जेबी खड्का-
गौरीगञ्ज, २७ असोज –
नेपाल भारत खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट लागुऔषध ओसारपसारकर्ता र प्रयोगकर्ताको संख्या बढेकाले त्यसको नियन्त्रणमा प्रहरी सक्रियता बढ्नुपर्ने स्थानीयले माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगंजले शुक्रबार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागिले सीमा क्षेत्रबाट लागुऔषधको ओसारपसार र प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदा स्थानीय बासिन्दामा त्रास बढेको धारणा राखेका थिए । युवा समुदायहरु लागुऔषध प्रयोगमा फसेकाले यसलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रहरीले कडाइ गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।
गौरीगंज क्षेत्रका मात्र नभएर सीमा क्षेत्रका अन्य छिमेकी पालिकाहरुबाट समेत लागुऔषध प्रयोगकर्ताहरु आउने भएकाले जनमानसमा चोरीको त्रास फैलिएको गौरीगञ्जका यादव रिजालले धारणा राखेका छन् । विशेषगरि सिमा क्षेत्रका पालिकाहरु लागुऔषध जोनका रुपमा देखापरेकाले युवा समुदायलाई लागुऔषध प्रयोगबाट रोक्न कुनै कसर बाँकी राख्न नहुने स्थानीय रिजालको भनाइ थियो ।
कार्यक्रममा, स्थानीय केदार ढुङ्गेलले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाली भूमिमा नेपाल प्रहरी खटिएपनि चौपाया चोरीमा नियन्त्रण नभएको अवस्था दर्शाए । राजेन्द्र ताजपुरियाले भारतीय नम्बर प्लेटका दुई पांग्रे र चार पांग्रे यातायातका साधनहरु निर्वाध रुपमा नेपाली भूमिमा प्रवेश गरेको तर नेपालीलाई मात्र उता प्रवेशमा कडाइ गरिने न्यायोचित नदेखिएको जनाए ।
गौरीगंज गाउँपालिका पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठले नागरिकता वितरणमा बेतिथी बढेको धारणा राखेका थिए । पत्रकार मदन राजवंशीले इलाका प्रशासन कार्यलय गौरीगंजबाट गैर नेपाली नागरिकलाई नागरिकता वितरण हुँदापनि दोषी पक्राउ नपरेको धारणा राखेका थिए । नागरिकता जस्तो गम्भीर विषयमा स्थानीय सरकार सजग नरहेको जनाउँदै गैरनेपाली नागरिकलाई नागरिकता वितरण गरेको समाचार सार्वजनिक भएपनि दोषीलाई कारबाही नभएको उनको भनाइ थियो । स्थानीय नौताली राजवंशीले महिला हिंसाका दोषीहरु पहँुचका भरमा छुटकारा पाउने गरेको घटनाका बारेमा टिप्पणी गरिन् ।
गौरीगंज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महत्तोले गौरीगञ्जमा रहेको छोटी भंसार कार्यालय संचालनमा नआउदा ब्यापार व्यवसायमा कठिनाइ भएको धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख (एसपी) दुर्गाराज रेग्मीले सहभागिले राखेका जिज्ञासाको जवाफ दिदै लागुऔषध ओसारपसार र प्रयोगकर्ता नियन्त्रणमा प्रहरी एक्लैले मात्र सम्भव नभइ अभिभावक पनि गम्भीर हुनुपर्ने बताए । जवाफ दिने इलाका प्रशासन कार्यलय गौरीगञ्जका प्रमुख चुडामणि आपागाईंले स्थानीय सरकारको सिफारिस अनुसार नागरिकताका कागजात सम्बन्धि प्रक्रिया पूरा भएका नागरिकलाई मात्र नागरिकता वितरण गरिएको बताए । नेपाली र गैर नेपाली नागरिक छुट्याउने विषयमा प्रशासन कार्यालय भन्दा स्थानीय सरकार बढी चनाखो हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा, ३ नम्बर वडाध्यक्ष श्रवण गिरी, ४ नम्बर वडाध्यक्ष फेका गिरी, ६ का वडाध्यक्ष बद्री नारायण यादव, सशस्त्र प्रहरी गौरीगंजका प्रमुख बिष्णुहरी घिमिरे लगायतले सहभागिहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।