गौरादह/झापामा पहिलोपटक गौरादह नगरपालिका –६ मा हर्दिनाथ हाईव्रिड–१ जातको धानको परीक्षण खेती गरिएको छ । यो धान अन्य जातको तुलनामा दोब्बर फल्ने दाबी गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई भद्रपुरसँगको साझेदारीमा गौरादहको सगरमाथा कृषक समूहले स्वदेशमै विकसित उक्त हाईव्रिड धानको पहिलो खेती गरेको हो । अन्य जातको धानको तुलनामा यसको उत्पादन दोब्बर हुने परियोजनाका बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताए ।
उनका अनुसार यो धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टनसम्म हुन्छ । जबकि, अन्य जातको धान साढे तीनदेखि चार मेट्रिक टनसम्म मात्र उत्पादन हुने गरेको छ । रोपिएको १२२ दिनभित्रमा यो धान पाकिसक्नेछ । नेपालमा हर्दिनाथ हाइव्रिड–१ र ३ जातको धान राष्ट्रिय बीउविजन समितिबाट स्वीकृत भएर २०७७ साल साउन २६ गते राजपत्रमा प्रकाशन भई प्रचलनमा आएको हो । धानको उत्पादकत्व वृद्धि गर्ने योजना अनुरुप परियोजनाले यसवर्षदेखि मुलुकका अन्य जिल्लामा समेत किसान र कृषक समूहसँग मिलेर स्वदेशी हर्दिनाथ हाईव्रिड–१ धानको प्रदर्शन खेती सुरु गरेको जनाएको छ ।
परियोजनाले कृषक समूहलाई मल, बीऊ, विषादी र प्रविधि आदिमा सहयोग पु¥याएको छ । अन्य जातको धानको बीऊको मूल्य प्रतिकेजी रु.८० पर्छ भने यसको प्रतिकेजी रु. २५० पर्ने वरिष्ठ कृषि अधिकृत सुवेदीको भनाई छ । तर, यसको एउटा एउटा बेर्ना रोप्नु पर्ने र एउटा बेर्ना पछि आफैं गाँजिएर ८० वटासम्म हुने उनले बताए । स्थानीय किसान चन्द्रप्रसाद निरौलाले पहिलोपटक यसको खेती गरेकाले आफूहरु उत्साहित भइरहेको बताए । यसवर्ष एक हेक्टरमा लगाइएको धानको उत्पादकत्व हेरेर अर्को वर्ष खेती विस्तार गर्ने समूहको योजना छ । झापामा कूल १० हेक्टरमा यो धानको परीक्षण खेती भइरहेको जनाइएको छ । हालै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, धान सुपर जोन जिल्ला कार्यसमितिका पदाधिकारी, पत्रकार र अन्य सरकारी कार्यालयका प्रमुखहरुले धान खेती भएको स्थानमा पुगेर अनुगमन गरेका थिए ।