मुख्य

ग्याँस प्रयोगका लागि दमकमा रिफिल स्टेशन बनाइँदै

दमक/ झापाको दमक नगरपालिकाले फोहोरबाट उत्पादित हुने ग्याँसको प्रयोगका लागि ‘रिफिल स्टेसन’ बनाउने निर्णय गरेको छ । त्यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ । करिब २५ करोडको लागतमा दमकमा जैविक फोहोरबाट ऊर्जा उत्पादन भइरहेको छ ।

यसको उपयोग र उपभोग नभएका कारण यो खेर गइरहेको अवस्थामा खेर गइरहेको ऊर्जालाई ‘रिफिल स्टेसन’ मार्फत् सवारी साधनमा प्रयोग गर्ने अवस्था सिर्जना गर्न नेक्स्टईरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिका समक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो । वडा ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालका अनुसार सरस्वती माविको जग्गा रिफिल स्टेसन बनाउन दिने निर्णय भएको छ । दमक नगरपालिकाले विद्यालयको जमिन लिजमा लिएको थियो । दमकमा नमुनाको रूपमा रहेको फोहोरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्याँस उत्पादन भए पनि अहिले यसलाई त्यसै डडाएर फ्याँक्ने गरिएको छ ।

दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारी लगायतका हलुका सवारी साधनलाई ग्याँसबाट चल्ने अवस्था सिर्जना गरेर रिफिल सेन्टरमा आएर रिफिल गर्ने अवस्था सिर्जना गर्नका लागि आफूहरूले स्थानीय सरकारसँग माग गरेको नेक्स्टइरा इनर्जी प्रा।लका प्रबन्ध सञ्चालक बिमल खतिवडाले बताए । यस परियोजना अन्तर्गत दैनिक एक हजार ८४ केजी ग्याँस उत्पादन गर्न सकिने अवस्था रहेको छ । दमक नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रसँग समन्वय गरेर साझेदारीमा साढे तीन वर्षअघि यो काम अघि बढाएको थियो । ६० प्रतिशत निजी साझेदारी र ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यसका लागि आवश्यक लगानी गर्ने सम्झौता भएको थियो । दमकमा उत्पादित फोहोरबाट ऊर्जा अर्थात् ग्याँस उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइन मार्फत् वितरण गर्ने उद्देश्य राखिए पनि राज्यबाट सहयोग नपाइएका कारण उत्पादित ग्याँसलाई प्रयोग गर्ने नयाँ उपाय खोजी गरिएको समेत खतिवडाले जानकारी दिए ।

कोरोनाका असहज परिस्थिति र विभिन्न कारणले परियोजना लागत बढे पनि बढेको लागत स्वयम आफूहरूले मात्र झिक्नु पर्दा धेरै नै समस्यामा परेको समेत खतिवडाले बताए । उनले भने, –‘सरकारले पाइपलाइनका लागि बजेट उपलब्ध गराएको भए हामी दमकमा १५ सय घरपरिवारको घर–घरमा ग्याँस पु¥याउँथ्यौँ’

नेक्स्टईरा इनर्जी प्रालिका अध्यक्ष युवराज घिमिरेका अनुसार परियोजना सफल बनाउन र उत्पादित ग्याँसलाई खेर जान नदिन सवारी साधनमा प्रयोग गर्न अभिप्रेरित गर्न लागिएको हो । ग्याँस अहिले त्यसै खेर फ्यालिरहँदा हामी लगानीकर्ता चिन्ताले निदाउन नसक्ने अवस्थामा रहेको उनले जनाए । परियोजना स्थल दमकको मुख्य चोक बजारबाट करिब ७ किलोमिटर दूरीमा रहेको छ । नगरपालिकाले ‘रिफिल स्टेसन’ का लागि जग्गा उपलब्ध गराउने निर्णय गरेर ग्याँसलाई सदुपयोग गर्न आवश्यक काम गर्न सहज वातावरण बनाउन खोज्नु सकारात्मक भएको घिमिरेले बताए । फोहोरबाट उत्पादित ग्याँसको सदुपयोग तथा प्रयोगमा सरकारले सहयोग गर्नेमा आशावादी रहेको उनले बताए ।

Author

You may also like