दमक/ झापाको दमक–८ स्थित झापा मोडल अँग्रेजी स्कूल (जेम्स) ले बुधबारदेखि ४ दिने विद्यालयस्तरीय खेलकुद सप्ताह शुरु गरेको छ । जसमा कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई फुटबल, फुटसल, भलिबल, क्रिकेट, व्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, चेस तथा ट्र्याक एण्ड फिल्डअन्तर्गतका प्रतियोगतिाहरुमा सहभागी गराइनेछ । फुटबल प्रतियोगिता भने कमल–५ को आदिवासी जनजाति रंगशालामा आयोजना गर्ने कार्यक्रम रहेको विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले जानकारी गराए ।
बुधबार सो खेलकुद सप्ताहको औपचारिक उद्घाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गरे भने अन्य अतिथिहरुमा दमक–८ का वडाध्यक्ष धर्मराज (दिपेश) दाहाल, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद गुरागाई, रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष भरतकुमार चम्लागाई, ध्रुबतारा स्पोर्टिङ क्लबका पूर्वअध्यक्ष भीमराज केसी, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, जेसीज दमकका अध्यक्ष सञ्जीव बराल, पूर्वसन्देश दैनिकका पत्रकार पंकज दाहाल लगायत रहेका थिए । कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख थापाले आफूले सो विद्यालयले स्थापनाकालदेखि हालसम्म गरेको प्रगति देखेर खुशी लागेको र सो विद्यालयले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा समेत आफ्नो पहिचान बनाइसकेको बताए । कार्यक्रममा वडाध्यक्ष दाहालले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्रमको अध्यक्षत विद्यालयका संस्थापक निर्देशक श्रेष्ठले गरेका थिए भने संस्थापक सलोजा श्रेष्ठ र प्रिन्सिपल सागर श्रेष्ठको कार्यक्रम सफल पार्न विशेष भूमिका रहेको थियो । कार्यक्रममा राष्ट्रिय सेवा दल र स्काउटका विद्यार्थीहरुले आफ्ना विभिन्न प्रस्तुतीहरु गरेका थिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विद्यालय संयोजक जस्मिन श्रेष्ठले शपथ गराएकी थिइन् । कार्यक्रम संचालन शैक्षिक संयोजक छिरिङ वाङ्गेल, कक्षा ९ का विद्यार्थीहरु प्रजुना निरौला र एलिज सिटौलाले गरेका थिए भने स्वागत मन्तव्य प्रिन्सिपल सागर श्रेष्ठ र धन्यवाद ज्ञापन भाइस प्रिन्सिपल दिनेश थापाले गरेका थिए ।