मुख्य

गौरादहको नीति, कार्यक्रम र बजेटबारे स्पष्टोक्ति

जेबी खड्का

गौरादह | झापाको गौरादह नगरपालिका भित्र संचालनमा रहेका व्यवसायीलाई व्यवसाय दर्ता र नविकरणमा सुविधा दिई व्यवसाय करलाई नियमित र व्यवस्थित गर्ने नगरपालिकाले नीति अवलम्बन गरेको छ । गौरादह नगरपालिकाको १२ औं नगरसभाबाट पारित नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा बजेट कार्यक्रमलाई पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दै नगर प्रवक्ता नगेन्द्र भण्डारीले व्यवसाय दर्ता नगरी संचालनमा रहेका व्यवसायीलाई सुविधा दिई दर्ता गर्ने वातावरण तयार गरेको जानकारी गराएका थिए । नगर प्रवक्ता भण्डारीले नगर भित्र व्यवसाय दर्ता नगरी र दर्ता गरेर नविकरण नगरी संचालनमा रहेका व्यवसायीलाई आगामी असोज मसान्तसम्ममा दर्ता वा नविकरण गरेमा चालू आ.व.को दरमा विगत दुई वर्षको व्यवसाय कर तिरेमा त्यस्ता उद्योगको व्यवसाय दर्ता र नविकरण गरिने जानकारी गराएका छन् ।
त्यस अवसरमा नगर भित्र दर्ता वा नविकरण नगरी संचालनमा रहेका उद्योग, व्यवसायलाई दर्ता, नविकरण गराई अनिवार्य रुपमा करको दायरामा ल्याउने जानकारी गराइयो । गौरादह नगरपालिकाको १२ औं नगरसभाले भू–उपयोग नीतिलाई ८ भागमा वर्गीकरण गरी बर्गीकृत क्षेत्र भित्रका जग्गाहरुलाई भौगोलिक अवस्था, मालपोतको रजिस्ट्रेशन शुल्क, यातायातको सुविधालाई मध्यनजर गरी त्यस भित्र चार भागमा विभाजन गरी भूमि कर निर्धारण गरेको जानकारी गराएका थिए । नगरको १२ औं नगरसभाले नगरको नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, माध्यमिक तह सम्मको शिक्षा ऐन २०७९ को संशोधन विधेयक २०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को संशोधन विधेयक २०८०, न्यायिक समितको वार्षिक प्रतिवेदन, अनुगमन समितिको वार्षिक प्रतिवेदन पारित भएको जानकारी गराएका थिए । नगरको १२ औं नगरसभामा आर्थिक वर्ष २०८०÷०८१ को अनुमानित आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको थियो । नगरपालिकाको आन्तरिक आम्दानी ४ करोड सहित प्रदेश र संघीय सरकार र सडक बोर्ड नेपालबाट प्राप्त हुने जम्मा ७९ करोड ९२ लाख ६७ हजार अनुमानित बजेट सार्वजनिक गरेका थिए । नगरसभाबाट भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण, विपद् तथा फोहर व्यवस्थापन र सुशासन, सामाजिक सेवा प्रवाह लगायतका क्षेत्रमा विनियोजन गरिएको बजेटको जानकारी गराएका थिए । नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाट तथा सार्वजनिक कार्यक्रमको सभापति समेत रहेका गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीले पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा उप–मेयर जलवर्षा राजवंशी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए ।

Author

You may also like