घनश्याम भण्डारी –
उर्लाबारी, १६ असोज-
कुनैपनि काम ठूलो र सानो, राम्रो र नराम्रो हुँदैन । सफल हुनका लागि नयाँ काम नै गर्नुपर्छ भन्ने पनि होइन, अरूले गर्दै आएको काम अलि फरक तरिकाले गर्ने हो भने त्यही कामबाट सफलता चुम्न धेरै समय लाग्दैन ।
उर्लाबारीकै फलफूल व्यवसायी ललित चौधरीलाई हेरौं । केही वर्ष अघिसम्म ठेलामा असिनपसिन भएर फलफूल बेच्ने उनी आज पूर्वी मोरङकै चल्तापूर्जा व्यवसायी बनेका छन् । फलफूलको थोक तथा खुद्रा व्यापारमा उनले बेग्लै ‘साम्राज्य’ खडा गरेका छन् । उर्लाबारी – ७ को मालबाँसे पेटोल पम्प पूर्वपट्टी ‘सागर फ्रुट जुस सेन्टर’ संचालनमा ल्याएका चौधरीको दैनिकी भ्याइनभ्याइ छ । व्यापार व्यवसायमा मन्दी चलेका बेला उनको ब्यापारचाहीँ ‘गुलजार’ बनेको छ । आम्दानीको पाटोचाहीँ उनले खोल्न चाहेनन् । फिस्स हाँस्दै भने – ‘ठिकै भन्नुपर्ला । फलफूल बेचेर आम्दानी राम्रै भएको छ ।’
ललित चौधरी एक दशकअघि जीवन निर्वाहको खोजीमा उर्लाबारी आएपछि फलफूल बेच्न थालेको बताउछन् । उर्लाबारी ७ मै परिवारसहित डेरा गरी बसेका उनले ठेलामै फलफूल राखेर व्यवसाय थालेका थिए । अहिले सटरसहितको टहरामा फड्को मारेका छन् । पसललाई वैधानिकताको दायरामा ल्याएसंगै विगतमा आफुलाई हेप्नेहरु पनि दंग पर्ने गरेको उनको कथन छ । ‘विगतमा सडक व्यापार गर्दा कति हैरानी व्यहोरे भनिसाध्य छैन’, उनले भने – ‘सडकमा राखेको ठेलालाई बेला – बेलामा धेरैले दुःख दिने गरेका थिए । बेच्न राखेको सामान कतिपयले हप्किदप्कि गरेर खाइदिने पनि गरे ।’ अहिले अवस्था फेरिएको छ ।
पसलको प्यान नम्बरदेखि व्यवसायका सबै कागजात दुरुस्त राखिएको र सबै किसिमका व्यवसायिक कर तिर्दै आएको पनि उनले सुनाए । विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएका चौधरी र उनकी श्रीमती, अनि दुई सहयोगी बिहान सबेरैदेखि व्यापारमा व्यस्त रहन्छन् । मौसम अनुसारका फलका अलवा केरा, स्याउ, अनार लगायतका फलफूलले भकिझकाउँ उनको पसल वरिपरि ग्राहक झुम्मिन पुग्छन् ।
सम्भव भएसम्म सबै प्रकारका फलफूल उपलब्ध गराउने उनी बताउछन् । नरिवल पानीदेखि अहिले धेरैले रुचाउन थालेको डागन फ्रुट, किवी, कालो अंगुर ‘सागर फ्रुट’मा उपलब्ध छन् । नेपालमा सिजन अनुसार फल्ने फलफूलका अलवा भारतदेखि फलफूलहरु आयात गर्ने गरेको उनको भनाई छ । उनले धेरै प्रकारका फलफूल काटेर प्लेटअनुसार बेच्ने, ग्राहकको रोजाइ अनुसारका फलफूलको जुस र मिक्स जुस पनि तयार गर्ने गरेका छन् । ताजा र स्वच्छ जुस सागर फ्रुटको विशेषता रहेको चौधरीको कथन छ । यस्तै, विवाह, पार्टी, वर्थ-डे, भोजका लागि अर्डर अनुसारका फलफूल उपलब्ध गराइने पनि चौधरीले बताए । उनले शाकाहारी र मांसाहारी दुवैका लागि फलफूल अत्यन्त उपयोगी रहेको बताए । चौधरीले भने, ‘खाजा खान होटलमा गएर पर्खनु नपर्ने र स्वास्थ्यलाई समेत फाइदा गर्ने भएकाले खाजामा फलफूल लिन सबैलाई आग्रह गर्छु ।’ सानो लगानीमा व्यवसाय सुरु गरेका उनले फलफूलले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले उपभोक्ताले बढी रुचाउने गरेको अनुभव सुनाए ।