दमक/ दमक उद्योग वाणिज्य संघले कोरोना महामारीका समयमा बैंकलगायतका वित्तीय संस्थाले लिँदैआएको व्याज छुट तथा सहुलियत कर्जाका बारेमा दमकका बैंकका शाखा प्रमुखहरुसंग छलफल सुरु गरेको छ ।
व्यवसायीहरुले लिएको ऋण लकडाउनका कारण व्यापार गर्न नपाए पनि व्याजमा छुट नपाएकाले व्याज छुटसहित सहुलियत कर्जाका विषयमा बैंर्कसहरुसंग छलफल गरिएको वाणिज्य संघकी संघसंस्था समन्वय उपसमितिकी संयोजक लक्की सिटौलाले बताइन् ।
यसैक्रममा हालै दमक उद्योग वाणिज्य संघको सभाकक्षमा सरोकारवालाहरुसंग छलफल गरिएको संघले जनाएको छ । छलफलमा संघका अध्यक्ष गोकुल श्रेष्ठले केही दिन अघि व्यवसायले बुझाएको ज्ञापन पत्रको माग अनुसार संघले स्थानीय सरकार, संघको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए । उनले लामो समयसम्म कोभिडका कारण व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा बैंकले समेत त्यस अवधिको व्याजमा छुट दिनुपर्ने तथा सहुलियत कर्जाका लागि समेत सहजीकरण गरिदिनुपर्ने आग्रह गरेका थिए ।
छलफलका क्रममा संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईले कोभिड महामारीका समयमा बंैकलगायतका वित्तीय संस्थाले व्यवसायीसंग कर्जाको ब्याजमा छुट दिनुपर्ने र पहिलेकै धितोमा थप केही प्रतिशत ऋण दिने वातावरण सिर्जना गर्न माग गरे ।
व्यवसायीको तर्फबाट बोल्दै संगम स्वीट्सका सञ्चालक विमल शर्मा र व्यवसायी सन्दिप चापागाईंले कोभिड महामारीको अवस्थामा बंैकले राहतमैत्री कार्यक्रम ल्याउन आग्रह गरे । छलफलमा बैंकको प्रतिनिधित्व गर्दै बैंकर्स एशोसिएसन दमकका अध्यक्ष राजन बस्नेतले बैंकको शाखाबाट केही गर्न नसकिने तर थप ऋणको व्यवस्था भने विभिन्न बैंकहरुले गर्दै गरेको औंल्याएका थिए । उनले भने, –‘व्यवसायीले उठाएको व्याज छुटका विषयमा भने गम्भीर भएर माथिल्लो निकायमा पहल गर्ने छौं’ । कार्यक्रममा दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, बैंकका प्रतिनिधि, संघका सदस्य, व्यापारी लगायतको उपस्थिति रहेको थियो । संघकी संघसंस्था समन्वय उपसमितिकी संयोजक सिटौलाका अनुसार व्याजदरमा छुट तथा सहुलियत कर्जाका बारेमा अब दमकका सहकारी संघसंस्थाहरुसंग समेत छलफल गरिने कार्यक्रम रहेको छ ।