पंकज दाहाल –
दमक, १ कार्तिक –
यसपालीको वडादशैं, तिहार र छैठ पर्वमा हुनसक्ने आपराधिक गतिविधिहरुलाई न्यूनीकरण गर्न झापाको दमकमा विशेष सतर्कताका साथ सुरक्षा व्यवस्था कडा पारिएको छ । समुदाय-प्रहरी साझेदारी दमक नगर समितिले सरोकारवालाहरुको एक भेला गरी निणर्य भएबमोजिम प्रहरीले पनि सुरक्षा व्यवस्था कडा पारेको हो । प्रहरीलाई नगरपालिका र स्थानीय टोलवासीहरुले विना बर्दीको प्रहरीका रुपमा सहयोग पुर्याउने साथै त्यसका लागि आवश्यक सहकार्य र समन्वय गरिने दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बताएका छन् ।
चोरी, लुटपाट, पकेटमार, झै-झगडा जस्ता आपराधिक कृयाकलापहरुलाई सकेसम्म निगरानीमा राख्ने र रात्री तथा दिउँसो सुरक्षागस्ती बढाएर निष्तेज पारिने पनि इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले प्रष्ट पारेका छन् । नगर प्रमुख थापाले भने बजारमा हुने कालोबजारीको अनुगमनलाई तिव्र पारिने र रात्रीको समयमा १० बजेपछि हुने मानिसहरुको हिंड्डुलमा कडाई र निगरानी राखिने, जुवाजन्य खेलहरु खेल्न र खेलाउन प्रतिवन्ध लगाइने, लागुऔषध दुव्र्यसनी साथै मदिरापान गरेर होहल्ला मच्चाउनेहरुलाई नियन्त्रणमा लिइ सुधारका लागि आवश्यक कदम चाल्ने कार्य अघि बढाइने बताए । त्यस्तै चाडपर्वका बेला ट्राफिक चेकजाँचमा जोड दिइनुका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना र सतर्कता अपनाइने कुरा समेत नगर प्रमुख थापाले जानकारी गराएका छन् । सरोकारवालाहरुको भेला इलाका प्रहरी कार्यालय दमकको सभाहलमा भएको थियो, जसमा दमकका व्यापारी व्यवसायीका प्रतिनिधिहरु, दमक उद्योग वाणिज्य संघका पदाधिकारी र प्रतिनिधिहरु, वस्तुगत संघका प्रतिनिधिहरु, होटल व्यवसायी, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मी, दमकका सबै वडाका वडाध्यक्षहरु, ट्राफिक प्रहरी, प्रहरी, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
‘दमकको शान्ति सुरक्षा सुव्यवस्थित पार्नु र नागरिकको जीउधनको रक्षा गर्नु साथै चाडपर्वमा कोही पनि उपभोक्ता ठगिन नदिनु हाम्रो कर्तव्य र दायित्व पनि हो । साथै स्वतन्त्र ढंगबाट बाँच्न, शान्तिपूर्वक जीवनयापन गर्न, अकालमै हुने मृत्युबाट बचाउन, अवाञ्छित गतिविधिहरु हुन नदिन, आपराधिक घटना र गतिविधिहरु बढ्न नदिन र नगरवासीलाई स्वस्थ ढंगले चाडपर्व मनाउन वातावरण तयार गर्न हामीले विशेष योजना तयार गरी अघि बढेको छौं । यसमा सबैको साथ सहयोग आवश्यक छ । ’ नगर प्रमुख थापाले भने -यसमा बजारवासी तथा गाउँवासी दाजुभाई दिदीबहिनी, आमाबुवा, युवाहरु सबैको सकारात्मक सहयोग र सद्भावको खाँचो छ । यसका लागि प्रशासन, प्रहरी, जनप्रतिनिधि, सामाजिक संघ संस्था सबैको साथ रहने प्रतिवद्धता समेत सो भेलाका सहभागीहरुले गरेका थिए ।
होटल, लज, रेष्टुरेण्ट, डिस्को, पव जस्ता व्यवसाय राती १० बजेसम्म मात्र खुला राखिने र त्यहाँ अनिवार्य रुपमा सिसीटिभी जडान गर्ने, अस्पताल, विद्यालय जस्ता सार्वजनिक स्थलहरुको २ सय मिटर आसपासमा मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउने जस्ता कुराहरु समेत भेलाले सर्वसम्मतिबाट पास गरेको छ । आपराधिक गतिविधिहरु न्यून गर्न नगरका सबै १० वडामा प्रति वडा १ हजारका दरले पर्चा छपाई गरी वितरण गरिने पनि निणर्य भएको छ । चाँडैनै सामुदायिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षकहरुलाई लागुऔषध दुव्र्यसन, आत्महत्या न्यूनीकरण, दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन, साइबर क्राइम लगायतका विषयमा अभिमुखीकरण तालिम दिने र सो को व्यवस्था नगरपालिकाले गर्ने भएको छ । साथै ती विषयहरुमा विद्यालयका विद्यार्थीहरुमा सचेतना जगाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियाननै संचालन गरिने पनि नगर प्रमुख थापाले बताए । सो अभियानमा स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई पनि सामेल गराइने भएको छ । यी सबै कार्यका लागि नगरका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, सामाजिक व्यक्तित्वहरु सबैको सहकार्य र समन्वय आवश्यक देखिएको छ । रात्रीको समयमा तेश्रो लिङ्गीहरुबाट हुने गरको समस्या, खाद्य पदार्थहरुमा मिसावट लगायतको कार्यमा समेत नियन्त्रण र अनुगमन गरिने भएको छ । भेलामा इलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि सुरेन्द्रराज दाहाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र दंगाल, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल, महासचिव भूपेन्द्र न्यौपाने, जीवन चक्र समाज दमकका अध्यक्ष गणेश गौतम, अन्य सामाजिक संघ संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।