बिर्तामोड ÷ नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आर्थिक विपन्न समुदायको हितमा काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र तहगत सभापतिहरुसँग मंगलबार अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो निर्देशन दिएका हुन् । ब्यवस्था परिवर्तनपछि जीवनस्तर सुधारको पूर्ण प्रत्याभूति दिन नसके ब्यवस्थाप्रति नै वितृष्णा पैदा हुने हुँदा जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका थिए । राज्य ब्यवस्था परिवर्तन अघि र संघीयता कार्यान्वयनपछि जनताले परिवर्तन गर्न सके–नसकेको बारे जनप्रतिनिधिहरुको धारणा एवं आ–आफ्नो वडाको अवस्थाका विषयमा सिटौलाले गहन छलफल गरेका थिए ।
निर्वाचित जनप्रतिनिधिहरुले कतिपय कानूनी जटिलताका कारण राज्य ब्यवस्था परिवर्तनपछि पूर्ण रुपमा जनताको अपेक्षा पूरा गर्न नसकिएको बताएका थिए । राज्य ब्यवस्था परिवर्तनपछि संविधानले सबैको शिक्षा, स्वास्थ, आवासजस्ता अधिकार सुनिश्चित गरे पनि अत्यन्तै न्यून आयश्रोत भएका ब्यक्तिहरुलाई वडाले निर्णय गरेर केहि पनि सहयोग गर्न नसक्ने कानूनी अवस्था रहेको वडाध्यक्षहरुले बताएका हुन । निश्चित सिलिङ बजेटले जनअपेक्षा पूरा गर्न सक्ने अवस्था नरहेकोे बताउदै वडाध्यक्षहरुले प्राप्त बजेटको भरपुर सदुपयोग गरेर जनअपेक्षा पुरा गर्न प्रयासरत रहेको धारणा राखेका थिए ।
अधिकांश जनप्रतिनिधिहरुले नागरिकता वितरणमा कानूनी जटिलता रहेको, पञ्जीकरण दर्ता पद्धतिलाई सुधार गर्नुपर्ने, वडाले सञ्चालन गरेका विकासे योजना कार्यान्वयन एवं बजेट निकासामा अत्यन्तै झण्झटिलो प्रक्रिया रहेको बताउँदै यसको सुधार जरुरी रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद लख्खीदेवी गणेश, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाई, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, झापा गाउँपालिकाका उपाध्यक्ष अन्जु थपलियालगायतले मन्तब्य राखेका थिए ।