दिल बहादुर बस्नेत थकित शरीर लिएर हप्ताको दुई पटक मिर्गौलाको डाइग्नोसिसका लागि अस्पताल धाउँछन् । महिनामा एक पटक चेकअपका लागि सिलगुडी पुग्नु पर्ने रूटिन छ । हिजो जल्दो बल्दो हुँदा आउने जाने मानिसहरू हराउँदै गए । असहाय, असक्तहरू सहयोगका लागि पनि देखा पर्दैनन्, श्रीमती र जेठो छोरो बितेर गए, भएका सन्तानहरू आ–आफ्नै सुतिथातिमा छन् । दमक–५ मा भाडामा लिएको घरमा माइली बुहारीले पकाई तुल्याई खुवाउने गरेकी छन् । बुढो जिर्ण शरीरलाई ओछ्यानमै पल्टायो बसायो । कोही इष्ट मित्रहरू आइदिए हुन्थ्यो, कुराकानी गरिदिए हुन्थ्यो भन्ने चाहना राखेर पनि अहिले कसलाई पो गफ गर्ने फुर्सद छ र ! ग्लोबल एजुकेशनल एकेडेमीमा शेयर सदस्यहरूले उहाँलाई विद्यालय व्यवस्थापन समितिमा चयन गरेको अध्यक्षको पद छाडेको छैन । कहिले काही त्यहाँ जाँदा समय राम्ररी बित्ने गरेको बताउनु हुन्छ ।
उमेर बित्दै जाँदा मानिसलाई रोग लाग्नु स्वभाविक हो, कसैलाई ठूलो र कसैलाई सानो मात्र हो । अर्को पक्ष भनेको धन सम्पत्ति पनि रहेछ । बुढापाकाहरू भन्ने गर्दथे ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ भने जस्तै दिल बहादुर बस्नेतमा पनि त्यो रोग थपिएको छ । उहाँको विगत हेर्दा यो अवस्थामा आइपुग्नु पर्ने सम्भावना नै छैन । तोपगाछीमा २०÷३० विगाह जमिनको मालिक । कुनै समयमा दमकको ट्राफिक भवन उत्तर ३ विगाह बढी जग्गा थियो । लाइफ लाइन अस्पताल भएको स्थानको १९ कठ्ठा जमिन । यता उता १÷२ का जमिनको हिसाब नगरांै । दमक नगरपालिका छेउमा रहेको अढाई का जमिन र घर पछिसम्म थियो । केही समय टिकाउन सकेको भए १०÷१२ करोडको मूल्याङ्कन हुन्थ्यो । अहिले एड्भान्स हस्पिटल संचालक भइरहेको छ ।
सातजना छोराछोरी हुर्काउन, शिक्षा दिलाउन, विहेदान, आफू र श्रीमतीको स्वास्थ्य उपचार गर्दा गर्दै सम्पत्ति खिइँदा खिइँदै सकियो भन्दा कसरी पत्याउने ? तर यी सब घटना सत्य हुन् । जीवन एक्लिँदै गयो । धन सम्पत्ति पनि सकियो । मासिक खर्च धान्न मुस्किल छ । सहयोग माग्न स्वाभिमानले दिँदैन । कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा रहेको कुराकानीको सन्दर्भमा झल्कन्छ । डाइग्नोसिसका लागि विभिन्न संघ संस्था र व्यक्तिले पनि सहयोग गरेकोमा उहाँहरू प्रति आभार प्रकट गर्नु हुन्छ ।
सामाजिक क्षेत्रमा पनि उहाँको उल्लेखनीय योगदान रहेको छ । वि.सं. २००३ सालमा तेह्रथुमको हमरजुङमा जन्मिएका दिल बहादुर बस्नेत ५ बर्षको हुदाँ बुबा वित्नु भयो । आमाले दुःख साथ हुर्काउनु भयो । एस.एल.