मुख्य

प्रेस चौतारीद्वारा ६ अग्रज पत्रकारको सम्मान

दमक/प्रेस चौतारी नेपाल झापाले संस्थाको २५ औं स्थापना दिवसका अवसरमा शनिबार झापाका ६ जना अग्रज पत्रकारहरुलाई अभिनन्दन तथा सम्मान गरेको छ । विर्तामोड नगरपालिकास्थित हेभन वाटर पार्कमा भएको एक औपचारिक कार्यक्रममा यस्तो अभिनन्दन तथा सम्मान गरिएको हो ।
यसरी अभिनन्दित हुनेमा प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठक र सम्मानित हुनेहरुमा अग्रज पत्रकारहरु नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही तथा मरणोपरान्त स्वर्गीय माया पकुवाललाई नेपाली टोपी, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सांसद एकराज कार्की, नेकपा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष तथा संविधान सभा सदस्य दिपक कार्की, तथा प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले अभिनन्दन तथा सम्मान पत्र प्रदान गरे । अभिनन्दित पत्रकार नेत्र पाठकलाई नगद २५ हजार पनि प्रदान गरियो । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यसअवसरमा मन्तव्य राख्दै पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न तथा पत्रकारहरुको हक, हित, अधिकार र विकासका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले पत्रकारहरुको स्वास्थ्य उपचारका लागि पत्रकार सुरक्षा कोषको स्थापना गरिएको र त्यसलाई थप सुदृढ र मजबुत बनाई कार्यान्वयनमा ल्याइने गरी तयारी भइरहेको प्रकाश पारे । प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेलले स्वागत र उपाध्यक्ष प्रदिप परियारले कार्यक्रम संचालन गरेका थिए ।

Author

You may also like