । उनले भने ‘सरकारले बिस्कुट उद्योगहरुको अनुगमन गरेर पाउडर आयात भइरहेको वा नभएको विषयमा एकिन गर्नुपर्छ । अनि त्यसखाले आयात रोक्न
४ महिनामा… कडाई गर्नुपर्छ ।’ कोशी प्रदेशमा अहिले पनि झण्डै ३ लाख किलो बटर र २ लाख किलो पाउडर दुध रहेको यादवको अनुमान छ । यसको खपत गर्न नसकेको अवस्थामा डेरी उद्योगहरु धरासायी बन्ने उनको दाबी छ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले काठमाडौंका गोदाममा भारतबाट आयातीत २० हजार बोरा पाउडर दुध रहेको अनुमान गरेका छन् । विराटनगरको जोगवनी र विरगञ्ज नाकाबाट हजारौं टन पाउडर आएको उल्लेख छ ।
दुधको खपत कम भएपछि कोशी प्रदेशका ९ वटा डेरी उद्योगले भने प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएका छन् । यस्तै डेरीजन्य अन्य उत्पादित सामाग्रीहरुको पनि मूल्य घट्दा केही खपत बढेको उद्योगी बताउँछन् ।
यता, कोशी प्रदेश सरकारले पनि बटर तथा दुध पाउडर विदेश निर्यात गर्ने उद्योगलाई अनुदान दिने भन्दै ४ करोड बजेट नै छुुट्याएको छ । प्रदेश सरकारले बजेट छुट्याउनु राम्रो भएको तर, निर्यातका लागि वातावरण बनाउन संघीय सरकारले सहजीकरण गर्नुपर्ने डेरी उद्योगहरु बताउँछन् ।
नेपाल डेरी एशोसियसनका केन्द्रीय महासचिव हेमचन्द्र दहालले सरकारले आयात रोकेर दूधको निर्यातको वातावरण बनाउनु पर्नेमा जोड दिए । दूधको मूल्य बढाउँदा भारतबाट सस्तोमा दूध भित्रिएर नेपाली दूधको बिक्रीमा समस्या भएको उनको ठहर छ । दमकमा दूग्ध व्यवसाय सञ्चालन गर्दै आएका उनले भने ‘अव सरकारी तबरबाटै मूल्यमिल्दो बनाउने, भारतबाट पाउडर रोक्ने र नेपालको निर्यायतको वातावरण बनाउन अव ढिला गर्नु हुँदैन । नत्र प्रसस्त उत्पादन भएको दूध मिल्क होलिडे गराउँदै त्यसै पोख्नुपर्ने हुन्छ ।’

Author

You may also like