खेल मुख्य

उर्लाबारी रनको उपाधी गोरखाका श्रेष्ठ र जुम्लाकि नेउपानेलाई

उर्लाबारी, ७ असोज-
संविधान दिवसको अवसरमा उर्लाबारी -६ स्थित सामुदायिक विकास मञ्चद्वारा आयोजित छैठौँ संस्करणको उर्लाबारी रन २०८० भव्यताका साथ सम्पन्न भएको छ ।
रनमा पुरुष र महिलातर्फका ४ वटा उमेर समूहको विधामा आयोजना गरिएकोमा पुरुषतर्फका अन्डर १२ र अन्डर १६ मा दावी विरोधको उजुरी परेपछि ति बाहेक अन्य विधाका अन्तिम नतिजा घोषित भई पुरस्कार वितरण भएको छ । उजुरी परेका उक्त दुई विधामाथी १ हप्ताभित्र छानविन गरी नतिजा घोषणा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको महिला खुलातर्फ जुम्लाकी पूणर्लक्ष्मी न्यौपाने प्रथम, तरहरा सुनसरीकी सचिना राई द्वितीय र धरानकी छिङ्विमाया राई तृतीय भएका छन् । उनीहरु तिनै जना क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
पुरुष खुलातर्फ गोरखाका संजय श्रेष्ठ प्रथम, काठमाडौंका भिमबहादुर रायमाझी द्वितीय र सुदुर पश्चिमका मोहनदेव जोशी तृतीय भएका छन् । उनीहरु तिनै जनालाई क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
महिलातर्फ अन्डर १२ मा भोजपुरका क्रमशः जुडी राई र रश्मी राई प्रथम र द्वितीय भएका छन् । यस्तै उर्लाबारीका मिस्यु धिमाल र मिना मुर्मु क्रमशः तृतीय र सान्तवना भएका छन् । उनीहरु चारै जनालाई क्रमशः ४ हजार ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
यस्तै महिलातर्फ अन्डर १६ मा भोजपुरकी विनिता राई प्रथम, उर्लाबारीकी पियुस राई द्वितीय, धरानकी सेक्कुहाङ् राई तृतीय र उर्लाबारीकी विनिता तामाङ् सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
यस्तै, पुरुषतर्फ भेट्रानमा अर्जुनधारा झापाका जयनरेश सिंह प्रथम, धरानका धनकुमार राई द्वितीय र उर्लाबारीका हेमन्त लावती तृतीय भए । उनीहरु तिनै जना क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
त्यसैगरी, महिलातर्फ भेट्रानमा धरानकी जमुना लिम्बु प्रथम र उर्लाबारीका चेतनु राई र मन्जु लिम्बु क्रमशः द्वितीय र तृतीय भएका छन् । उनीहरु तीनै जना क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
विजेताहरुलाई उर्लाबारी -६ स्थित महारुद्र शिवालय मन्दिरको सभाहलमा आयोजित कार्यक्रमबिच प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, विशिष्ट अतिथि उप प्रमुख मीना खतिवडा पौडेल, राजनीतिक दलका स्थानीय प्रमुख लगायतद्वारा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम संयोजक घनेन्द्रप्रसाद दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर खरेलले सहभागी सम्पूणर् धावकहरुलाई हौसला प्रदान गर्दै आगामी संस्करणमा समेत सहभागी हुन निमन्त्रणा गरेका छन् । उनले स्वास्थ्यको लागि दौड भन्ने नारालाई आत्मसाथ गर्दै छैठौँ संस्करणको उर्लाबारी रन सफल भएको बताउँदै आगामी दिनमा उर्लाबारी रनको बजेट बढाउने प्रतिबद्धता जनाएका छन् ।
यस्तै कार्यक्रमकी विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाकी उप प्रमुख पौडेलले दौडमा महिलाहरुको सहभागिता सन्तोषजनक रहेकोमा खुसी व्यक्त गरेकी छन् ।
यस्तै कार्यक्रममा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, सिद्धार्थ एग्रीगेट प्रा.लि.का अध्यक्ष सचिन शाक्य, पञ्चावती अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बा , उर्लाबारीका क्रियाशील राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम बोहोरले सहयोगी , खेलाडी ,अतिथि सबैलाई धन्यवाद दिंदै संस्थाले अन्य कार्यक्रमहरु पनि गर्दै जाने बताएका छन् ।

Author

You may also like