सी. सम्मको शिक्षा लिएपछि बुझ्दा नबुझ्दै १६÷१७ वर्षको उमेरमा सामाजिक क्षेत्रमा प्रवेश भयो । पढे लेखेको केटा भनेर २०१९ सालमा तेह्रथुमको हमरजुङ गाउँ पञ्चायतको प्रधान पञ्च बनाए । प्रधानपञ्चको घर भनेर आउने, बस्ने गर्दथे । आफ्नो पनि आर्थिक अवस्था कमजोर । उनिहरूलाई पाल्न नसकेर तराईमा झर्नु पर्याे । मोरङको गोविन्दपुरमा हजुरबुवाले जोडेको जमिन थियो । त्यो बिक्री गरेर तोपगाछीमा रू ४०० विघाका दरले ७ विघा जमिन खरिद गरेर बसोबास शुरू भयो । २०२१ सालमा तोपगाछीमा ४ नं वार्डमा ग्रामसमितिको अध्यक्ष, २२ सालमा युवक संगठनको अञ्चल अध्यक्ष, २९ सालमा तोपगाछीमा उप–प्रधानपञ्च, २०३६ सालमा बहुदललाई सघाएको २०३८ सालमा दमक नगरपालिकाको वार्ड नं ११ हालको ६ नं को वार्ड अध्यक्ष भएर काम गरेको । पृथ्वी नि.मा.वि. मा १२ वर्ष अध्यक्ष भएर जग्गा दर्तादेखि भवन निर्माण सम्मको योगदान, पशुपति मन्दिरमा १८ पुराणको अध्यक्ष भएर धार्मिक योगदानका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको, मन्दिर परिसरमा बाबुको नाममा धर्मशाला र आमा र पत्नीको नाममा पशुपति सेवा सदनमा रकम जम्मा गरेको स्मरण योग्य छन् । लामो जीवन यात्रामा अनेक घटना, उतारचढाव जो सुकैमा आउँछन् नै । दिल बहादुर बस्नेतको जीवनमा पनि यस्ता धेरै जीवन कहानी छन् । सबै उल्लेख गर्न यहाँ सम्भव हुदैन १÷२ वटा घटना रमाइलो तरिकाले बताउनु भएकोले उहाँकै शब्दमा यहाँ प्रस्तुत गरिन्छ ः
१. राजनीतिको ‘र’ पनि नजानेको व्यक्ति पढे लेखेको भनेर १७ वर्षको उमेरमा हमरजुङको प्रधान पञ्च बनाए । प्रधान पञ्च भनेको के हो गाउँ घर कसैलाई थाहा पनि थिएन र वास्ता पनि गरेनन् । एक पटक म्याङलुङ बजारमा गाउ पञ्चायतका पदाधिकारीहरुका लागि सेमिनार राखिएको थियो । सेमिनारमा पञ्चायत मन्त्री रुद्र प्रसाद गिरीले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरुलाई पछि व्याँच लगाइदिएका थिए । ३ दिनको सेमिनार पछि व्याँच सहित घर जादा सवैले हेरे । सरकारले तक्मा दिएछ, ठूलो मान्छे भएछ भनेर गाउँमा हल्ला भयो ।
२. १९ वर्षको उमेरमा १६ वर्षकी युवतिसँग मागि विवाह भयो । चलन अनुसार मागीको विहे सकेर घर पुग्दा एकातिर मासुु भात पकाइरहेको, अर्काेतिर लामो समय देखि विरामले थलिएका माइला दाजुको प्राण जानै लागेको, भोज खाने कुरै भएन । दाजुलाई उपचारका लाने भइयो साथमा आमा र म जान आवश्यक थियो । बेहुलीलाई छाडौ भने बाघले खाने डर । साथै लिएर ४ जना भोकै रागा गाडीमा धरान तिर लाग्यौ । त्यो दिन हसनदहमा बास भयो । भोलिपल्ट रागा गाडी र इटहरी देखि बसमा चढेर धरान पुगियो । दाजुलाई उतै छाडेर बेहुली लिएर म फर्किए । रंगेलीसम्म गाडीमा आइयो त्यहाबाट हिड्दै पथरीमा बास बसेर भोलीपल्ट खयरबारी बहुलीलाई माइती घर पु¥याइदिए । यति लामो हिडाइमा म अघि–अघि बेहुली पछि–पछि बोलचाल एक शब्द पनि भइएन । म घर आए पैसाको जोहो गरेर माल्दाजुको उपचार पछि २०÷२२ दिनमा बेहुली ल्याएर घरमा भित्र्याइयो ।