मुख्य

स्वरोजगार नहुँदा विदेशिनेकाे संख्या बढ्दाे

विमल लामिछाने

        दमक/ मुलुकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन हुँदै आए पनि मानिसको जीवनस्तरमा खासै सुधार हुन सकेका छैन । राजनीतिक परिवर्तनसँगै युवा पिंढीलाई उद्योग र रोजगारसँग जोड्न नसक्दा दिनानुदिन विदेशिनेको संख्या बढ्दै गएको छ । नेपालमा रोजगारी सिर्जना हुन नसक्नु र लगानी सुरक्षित नहुँदा खाडीको ५२ डिग्रीको तापक्रममा नेपाली श्रमिकले आफ्नो ज्यान जोखिममा राखेर श्रम गरिरहेका छन् ।
पछिल्लो समय दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने तयारी गरिरहेको छ । हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आएपनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । नेपालबाट सन् २०१९ मा ७ हजार १३६, सन् २०२० मा १ हजार २७ र सन् २०२१ मा ८०३ जना नेपाली रोजगारीका लागि गएका थिए । कोरोना संक्रमणअघि नेपालबाट वार्षिक ७ हजारभन्दा बढी नेपाली युवा कोरिया जाने गरेका थिए ।
२०४६ मा राजनीतिक प्रणाली परिवर्तन भएपछि विश्वव्यापी रुपमा नयाँ नीतिअनुरूप वैदेशिक रोजगार खुला भएको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पछिल्लो तथ्यांकअनुसार १६ करोड ९० लाख मानिस वैदेशिक रोजगारमा संलग्न भएको देखाउँछ । तीमध्ये ६७ दशमलव ४ प्रतिशत उच्च आय भएका देशमा श्रम गरिरहेको देखिन्छ । १९ दशमलव ५ प्रतिशत उच्च मध्यम र ९ दशमलव ५ प्रतिशत न्यून मध्यम, ३ दशमलव ६ प्रतिशत न्यून आय भएका देशमा श्रमिक संलग्न भएका छन् ।
श्रम रोजगारको तथ्यांक अनुसार कोरोना महामारी अघि र पछि दैनिक सरदर १ हजार युवा विदेशिने गरेको पाइन्छ भने २१ लाख ६९ हजार ४७८ जना श्रमिक १०० भन्दा बढी देशमा रोजगारीमा गएको पछिल्लो जनगणनाले देखाएको छ । पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ र महिलाको संख्या चार लाख छ हजार १ सय ३ जना देखिन्छ । यसरी हेर्दा पुरुषको तुलनामा महिलाको संख्या न्यून देखिन्छ ।
विश्व बैंकको प्रतिवेदनअनुसार रेमिट्यान्स भित्र्याउने १० देशमा नेपाल दशौँ नम्बरमा पर्छ । राष्ट्र बैंकले पनि कुल जनसंख्याको १८ प्रतिशत घरपरिवारको मासिक आय रेमिट्यान्सबाट नै चलेको देखाएको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि जाने देशको संख्या १ सय १० वटा र व्यक्तिगत रूपमा १ सय ६७ वटा देशमा खुला गरिएको छ भने हालसम्म १ सय ७२ वटा देशहरूसँग नेपालको श्रम स्वीकृति रहेको छ । वैदेशिक रोजगारीले राष्ट्रदेखि परिवारसम्मको आर्थिक पक्ष बलियो बनाएको छ, यो सकारात्मक पक्ष हो ।
नेपालमा अवसर नभएको अवस्थामा वैदेशिक रोजगारीले सकारात्मक भूमिका खेलेको छ । आर्थिक वृद्धिलाई समेत सकारात्मक प्रभाव पारेको छ । यद्यपि दीर्घकालीन रूपमा यो लाभदायक हुन सक्दैन । विप्रेषणको आगमनसँगै नेपाली अर्थतन्त्रमा निम्न पक्षमा प्रभाव परेको देखिन्छ । विदेशी मुद्राको सञ्चिती, सीपको आयात, सरकारी खर्चमा योगदान, गरिबी निवारण र समाजको आर्थिक विकास यी पक्षहरूमा सकारात्मक प्रभाव परेको देखिएको छ ।
यसका अलावा कृषि क्षेत्रमा मजदुर नपाउनु, स्वदेशमा श्रम गर्न लाज मान्नु, रेमिट्यान्सले गर्दा विलासी वस्तुको उपभोगमा वृद्धि हुनु र मौलिक वा जातीय सीप लोप हुँदै गएको छ । यस प्रकार वैदेशिक रोजगारीले गर्दा सहरमा बस्ने र सुख काट्नेहरु बढ्दै गएको देखिन्छ । युवा विदेशिएका कारण मजदुरदेखि कृषि कर्म गर्ने किसानको समेत अभाव छ । रेमिट्यान्स बढाउन युवा त विदेशिन्छन् तर स्वदेशी उत्पादन बढाउन र विकास निर्माणको काममा भने जनशक्तिको अभाव देखिएको छ । विदेशबाट फर्किएका केहीले सीपलाई निखारेर पनि आएका छन् । यसको उदाहरणमा कृषि र पशुपालन व्यवसायमा नयाँ ज्ञान सीप र अनुभव देखिएको छ । कतिपयले कृषि फर्म नै खोलेर रोजगारी समेत दिन थालेका छन् ।
कोरिया बाहेक प्रमुख श्रम गन्तव्यका रूपमा रहेको साउदी, कतार, यूएई, मलेसिया, कुवेत, ओमान, बहराइनको वर्तमान अवस्था र सरकारी नीतिहरू युवाको अपेक्षासँग मिल्दोजुल्दो छैन । अहिले पनि नेपालीको श्रम गन्तव्य मुलुकहरू कोभिड –१९को महामारीसँग जुधिरहेका छन् । विकासशील अर्थतन्त्र भएको खाडी मुलुकमा कोरोनाले नराम्रो असर पारेको छ । मुख्यगरी तेलमा आधारित अर्थतन्त्र भएकाले त्यहाँको अर्थतन्त्र अन्य देश र त्यहाँका आर्थिक नीतिमा निर्भर छ । नेपालीहरूले राम्रो कमाइ गर्ने गन्तव्यका रूपमा रहेको यूएईमा पनि कतारको भन्दा खराब अवस्था छ । त्यहाँ अहिले पनि धेरै कम्पनी आर्थिक संकटमा फसेका छन् । bmllamichhane@gmail.com

Author

You may also like